जहाँ अझै सर्पले डस्दा चुसेर उपचार गरिन्छ

घाेराही । घोराही उपमहानगरपालिका–१४ झिगौराकी मोती चौधरीलाई सर्पले डस्यो । स्थानीयको सल्लाहमा उनको चुसेर विष निकाल्ने विधिबाट उपचार गरियो । उपचार गर्ने व्यक्ति आइपुग्दासम्म मोतीलाई शरीरमा विष चढिसकेको थियो । सबै विधि पु-याएर दुई जनाले लगातार पाँच घण्टा विष चुसेर फालेपछि मोतीको ज्यान बच्यो ।

समाजमा अहिले पनि सर्पले डसेका बिरामीलाई अस्पताल या स्वास्थ्यकेन्द्रको आधुनिक स्वास्थ्य उपचारभन्दा वैद्यले नै चुसेर विष झार्ने उपचार पद्धतिले निको हुन्छ भन्ने विश्वास छ । समाजमा सर्पले डसेका यस्तै प्रकृतिका कैयौँ घटनाको अध्ययन गर्दा निको भएको पनि पाइन्छ । वैद्यहरुसँग उपचार गराउनेको सङ्ख्या यकिन नभए पनि उपचार गर्नेहरुका अनुसार एकजना वैद्यले वर्षमा १५ देखि २० जना सम्मको यसैगरी चुसेर विष झारेर उपचार गर्ने गरेको बताउछन् ।

घोराही उपमहानगरपालिका– १० नारायणपुरका कमल पौडेल पेशाले शिक्षक हुन् । उनले २०४३ सालदेखि सर्पले टोकेका बिरामीको उपचार यस्तै पद्धतिबाट गर्दै आइरहेका छन् । पौडेलसँग वर्षभरिमा कम्तीमा एक सयको हाराहारीमा सर्पले डसेका बिरामी उपचारका लागि आउने गर्दछन् । विसं २०४३ मा बडादशैँको नवदुर्गामा सर्पले डसेका बिरामीको भालुवाङका शाहवीर खानसँग यसैगरी चुसेर विष निकाल्ने उपचार पद्धति सिकेका पौडेलले अहिलेसम्म निरन्तर उपचार गरिरहेको बताउछन् । उमेर ढल्कदै जाँदा उनले उपचार गर्ने विधि गाउँका अन्य १६ जना युवालाई समेत सिकाएको बताए ।

खाली मुखले चुसेर विष निकाल्दा शुरुशुरुमा हल्का विष लागेको जस्तो भए पनि पटक पटकको चुसाइपछि भने विष पनि नलाग्ने उनको अनुभव छ । पौडेलले विगतमा यही पद्धतिबाट उपचार गर्दाको अनुभव सुनाए करिब चार वर्षअघिको । “करिव चार वर्ष पहले तुलसीपुर अञ्चल अस्पतालले मृत घोषणा गरेको व्यक्तिलाई बचाउन सकिने आशामा ती व्यक्तिको परिवारले नारायणपुरस्थित मेरो घरमा लिएर आए । नाडी छाम्दा ढुकढुकी कत्ति थिएन । एउटा आशा लिएर आएको बिरामीका परिवारलाई निराश बनाउनुभन्दा प्रयास गर्नु उचित सम्झेर चेलाहरुका साथमा चुस्न सुरु गर्यौ ”  उनले भने  “हामीले लगातार १० घण्टा चुस्दा ती बिरामीका अङ्गप्रत्यङ्गहरु सल्वलाउन थाले । मरेको मान्छे जाग्यो भन्दै हल्ला भयो । त्यसपछि प्रहरी आएर पौडेल र उनका चेलालाई उपचार गर्न नदिएर बिरामीलाई लिएर जानु भन्यो ।”

पुलिसले त्यहाँवाट निकालेपछि बिरामीका आफन्तले नेपालगञ्ज मेडिकल कलेज पुर्याएर एक महिनासम्म अस्पतालमा उपचार गराएर, उनलाई निको भयो । ती बिरामी घर फर्केपछि बिरामीको छोरा पौडेलको घरमै आएर खुट्टा ढोगेर सम्मान प्रकट गरेको पौडेल बताउछन् ।

विष चुस्ने प्रक्रिया’bout पौडेलले विस्तारमा बताउन नचाहे पनि बिरामीलाई पश्चिम फर्काएर वसाउने, धुप वालेर चुस्ने समूहका व्यक्तिहरुले मन्त्र जप गरेर शुरु गर्ने गरेका हुन्छन् । उनले चुस्ने व्यक्ति र बिरामीको बीचमा अरु प्रवेश नगरुन् भनेर गोल घेरा वनाई उक्त क्षेत्रलाई सुरक्षित बनाएर बाधेर विष चुस्ने कार्य शुरु हुने बताउछन् ।

