फिक्सन : साथीकी श्रीमती

भाेटाहिटीबाट असन चोकतिर नियाल्दै थिएँ, कसैले ढाडमा ‘ढ्याम्म’ हान्यो । झोक्किएर फर्किएँ, तुले पो रहेछ । उसको पछिल्तिरबाट एकासी हान्ने बानी अझै गएको रहेनछ । एकछिन त झनन्न् पारा छुट्यो ।

(सम्हालिँदै) ‘कता बेपत्ता हो ?’ झन्डै पा“च महिना ‘गायब’ तुलेसँग सोधें । ऊ खित्रिक्क हाँस्योमात्र, केही बोलेन । दिन छिपिँदै छ ।

‘चिया खान्छस् ?’ तीन–चार वर्ष जेठो तुलेले सोध्यो । मैले मुन्टो हल्लाएँ । सम्झें, कुनै होटलतिर लान लाग्या होला । भोटाहिटी देब्रे गल्लीतिर ऊसँगै डोहोरिन थालें ।

लेखक : युमाश शेर्पा

‘चिया पसल त उता छ त,’ हिँड्दै गर्दा भनें ।
‘हिँड् न चुप लागेर, यस्तो बेला नि बाहिर चिया खान्छ ?’ उसबाट कडक आवाज आयो ।

केही पर पुगेपछि फेरि मोडियौं । गल्लीपछि फराकिलो ठाउँ । बिच्चमा पुरानो इनार । तुलेले ढोका ढकढक्यायो । ढोका के उघ्रिन्छ । सेतो टि–सर्ट र लेगाजमा सजिएकी आधुनिक देखिइने युवती अघिल्तिर झुल्किइन् ।

‘ऊ…मेरो…, भित्रै जाऔं न,’ तुले बिचैमा रोकियो । युवतीले मतिर पुलुक्क हेरिन् । हाम्रा नजर जुधे ।

‘ओइ…आइज न,’ नेपथ्यबाट तुले चिच्यायो । भित्र छिरें । ढोका ढ्याप्प हुन्छ ।



कोठाभित्र नजर घुमाउन थालें । भर्खरै किनेजस्तो देखिने प्रेसरकुकरको सिट्ठीबाट दालको झोल चुहिरहेको छ । बाँसको सानो -याक । खाट । जारको पानी । भित्तामा झुन्डिरहेको नयाँ लेडिज ब्याग । ऐना, लिपिस्टिक, गोहीको मुखाकारमा कपाल बाँध्ने क्लिप ।

‘ऊ…मेरो बच्चाको साथी, घर यही ठमेलमा हो,’ तुलेले मोबाइल चार्जमा राख्दै भन्यो । युवतीले ‘नमस्ते’ शैलीमा हात जोडिन् । मैले टाउको हल्का निहुँ-याएजस्तो गरें । युवतीको मुहार मन्द मुस्कानमा रम्यो ।
‘चिया पकाउन,’ तुलेले युवती (श्रीमति)तिर हेर्दै भन्यो ।
‘भो पर्दैन, अब हिँड्नुपर्छ,’ हजार रुपैया“ पर्ने मोबाइल पिलिक्क पार्दै भनें ।

वातावरण मौन छ । एकैछिनअघि निस्केको तुले अझै देखापरेको छैन । नजर घुमाउन थाल्दैछु । युवती मोबाइलमा व्यस्तिन थालिन् । बाहिरको किरिङमिरिङ आवाज कोठाको भित्तामा ठोक्किइरहेको छ । प्रेसरकुकरको बिर्कोमा उम्लिएको दालको टाटो बसिसकेको छ

युवती ग्यास चुल्हो ‘ट्याक्क–ट्याक्क’ गर्न लागिन् ।
कोरीबाटी चिटिक्क । अधरमा टल्क“दो रातो गाढा लिपिस्टिक । सिन्दुरे घेराभित्र युवतीको यौवन छमछमी नाचिरहेको छ । मतिर घरीघरी पुलुक–पुलुक हेर्दै पनि छिन् ।

