लन्डन । बेलायतका अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले तयार पारेको कोरोना भाइरसविरुद्धको खोपको परीक्षण पुनः सुरु भएको छ । केही दिनअघि खोप लगाएका लन्डनका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएपछि केही समयका लागि खोप परीक्षण स्थगन गरिएको थियो । खोप परीक्षणमा सहभागी एक व्यक्तिमा पहिचान नखुलेको एक प्रकारको स्वास्थ्य समस्या देखिएलगत्तै सम्पूर्ण परीक्षण कार्य स्थगन गर्नुपरेको कम्पनीले गत मंगलबार जनाएको थियो ।
अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर कोरोना भाइरसविरुद्धको खोप निर्माण गरिरहेको अस्ट्राजेनिका कम्पनी अहिले खोप विकासमा अग्र स्थानमा छ । हाल यस खोपको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षण भइरहेको छ । यस कम्पनीले कोरोनाको औषधिसमेत निर्माणको प्रयास जारी राखेको छ ।
अक्सफोर्डले जारी गरेको पछिल्लो विज्ञप्तिमा बेलायतका सबै परीक्षण केन्द्रबाट खोप दिन थालिएको उल्लेख छ । बेलायती नियामक निकायहरूले पनि खोप परीक्षण गर्न अनुमति दिइसकेको अक्सफोर्डले जनाएको छ ।
अस्ट्राजेनिकाका एक प्रवक्ताले खोप परीक्षणमा सहभागी व्यक्तिमा देखिएको स्वास्थ्य समस्या’bout अध्ययन गर्न एक स्वतन्त्र समितिले काम गरिरहेको जानकारी दिए । ठूलो संख्यामा परीक्षण कार्य भइरहेकाले एकाध व्यक्तिमा समस्या देखिनु स्वाभाविक रहेको बताउँदै कम्पनीले त्यस्तो समस्याको निराकरणका उपाय पहिल्याउन जरुरी हुने जनाएको छ । कम्पनीले ती व्यक्तिको पहिचान खुलाएको छैन ।
अक्सफोर्डका अनुसार स्वतन्त्र समीक्षा टोली र नियामक निकाय दुवैबाट स्वतन्त्र छानबिनपश्चात् खोप परीक्षण पुनः सुरु गरिएको हो । संयुक्तराज्य अमेरिकामा अस्ट्राजेनिकाले ३० हजार व्यक्तिलाई परीक्षणमा सहभागी गराएको छ । बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले पुनः खोप परीक्षण सुरु भएकामा खुसी व्यक्त गरेका छन् । उनले खोप परीक्षण पुनः थालनी भएको समाचार सबैका लागि खुसीको कुरा भएको बताएका छन् ।
अक्सफोर्ड विश्वविद्यालयका अनुसार हालसम्म विश्वभर करिब १८ हजार व्यक्तिले खोप लगाइसकेका छन् । बेलायत, ब्राजिल, दक्षिण अफ्रिका र अमेरिकासमेतका सर्वाधिक असर परेका मुलुकमा खोप परीक्षण कार्य भइरहेको छ ।
ब्राजिलको स्वास्थ्य नियामक निकाय एन्भिसाले अक्सफोर्ड खोप ब्राजिलमा पुनः सुरु गर्न अनुमति दिइसकेको जनाएको छ । अस्ट्राजेनिका हाल विश्वमा तेस्रो तथा अन्तिम चरणको खोप परीक्षण गर्ने विभिन्न ९ कम्पनीमध्ये एक हो । हाल अक्सफोर्ड र अस्ट्राजेनिकाबाहेक अमेरिकाको मोडर्ना र पिफाइजर तथा जर्मनीको बायोएनटेक तेस्रो चरणको खोप परीक्षणमा जुटेका छन् ।
यस्तै रुसले स्पुतनिक भी बनाइसकेको दाबी गरेको छ भने चीनले समेत खोप परीक्षण तेस्रो चरणमा पुगेको जनाएको छ ।






