महिला भलिबलको चार दशक

काठमाडौं । भलिबल नेपालको माटो सुहाँउदो खेल हो । नेपालमा भलिबल खेल्न थालेको ७८ वर्ष पुरानो दस्तावेज छ । १९९९ मा जनस्तरमा त्रिचन्द्र कलेजमा भलिबल खेलिन्थ्यो । तथापि, त्यसअघि नै नेपालमा भलिबल खेल्न थालिएको बताइन्छ । २०३३ सालमा संघ स्थापना हुनुअघि नै देशभर भलिबलको माहोल सिर्जना भएको पाइन्छ । २०२६ सालमा राष्ट्रिय खेलकुद परिषद्ले भलिबलको विकासका निम्ति अञ्चल तथा जिल्ला खेलकुद विकास समितिलाई भलिबल खेल सामग्री सहयोग गरेको थियो । यसरी हेर्दा नेपालमा संस्थागत रूपमा भलिबलको विकास हुन थालेको ४६ वर्ष भइसकेको छ । २०३७ सालबाट सुरु भएको महिला भलिबलले पनि चार दशक पुरा गरेको छ । यसबीचमा नेपाली महिला भलिबल टोलीले सीमित स्रोत र साधनको बाबजुत पछिल्लो समय उत्कृष्ट नतिजा दिँदै महिला भलिबलमा ठूलै फड्को मारेको मान्न सकिन्छ । संघ पछिल्लो समय आफ्नै सुविधा सम्पन्न कभर्डहल बनाउनको लागि मूलपानी र लुभुमा जग्गा हेरिसकेको छ । उपयुक्त स्थानमा संघले कभर्डहल बनाउने छ । जसका लागि नेपाल सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ ।

पुरुष भलिबल टोलीले २०३३ सालदेखि अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा भाग लिन थाले पनि महिला टोलीले ११ वर्षपछि अर्थात् २०४४ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको देखिन्छ । पुरुष टोलीले पाकिस्तानमा काइदे आजम प्रतियोगिता खेल्दा महिला टोलीले थाइल्यान्डमा मैत्रीपुर्ण खेल खेल्ने अवसर पाएको थियो । दुवै मैत्रीपूर्ण खेल रहेको थियो । त्यसपछि सुरु भएको महिला भलिबल टोलीको अन्तर्राष्ट्रिय सहभागिता ३३ वर्षमा (आधिकारिक, आमन्त्रण र मैत्रीपूर्ण) १३ प्रतियोगिता पुगेको छ । जसमा सातवटा आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा १ स्वर्णपदक, १ रजतपदक र ३ कांस्यपदक हात पारेको छ । नेपालले हालसम्म सात आधिकारिक प्रतियोगितामा २२ खेल खेल्दा १२ जित र ११ हारको नतिजा निकालेको छ । यति मात्र होइन, महिला टोलीले वरीयतामा पनि ठूलो फड्को मारेको छ । नेपाली महिला भलिबल टोली विश्व वरीयतामा ८६ तथा एसियाको १७औं स्थानमा रहेको छ । नेपालले २०७६ मागमा यो वरीयता पाएको हो । यसअघि नेपाल १२१औं स्थानमा रहेको थियो । यो ३३ वर्षको अवधिमा नेपालले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता, मैत्रीपूर्ण खेल, आमन्त्रण प्रतियोगिता, अभ्यास खेल र तिनका कप्तान उल्लेख गर्ने प्रयास गरिएको छ ।

नेपाली महिला भलिबल टोलीको विभिन्न अन्तर्राष्ट्रिय र मैत्रीपूर्ण प्रतियोगिता

१९८७ – थाइल्यान्डमा मैत्रीपूर्ण खेल – हेमा सिंह प्रधान (कप्तान)

१९९८ – श्रीलंका रूपा बाहिनी अन्तर्राष्ट्रिय आमन्त्रण – अन्जु श्रेष्ठ (कप्तान)

१९९८ – थाइल्यान्डमा मैत्रीपूर्ण (थाइल्यान्ड), सुषमा थापा (कप्तान)

१९९९ – आठौं दक्षिण एसियाली खेलकुद (साग), नेपाल – सुषमा थापा (कप्तान)

२००६ – १०औं दक्षिण एसियाली खेलकुद (साग), श्रीलंका – अञ्जु श्रेष्ठ (कप्तान)

२०१३ – माल्दिभ्ससँग दुई मैत्रीपूर्ण (नेपाल ‘ए’ र ‘बी’), विनिता बुढाथोकी र मञ्जु गुरुङ (कप्तान)

