कविता : मैले सोचेजस्तो हुने भए

हत्या
हिंसा
द्वन्द्व
लुटपाट
चोरी
बलात्कार
अपराधै अपराध
उफ ! किन जन्मे होलान् यी शब्दहरू
कसैले प्रयोग गर्नै नपर्ने भए यी शब्दहरू

यो जात र ऊ जात भन्ने शब्दै लोप भैदिए
यो धर्म र ऊ धर्मको अन्त्य भैदिए
मान्छेको मात्र दुई वटा जात भैदिए
मानवकल्याण मात्र एउटा धर्म भैदिए
तराई दुख्दा हिमाल र पहाड दुख्ने भए
हिमाल र पहाड दुख्दा तराई रुने भए
कस्तो हुन्थ्यो होला है यो देश ?
मैले सोचेजस्तो हुने भए ।

आफू हाँस्न अरुको खुसी नखोस्ने भए
व्यक्तिगत स्वार्थबाट सबै माथि उठ्नसक्ने भए
नेताहरू जनताप्रति चिन्तित हुने भए
कुर्सीको लडाइँभन्दा राष्ट्र, राष्ट्रियता र समाजको पक्षमा
अन्यायविरुद्ध लड्ने भए
खुलेआम सुस्ता र कालापानी लुँटिदा
खुलेआम लिपुलेक र लिम्पियाधुरा लुँटिदा
कुर्सी छाडी ज्यानको बाजी थापेर लड्ने नेता भैदिए
शिक्षकहरू शिक्षकजस्तो भैदिए
विद्यार्थीहरू विद्यार्थीजस्तो भैदिए
कस्तो हुन्थ्यो होला है यो देश ?
मैले सोचेजस्तो हुने भए ।

ढाँट्ने, छल्ने, लुट्ने र चोर्नेहरू
मानवता बिर्सने सबैसबै
यो देशबाट उन्मूलन हुने भए
अरुबाट आफूले गरेजस्तो व्यवहार
आफूले अरुप्रति गर्दिने भए
आफूलाई चोट लाग्दा दुखेजस्तै
अरुलाई पनि ‘दुख्छ’ ठान्दिने भए
अरुको पनि मन मुटु हुन्छ
मात्र यति मान्दिने भए
मानवताको
नैतिकताको वास्तविक अर्थ
सबैले आत्मैदेखि कदर गर्ने भए
कस्तो हुन्थ्यो होला है यो देश ?
मैले सोचेजस्तो हुने भए ।

एउटाले भोकभोकै काम गर्दा
अर्को सुतीसुती चौरासी व्यञ्जनमा रम्न नचाहने भए
एउटा खाली खुट्टा हिँडेको देख्दा,
अर्को चिल्लो कार र पजेरो नचढ्ने भए
जनताले नखाएसम्म नखाने नेता भैदिए
जनताले नलगाएसम्म नलगाउने नेता भैदिए
जनता खुसी नभएसम्म
पाँचतारे होटलमा होइन,
गोष्ठी र सेमिनार
खुला चौर र झुपडीमा गर्दिए
पाँचतारे होटलमा बुझाउने खर्च
गरिब जनताका लागि खर्च गरिदिने
यही सद्बुद्धि हाम्रा नेतामा पलाइदिए
जनताले खाएकै खाने भए
जनताले भोगेकै जीवन भोग्ने भए
कस्तो हुन्थ्यो होला है यो देश
मैले सोचेजस्तो हुने भए ।

सबै मानव जातिहरू
सबै नेपालीहरू
एकअर्काको सम्मान गर्न जान्ने भए
मानवताको वास्तविक मर्म व्यवहारमै
आत्मसात गर्ने भए
यो देशमा
यो विश्वमा
न कुनै कानुन चाहिन्थ्यो
न कुनै कारागार र अदालत चाहिन्थ्यो
न वकिल र प्रहरी नै चाहिन्थ्यो
सबै सबै असल हुने भए
बिना कानुन
बिना कारागार
बिना अदालत
बिना वकिल
बिना प्रहरी

सबैले सबैको सम्मान गर्दै
एकले अर्कालाई आफूजस्तै ठान्ने मन भैदिए
सारा सारा नेपाली एउटा सफल परिवार भैदिए
कस्तो सुन्दर बन्थ्यो होला है †
यो देश, यो जगत
मैले सोचेजस्तो हुने भए ।

कति उच्च हुन्थ्यो होला है
नेपालीको सम्मान र स्वाभिमान
मैले सोचेजस्तो हुने भए
आहा † मेरो देश नेपाल
कस्तो हुन्थ्यो होला है
मैले सोचेजस्तो हुने भए ।

 आँधीखोला–६, स्याङ्जा

तपाइको प्रतिक्रिया
(Visited 624 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?