सर्पले टोकेको बिरामी कति समयपछि आएको छ त्यति नै समय लाग्ने पौडेलको भनाइ छ । विष चुस्दा शरीरमा विष रहँदासम्म मात्र चुस्न सकिन्छ । विष सकियो भने चुस्ने व्यक्तिलाई बिरामीको शरीरले नै हुत्याउने गरेको पौडेलले बताए । यसरी विष चुस्दा सर्पले टोकेको घाउमा कतिपयको त दाँतसमेत झरेको चुस्ने क्रममा भेटिने गरेको उनको अनुभव छ ।

चुसेर उपचार गर्ने पद्धति प्रत्येक वर्षको नवदुर्गामा सिकाइने गरेको पौडेलले जानकारी दिए । अहिले चुसेर विष निकाल्ने वैद्य पनि समाजमा धेरै नै रहेका छन्

दाङमा प्रायःगराईच (करेत) र डुमिनी (कोब्रा) सर्पले डसेका बिरामी नै आउने गरेको पौडेल बताउछन् । डुमिनी (कोब्रा) सर्पको विष मानिसको शरीरमा तुरुन्तै र गराईच (करेत) को विष बिस्तारै अर्थात् डसेको करिव एक घण्टापछि मात्र शरीरमा चढ्ने पौडेलले बताए । चुसेर उपचार गर्ने पद्धति प्रत्येक वर्षको नवदुर्गामा सिकाइने गरेको पौडेलले जानकारी दिए । अहिले चुसेर विष निकाल्ने वैद्य पनि समाजमा धेरै नै रहेका छन् । “केहीले उपचारपछि तोकेरै पैसा लिने गरेका पनि छन् तर मैले सिकाएका गाउँका चेलाहरुलाई तोकेर पैसा लिन दिएको छैन” पौडेलले भने ।

घोराही उप महानगरपालीका–६ बचाहाका भीमप्रसाद खनालले पनि सर्पले डसेका बिरामीको उपचार गर्न थालेको १० वर्ष भयो । खनालले चुसेर सर्पको विष झार्ने पद्धति बङ्गाली विद्या भएको दावी गर्छन् । उनका अनुसार देवी भगवतीको आराधना गरेर कन्याले बनाएको शुनपानीले शुद्ध भएर मन्त्रोच्चारण गर्दै बिरामीको शरीरमा बनेको घाउमा चुसेर विष निकाल्ने गरिन्छ ।

दाङका अस्पतालले नेपालगञ्ज सिफारिस (रेफर) गरेका बिरामी पनि आफूकहाँ आएर उपचारपछि निको भएको उनको अनुभव छ । “हाम्रो उपचार पद्धतिमा टोकेको ठाँउवाट चुस्ने भएकोले सबै विष निकालिन्छ”–खनालले भने ।

यता घोराही उपमहानगरपालिका–६ का केही वैद्यको उपचार विधि भने फरक छ । उनीहरुले सर्पले डसेको बिरामीलाई स्थानीयस्तरमा नै पाइने जडीबुटीको लेप लगाई उपचार गर्ने गरेको बताउछन् । घोराही उपमहानगरपालिका–६ का पदमप्रसाद अधिकारीले पनि सर्पले टोकेका बिरामीलाई उपचार गर्न थालेको ३३ वर्ष पुग्यो । सर्पले टोकेको बिरामीलाई उनले गाँउघरमै पाइने जडीबुटी घाउमा लगाइदिने र त्यही जडीबुटीको रस पिउन दिएर उपचार गर्ने गरेको बताउछन् ।

अहिलेसम्म उनले पनि लगभग दुई हजार जतिलाई उपचार गरेको र उपचार गरेका सवै सफल भएको बताए । “धारापानी मन्दिर छेउछाउको जङ्गलमा पाइने जडीबुटी ‘एन्टीस्नेक भेनम’ जस्तै जडीबुटी हो, त्यसले नै उपचार गर्दै आएको छु” अधिकारीले भने । बुढेसकाल लागेकोले जङ्गल पुग्न कठिनाइ हुने भएकोले उनले त्यो जडीबुटी घरको करेसावारीमा पनि रोपेका छन् । “अहिलेसम्म मैले उपचार गरेकाहरु सबै सञ्चो भएकोले जडीबुटीले काम गर्छ भन्नेमा म विश्वस्त छु,” अधिकारीले भने ।