२०१४ डिसेम्वर १९–२३ काठमाडौंमा प्रथम दक्षिण एसियाली आमन्त्रण वुमन्स भलिबल च्याम्पियनसिप, नेपाल – विनिता बुढाथोकी (कप्तान)

२०१६ – १२औं दक्षिण एसियाली खेलकुद (साग), भारत – विनिता बुढाथोकी (कप्तान)

२०१७ – वुमन्स वल्ड एसियन सेन्ट्रल जोन क्वालिफायर, माल्दिभ्स – विनिता बुढाथोकी (कप्तान)

२०१७ – भारतसँग दुई मैत्रीपूर्ण खेल (नेपाल) – विनिता बुढाथोकी (कप्तान)

२०१९ – थाइल्यान्डमा विभिन्न टोलीसँग ७ मैत्रीपूर्ण खेल – अरुणा शाही (कप्तान)

२०१९ – बंगलादेशमा प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर वुमन्स भलिबल च्याम्पियनसिप – अरुणा शाही (कप्तान)

२०१९ – १३औं दक्षिण एसियाली खेलकुद (साग), नेपाल – अरुणा शाही (कप्तान)

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता र पहिलो कप्तान

नेपालमा महिला भलिबल आधिकारिक रूपमा २०३७ सालमा सुरु भए पनि महिला भलिबल प्रतियोगिता सुरु भएको ६ वर्षपछि नेपाली महिला भलिबल टोलीले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलेको छ । २०४४ नेपाली टोलीले थाइल्यान्डमा गएर त्यहाँको स्कुल, क्लब र कलेजको टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो । टोलीको कप्तानी हेमा प्रधान सिंहले गरेकी थिइन् । यसर्थ हेमा प्रधान सिंह नेपालको पहिलो महिला भलिबल कप्तान हुन् । सुन्दरी, निडर र हठी स्वभावकी कप्तान हेमा टोलीको सबै खेलाडीको प्रेरणाको स्रोत थिइन् । भारतको दार्जिलिङमा जन्मिए पनि नेपाललाई कर्मभूमि बनाएर बसेकी हेमाले विद्यालयमा अध्यापनसँगै खेलाडी उत्पादनमा पनि जोड दिएकी थिइन् । पछि लिफ्टर हेमाले उत्पादन गरेका खेलाडीहरूले नै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी थिइन् । अञ्जु श्रेष्ठ, जयन्ती जोशी, गीता बस्नेत, अञ्जिता चालिसे, रूपा महर्जन, मनिदा शाही, शान्ता सापकोटा, नवीना श्रेष्ठ, सलिना श्रेष्ठ, सविना श्रेष्ठ र सुस्मिता थापा कप्तान हेमाको छत्रछायामा हुर्किएकी खेलाडी हुन् । झन्डै ११ वर्ष कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता या मैत्रीपूर्ण खेलहरू नहँुदा कप्तान हेमाले अन्य खेलमा कप्तानी भूमिका निभाउन पाइनन् ।

आठौं दक्षिण एसियाली खेलकुद (साग), नेपाल – (१९९९, सेप्टेम्बर २५–अक्टोबर ४) (कांस्यपदक)

नेपालमा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) नेपाली महिला भलिबल टोलीले खेलको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसभन्दा अघि नेपालले १९९८ मा श्रीलंकामा रूपा बाहिनी अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिता र १९९९ मा थाइल्यान्डमा मैत्रीपूर्ण खेल खेलेको थियो । रूपा बाहिनीमा अञ्जु श्रेष्ठ र थाइल्यान्ड मैत्रीपूर्णमा सुषमा थापा कप्तान बनिन् । त्यो यी दुई आधिकारिक प्रतियोगिता थिएन । थाइल्यान्ड भ्रमण घरेलु भूमिमा आयोजना हुने आठौं सागको तयारीका लागि रहेको थियो । १९९९ को आठौं सागका लागि सुषमा थापा कप्तान बनिन् । सुषमा नै नेपाली महिला भलिबल टोलीको आधिकारिक खेलको पहिलो कप्तान हुन् । उनकै कप्तानीमा नेपाली महिला भलिबल टोलीले सागको पहिलो सहभागितामा नै कांस्यपदक जित्न सफल भएको थियो । उनी नेपाली भलिबल इतिहासमा नेपाललाई पदक जिताउने पहिलो कप्तानसमेत बनिन् । सागमा नेपालले चार खेल खेल्दा दुई जित र दुई हारको नतिजा निकाल्दा माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित निकाल्दै नेपाली महिला टोलीले कांस्यपदक हात पारेको थियो । टोलीको प्रशिक्षकमा कपिलकिशोर श्रेष्ठ रहेका थिए । नेपाली टोली भारत र श्रीलंकासँग सोझो सेटमा पराजित हुँदा बंगलादेश र माल्दिभ्समाथि जित निकालेको थियो ।