‘धत्, उनले मात्र हेरेको हो र ? मैले पनि हेरेरै त आ“खा जुधेको,’ मनमनै खित्रिक्क भएँ ।

‘चिया लिनु न…’ युवती अघिल्तिरै आइन् । तुले मोबाइलमा व्यस्त छ ।
‘तँ खान्नस् ?’ चिया देखाउँदै तुलेलाई सोधें ।
‘यतिबेला के खानु ? अब स्या खानुपर्छ,’ उसले मोबाइल फेरि चार्जमा राख्दै भन्यो । युवती लजाएजस्तो देखिइन् । तुले उनको मुस्कानमा पग्लियो । मेरो शरीरभर काँडा उम्रिएको भान हुन थाल्यो ।



टोलमा ‘तुलेले केटी भगायो रे ।’ भन्ने हल्ला फैलिएको थियो । मैले विश्वास गरेकै थिइन । कहिल्यै केटीतिर नहेर्ने तुलेले ‘भगायो’ भन्ने विश्वास गरिहाल्ने ठाउँ पनि त थिएन । ऊ छापाखानमा किताब छाप्ने ‘अपरेटर’ काम गथ्र्यो ।
गुच्चा खेल्दादेखिको साथीसँग अहिले युवती देख्दा ‘कसोकसो’ नलाग्ने कुरै भएन । उनी तुलेभन्दा ६–७ वर्षै कान्छी हुनुपर्छ ।

‘अब खाना खाएरै जानु न,’ युवतीको आवाजले झसंग भएँ ।
‘हैन, अब जानुपर्छ,’ हतारिएँझै गरी भन्छु ।
‘किन, खानु हुन्न र ?’ युवतीको अधर फक्रिए ।

वातावरण मौन छ । एकैछिनअघि निस्केको तुले अझै देखापरेको छैन । नजर घुमाउन थाल्दैछु । युवती मोबाइलमा व्यस्तिन थालिन् । बाहिरको किरिङमिरिङ आवाज कोठाको भित्तामा ठोक्किइरहेको छ । प्रेसरकुकरको बिर्कोमा उम्लिएको दालको टाटो बसिसकेको छ । मोबाइल चलाइरहेकी युवती ‘स्क्रिन’मा हेरेर मुुसुमुसु हाँस्दै छिन् ।

‘ख्वै, त्यो (तुले) अझै आएन,’ ढोकातिर हेर्न थालें ।
‘आमै, साढे ६ हुन लागेछ,’ युवती अत्तालिइन् ।
‘किन, के भो र ?’ उत्सुक भएँ ।
‘केही हैन, दिन पनि कति छिटो जान्छ भन्या,’ युवतीको आवाजमा लचकता छल्कियो ।
‘…अनि तुलेसँग कसरी भेट भयो ?’ बल गरेर सोधें ।
‘हजूर…,’ मोबाइल खेलाइरहेकी उनले मेरो कुरा खासै बुझिनन् ।
‘तुलेसंग कसरी भेट भयो ?’ अघिभन्दा अलि जोडले सोधें ।
‘…ऊसँग ?’ हत्केलाबीच मोबाइल च्यापेकी युवती बोलिन् ।
‘अँ…,’ हल्का निहुँरिएर बोलें ।
‘होटलमा,’ उनले छोटो बोलिन् ।

रात झमक्क भइसक्यो । कोठाभित्र एलईडी बत्तीको राज छ । ढोकातिरबाट ‘ढकढक…’ गरेको आवाज आयो । युवती हत्त न पत्त मोबाइल थन्क्याउँछिन् । मेरो सास ढक्क फुल्यो । तुले भित्र छिर्दैगर्दा  ‘ह्वास्स्स्स…’ गन्ध आयो । युवतीले मुख बंग्याइन्