घोराही उपमहानगरपालिका–६ का केही वैद्यको उपचार विधि भने फरक छ । उनीहरुले सर्पले डसेको बिरामीलाई स्थानीयस्तरमा नै पाइने जडीबुटीको लेप लगाई उपचार गर्ने गरेको बताउछन् । घोराही उपमहानगरपालिका–६ का पदमप्रसाद अधिकारीले पनि सर्पले टोकेका बिरामीलाई उपचार गर्न थालेको ३३ वर्ष पुग्यो

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.मिनचन्द्र अधिकारीका अनुसार चुसेर विष निकाल्छु भन्नेले समाजमा भ्रमपैदा गरिदिएको बताउछन् । अधिकारीका अनुसार सर्पले टोकेको बिरामी दुई कारणले मर्ने गर्दछ ।

पहिलो मानसिकताले मर्ने गरेको बताउदै डा. अधिकारीले बिरामीलाई समाज तथा घर परिवारले नै पहिला ‘काउन्सिलिङ’ गर्नुपर्ने बताउछन् । उनका अनुसार सर्पले डसेपछि अस्पताल पुर्याउन ढिलाइ हुँदा विष शरीरमा फैलिएर मृत्यु हुने गरेको छ । “एन्टीस्नेक भेनम नै विष मार्ने अचुक उपाय हो भने बढी सिकिस्त बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्दा मात्र सफल भएका छन्” अधिकारीले भने । अहिले पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा एन्टिस्नेक भेनम प्रसस्त मात्रामा रहेको अधिकारीले जानकारी दिए ।

वर्षाको समयमा सर्प जमिनवाट बाहिर निस्कने भएकोले यो समयमा सर्पले डस्ने घटनाहरु बढी हुने गर्दछन । विषालु सर्पले टोकेकोलाई चुसेर विष निकाल्न नसकिने राप्ति प्रादेशिक अस्पताल तुलसीपुरका वरिष्ठ सर्जन डा.जनार्दन पन्थीको भनाइ छ ।

सर्पले डसेका बिरामीको शरीरमा रगतमा मिसिएको विष कुनै पनि हालतमा चुसेर ननिस्किने उहाँले दावी गरे । “सर्पले टोकेपछि विष रगतको माध्यमबाट मस्तिष्कसम्म पुग्ने भएकोले चुसेर विष निकाल्छु भन्नेहरुले समाजमा भ्रम छर्ने काममात्र गरेका छन्” डा. पन्थीले भने ।

तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा गत आर्थिक वर्ष २०७६/७७ मा सर्पले डसेर उपचार गराउन आउनेको सङ्ख्या ३६ रहेको थियो । अस्पतालका सूचना अधिकारी डिल्ली केसीका अनुसार उपचारका लागि आएका बिरामीहरुमध्ये सात जनालाई नेपालगञ्ज रेफर गरिएको थियो भने वाँकी २९ जना उपचारपछि निको भएर घर फर्किएका हुन् ।

पहिला झारफुक तथा चुसेर उपचार गर्ने वैद्यलाई विश्वास गरेपनि अहिले अस्पतालमा उपचारका लागि आउनेहरु नै बढेको केसीले बताउनुभयो । यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गत आर्थिक वर्षमा १० जनामात्रै उपचारका लागि आएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिए ।

उपचारका लागि आएका मध्ये छ जनालाई कोहलपुर रेफर गरिएको उनले जानकारी दिनुभयो । बाँकी चार जनामध्ये दुई जना अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका थिए भने दुई जनाको मृत्यु भएको थियो ।

वैज्ञानिक तथ्यअनुसार कुरागर्ने आधुनिक चिकित्सक, प्रकृतिक जडीबुटीको माध्यमबाट उपचार गर्ने तथा चुसेर विष निकाल्ने वैद्यहरुले आ–आफ्नै तरिकालाई उपचारको उत्तम माध्यम बताउछन् । समाजमा अहिले पनि अस्पतालको उपचार पद्धतिभन्दा पनि वैद्यहरुको उपचार पद्धतिमै विश्वास गर्नेहरुको सङ्ख्या पनि ठूलै छ । त्यसैले पनि सर्पले डस्दा चुसेर उपचार गर्ने पद्धति विश्वास हो कि बाध्यता ? समाजलाई नै छुट्याउन गाह्रो परेको देखिन्छ । रासस

तपाइको प्रतिक्रिया
(Visited 352 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?