१०औं दक्षिण एसियाली खेलकुद (साग), श्रीलंका – (२००६, अगस्ट १८–२८) (कांस्यपदक)

आठौं सागपछि नेपाल झन्डै सात वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिताविहीन बनेको थियो । पर्याप्त तयारी र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिताको अवसर नपाए पनि घरेलु प्रतियोगिता खेलेका आधारमा सागमा होमिएको नेपाली महिला भलिबल टोलीले पुनः कांस्यपदक जित्न सफल भयो । श्रीलंकामा २००६ मा भएको सागमा नेपालले माल्दिभ्समाथि ३–१ को सेटमा जित निकाल्दै कांस्यपदक जितेको थियो । उक्त सागमा नेपाल भारत र श्रीलंकासँग सोझो सेटमा पराजित भएको थियो । १०औं टोलीको कप्तानमा अन्जु श्रेष्ठ, मुख्य प्रशिक्षकमा शान्ति गुरुङ तथा सहायक प्रशिक्षकमा सुदेश कुमार रिमाल थिए । यही सागबाट सिपोरा गुरुङले १३ वर्षको उमेरमा राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन् ।

१२औं दक्षिण एसियाली खेलकुद (साग), भारत – (२०१६ फेब्रुअरी ९–१६) (कांस्यपदक)

सागलाई नै लक्षित गर्दै नेपाल भलिबल संघले एफआईभीबीको सहयोगमा इरानका हामिद मोभाहिदीलाई प्रशिक्षकका रूपमा नियुक्त गरेको थियो । छोटो तयारीका बाबजुत ठूलो लक्ष्य लिएर नेपाली टोली छिमेकी मुलुक भारतको गुहावटीमा साग खेल्न पुगेको थियो । आमन्त्रण भलिबलमा श्रीलंकालाई हराएका कारण नेपालले यसपटक कम्तीमा रजतपदक जित्ने लक्ष्य राखेको थियो । तर, नेपालको त्यो लक्ष्य पूरा हुन सकेन । नेपाल आफ्नो समूह ‘बी’मा श्रीलंकालाई ३–० को सेटमा नतिजा सुम्पिदा सेमिफाइनलमा भारतसँग पनि सोही नतिजामा पराजित हुन पुगेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा माल्दिभ्सलाई २५–२०, २५–१३ र २५–१४ को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको थियो । नेपाली टोलीको कप्तानी विनिता बुढाथोकीले गरेकी थिइन् । उनी महिला भलिबलमा नेपाललाई दुईपटक कांस्यपदक जिताउँदाका कप्तान समेत बनिन् । टोलीको मुख्य प्रशिक्षकमा सुदेशकुमार रिमाल रहे पनि इरानी प्रशिक्षक हामिद मोभाहिदीले सागमा महिला र पुरुष दुवै टोलीलाई प्रशिक्षण दिएका थिए ।

वुमन्स वल्र्ड एसियन सेन्ट्रल जोन क्वालिफायर माल्दिभ्स, (२०१७ जनवरी २७–२९)

दक्षिण एसियाली खेलकुदमा निराशाजनक प्रदर्शनपछि नेपाली टोलीले ठीक एक वर्षपछि माल्दिभ्समा वुमन्स वल्ड एसियन सेन्ट्रल जोन क्वालिफायर २०१७ खेल्ने अवसर पाएको थियो । टोलीको प्रशिक्षकमा सुदेशकुमार रिमाल नै रहेका थिए । तर, छनोटबाट एक पोलबाट एक टोली अघिल्लो चरणमा प्रवेश गर्ने भए पनि नेपाल दोस्रो स्थानमा रहे पनि अघिल्लो चरण पुग्न सकेनन् । आयोजक माल्दिभ्सलाई सोझो सेटमा हराएको नेपालले बलियो इरानसँगको दुई सेटमा १७–१७ अंक लिन सफल भएको थियो । इरान नै नेपालले खेलेको हालसम्मको सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो ।