युवती केही सोचेजस्तो देखिँदैछिन् । उनको मोबाइल चार्जमा गइसक्यो । ‘बस्दै गर, एकैछिनमा हाल्छु’ भनेर गएको तुले अझै आएको छैन । मलाई अप्ठ्यारो महसुस भइरहेको छ । युवती मुसुमुसु हासिरहेकै छिन् ।

सोच्दैछु, ‘हँसिली रहिछिन् ।’

‘यही महाबौद्धमा हाम्रो भट्टी छ नि, ऊ त्यहीँ आउँथ्यो,’ युवती बल्ल बोल्न थालिन् ।
‘भट्टी…†’ अचम्मित भएँ ।
‘त्यहीँ भेट भा’को,’ (युवती)
‘ए…गज्जब भएछ,’ (म)
‘तर…,’ (युवती)

मोबाइल ‘टिङ्ङ…’ बज्यो । सायद, ‘नोटिफिकेसन’ हुनुपर्छ । युवती चार्जमा रहेको मोबाइलतिर आकर्षित भइन् । ‘स्क्रिन’बाट उछिट्टिएको उज्यालो उनको अनुहारमा फैलिन्छ । मुसुमुसु हाँस्दै उनी मोबाइल थिच्न थाल्छिन् । ‘छि…’ मोबाइल हेर्दै उनी छिल्लिन थालिन् ।
म ट्वाल्ल परिरहेको छु ।



रात झमक्क भइसक्यो । कोठाभित्र एलईडी बत्तीको राज छ । ढोकातिरबाट ‘ढकढक…’ गरेको आवाज आयो । युवती हत्त न पत्त मोबाइल थन्क्याउँछिन् । मेरो सास ढक्क फुल्यो । तुले भित्र छिर्दैगर्दा
‘ह्वास्स्स्स…’ गन्ध आयो । युवतीले मुख बंग्याइन् ।

‘तँ यहीँ छस् ?’ (तुले)
म अवाक हुन्छु । युवती चुल्होतिर अलमल गर्न थालिन् ।

‘खाना हालौं ?’ (युवती)
‘तँ नि खा’र जा…’ तुलेले मतिर हेर्दै भन्यो ।
‘भो…तँलाई नै कुरिरहेको, अब जान्छु,’ उठ्न थाल्छु ।
‘बस् न,’ तुलेले च्याप्प समात्यो ।

युवती मेरो अनुहार हेरेर हाँस्न थालिन् । अघि बारम्बार ‘नोटिफिकेसन’ ङ्खयाँकिरहेको उनको मोबाइल अहिले शान्त भइसकेको छ । बरु, तुलेको चाहिँ बज्न थाल्यो ।

‘कति बज्छ यो ?’ तुलेले मोबाइल ‘अफ’ ग-यो ।

तातो भातको बाफ कोठा रिङ्न थाल्यो । दालको मगमग बास्ना नाकको डिल उक्लँदै छ । गोलभेंडाको च्वाँट्ट चटनी । तुलेको कोठा छोड्दै गर्दा आठ बज्नै लागेको छ । ढोकानिर पुगेर फर्किएँ, तुले उत्तानो परिसकेछ । ढोका लाउन पछिपछि आएकी युवतीले मन्द मुस्कान ङ्खयाँक्दै भनिन्, ‘भोलितिर दिउँसो आउनु न ल !’



निद्रा लागेको छैन । छटपटीले काखी च्यापिरहेको छ । किन हो कुन्नी ? तारन्तार युवतीकै झझल्को आइरहेको छ । उनको अनुहारले आँखाका पलक सुम्सुम्याइरहेको छ । चञ्चले स्वभाव । मिलेको जिउडाल । छिनछिनमा हा“सिरहने स्वभाव । सम्झि“दा पनि काउकुती उम्रिन्छ ।

सानैदेखि अरुको घरमा काम गर्न बसेको तुलेले खासै पढ्न पाएन । मेहनती छ । एउटै टोल भएकाले बाल्यकाको साथी बन्यौं । पछि, काम गर्न बसेको घर छोडेर ऊ छुट्टै बस्न थाल्यो । छापाखानामा काम गर्न थालेछ । त्यसपछि ऊसँग खासै भेट भएन । हामीबीच ‘अपनत्व’ थियो । र, छ पनि ।



हिजो कुनबेला झपक्कै निदाएँ, हेक्कै भएन । बिहानैको खल्याङबल्याङले पो झल्यास्स व्युँझिएँ । आँखा खुल्नेबित्तिकै उनैलाई सम्झिन पुगेछु । सानैदेखि नाप्दै आएको भोटाहिटी गल्ली कताकता न्यानो लाग्न थाल्दैछ । महाबौद्धतिर डुल्न निस्कुझै भइरहेछ । तुलेको फोन उठेन । सायद, उठेकै छैन कि ! युवतीलाई गरुँ, नम्बर लिनै बिर्सिएछु । हिजो राति कोठाबाट निस्कने बेला उनले बोलेको वाक्य (भोलितिर दिउँसो आउनु न ल) कानमा अझै गुञ्जिरहेको छ ।



कमलाक्षी गल्ली हुँदै असनचोक पुग्नै लाग्दा छात्ति ढक्क फुल्यो । तुलेको कोठामा कसरी छिर्ने होला ? उसले के सोच्ला ? मनको बाघले सताउन थाल्यो । त्यही पनि पाइला लम्काएँ । युवतीको मुस्कान आँखाभर फिजाउने उत्कट चाहना झांगिँदै छ । सोच्दैगर्दा बाटो अलि घुमाउरो बनाएँ । साझा प्रकाशननिर पुगेपछि भोटाहिटी गल्लीतिर हेरें । छात्ति फेरि ढक्क फुल्यो । पहिले यस्तो भएको थिएन । आज किन हुँदैछ ? सोच्नै सकिरहेको छैन । तुलेसँग मैले घात गरिरहेको छैन ? आफैंसँग प्रश्न गर्न थाल्छु ।

जे त होस् । हिजो तुलेले डोहो-याएको बाटो नाप्न थालें । गल्लीभित्रबाट फाट्टफुट्ट मान्छे निस्कँदै छन् । उनीहरूले मलाई नै हेरेझै लाग्न थाल्यो । संकोच मानीमानी तुलेको कोठानिर पुगें । ढोका आधा खुल्लै रहेछ । नजिकै पुगेर हेरें, तुले घोप्टो परिरहेको रहेछ ।

‘के भयो ? तुले ?’ कोठामा युवती खोज्दै सोधें ।
‘तुले…?’ ऊ अझै बोलेन । युवती देखिँदैनन् ।
‘हिजो राति, तँ गएपछि भुसुक्कै भएछु,’ तुले सुस्ताउन थाल्यो ।
‘…अनि ?’ म हतास भएँ ।

‘टाप ठोकिछे,’ तुलेको मुहारभाव रोदनमा बद्लियो । म खङ्ग्रङ्ग भएँ ।

कुनामा रहेको बाटामा हिजो राति खाएको जुठा भाडा त्यतिकै छन् । तुलेलाई चलाउन मन लागेन । ढोकानिर पुगेर भित्र फर्केर हेरें, भित्तामा नयाँ लेडिज ब्याग छैन । ऐना, लिपिस्टिक, गोहीको मुखाकारमा कपाल बाँध्ने क्लिप पनि छैनन् ।
भोटाहिटी गल्ली रुमलिँदै गर्दा हिजो मोबाइल हेरेर बारम्बार जिस्कँदै गरेको युवतीको मुहार दिमागमा फनफनी घुमाउन थाल्यो ।

तपाइको प्रतिक्रिया
(Visited 663 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?