भारतसँग दुई मैत्रीपूर्ण खेल, नेपाल – (२०१७ जुलाई २८–२९)

अन्तर्राष्ट्रिय भलिबल फेडेरेसन (एफआईभीबी) को सहयोगमा प्राप्त भएको जरफ्लोर टारा फ्लेक्सको उद्घाटनका लागि नेपाली महिला टोलीले बलियो भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । भारतसँग दुवै खेलमा ३–० को सोझो सेटमा पराजित भए पनि नेपालले भारतविरुद्ध उच्च प्रदर्शन गरेको थियो । भारतसँग १६र/१७ भन्दा बढी अंक जोड्न नसक्ने नेपालले पहिलोपटक २५ अंक जोड्दै भारतलाई दबाबमा राखेको थियो । पहिलो खेलमा २५–२०, २५–१९ र २७–२५ ले पराजित भएको थियो । दोस्रो खेलमा पनि नेपालले एक सेटमा २४ अंक ल्याउँदै भारतलाई कडा चुनौती दिन सक्ने संकेत देखाएको थियो ।

एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप, बंगलादेश – (२०१९ नोभेम्बर ९–१४) (स्पर्णपदक)

मंसिरमा घरेलु भूमिमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा नेपाल सोही प्रतियोगिताको लागि नेपाली टोलीले साउन पहिलो सातादेखि नै अरुणा शाहीको कप्तानीमा प्रशिक्षण थालेको थियो । भदौमा एसियन भलिबल कन्फेडेरेसनको साधरणसभा नेपालमा सम्पन्न भएपछि सोही साधरण सभाले महिलाको सेन्ट्रल जोन साग अघि नै कात्तिकमा बंगलादेशमा आयोजना गर्ने निर्णय गरेको थियो । जुन सागको लागि पनि तयारी हुने थियो । नेपाली टोली कात्तिक पहिलो साता नै थप तयारीका लागि थाइल्यान्ड प्रस्थान गरेको थियो । थाइल्यान्डबाट नेपाल आएको भोलिपल्ट नै नेपाली टोली सेन्ट्रल जोनको लागि बंगलादेश पुगेको थियो ।

यो प्रतियोगिता यस्तो रह्यो कि नेपाल भलिबलले यो प्रतियोगितालाई सधैं सम्झिरहनेछ । प्रतियोगितामा पाँच खेल खेल्दै एक सेट पनि नगुमाई नेपाली भलिबलको इतिहासमा ऐतिहासिक स्वर्णपदक जिताएको थियो । नेपालले फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको थियो । टोलीका आधाभन्दा बढी नयाँ खेलाडी रहे पनि नेपालले विपक्षीलाई २० अंकभन्दा बढी अंक जोड्न दिएन । यो नै नेपाली भलिबलले पाएको अहिलेसम्मकै ठूलो सफलता हो ।  यस्तै मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट नेपाली टोलीलाई स्वर्ण जिताउने पहिलो प्रशिक्षक बने । यसअघिका प्रतियोगितामा कांस्यमा सीमित नेपाली टोलीले पहिलोपटक स्वर्ण जितेको थियो । नेपालले २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजतपदक जितेको थियो । तर, त्यसलाई आधिकारिक मानिएको छैन । कप्तान अरुणा शाही नेपाली महिला भलिबल टोलीलाई स्वर्णपदक दिलाउने पहिलो कप्तान बनिन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) – २०१९ डिसेम्बर (रजतपदक)

दुई साताअघि बंगलादेशमा सेन्ट्रल जोन च्याम्पियन । घरेलु भूमिमा घरेलु समर्थकमाझ सोही प्रदर्शनलाई निरन्तरता दिने दबाब नेपाली महिला टोलीलाई रहेको थियो । नेपाल समूह चरणमा भारतसँग सोझो सेटमा पराजित भए पनि फाइनलमा भारतलाई बलियो चुनौती दिए पनि भारतसँग ३–२ को सेटमा पराजित हँुदै स्वर्ण जित्नबाट वञ्चित बनेपनि नेपालले सागमा रजतपदक जित्न सफल भयो । महिला भलिबलमा नेपालले पहिलोपटक भारतलाई कुनै पनि सेटमा हराउनसमेत सफल भयो । १३औं सागमा नेपाली टोलीलाई रजतपदक दिलाउदा टोलीको कप्तानमा अरुणा शाही रहँदा मुख्य प्रशिक्षकमा जगदिश प्रसाद भट्ट रहेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 424 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?