कर्णाली प्रदेश घुमफिर प्याकेज बनाउँदा राम्रो हुन्छ । यहाँ के छैन ? मुलुककै सबैभन्दा ठूलो ताल रारा, गहिरो फोक्सुण्डो ताल, ठूलो जिल्ला डोल्पा, नेपाली भाषाको उद्गम थलो जुम्ला सिजा । नेपालको सबैभन्दा अग्लो स्थानमा धान उत्पादन हुने स्थल जुम्ला । यति भएर पनि राज्यको आँखा नपुगेको प्रदेश हो, कर्णाली ।

पर्यटन पूर्वाधार विकास गर्ने हो भने कर्णालीका मूर्तअमूर्त पूराताŒिवक सम्पदा, नाचगान, जात्रा, भेषभुषा, भाषा, कला र संस्कृति अध्ययन, अनुसन्धान र अवलोकन गर्न पर्यटकको ओइरो नै लाग्छ । कर्णाली सभ्यता र संस्कृतिको केन्द्रविन्दू, भाषाको उद्गमस्थल, भौगलिक विविधता, प्राकृतिक सुन्दरता विभिन्न जातजाति, भाषाभाषी भएको, प्राकृतिक साधन र स्रोतले सम्पन्न छ, कर्णाली प्रदेश ।

यो प्रदेशमा हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, सुर्खेत र पश्चिम रुकुममा हवाईसेवा छ । रुकुममा चौरजहारी र मुसिकोटमा समेत दुई ठाउँमा हवाइसेवा छ । तर, यो सेवा सर्वसुलभ, सुरक्षित, विश्वसनीय एवं व्यवस्थित भने बन्न सकेको छैन ।

जैविक दृष्टिकोणले कर्णाली प्रदेश घुमफिरका लागि धेरै पर्यटकको रोजाइमा पर्छ । गर्मीदेखि बाह्रै महिना हिउँ रहने क्षेत्र कर्णालीमा छन् । एउटै नदी हुम्ला कर्णाली र मुगु कर्णालीको नामले चिनिन्छ । नेपालमा पाइने स्याउमध्ये बढी गुलियो स्याउ जुम्लामा मात्र पाइन्छ । रातो मार्सी धान त जुम्लाको पहिचान हो ।

जुम्ला पुगेपछि रातो मार्सीदेखि कागुनोसम्मका परिकारका पारखी रमाउँछन् । अर्कोतर्फ कर्णालीमा उत्पादन हुने लट्टेदेखि सिमीसम्म, मकैदेखि कोदोसम्म र फापरदेखि जौसम्म, आलुदेखि पिँडालुसम्म, स्याउदेखि जडीबुटीसम्मका आर्गनिक खेती हुन्छ । कर्णालीमा के उत्पादन हुँदैन ? यस्तो विविधता संसारमा कतै छैनभन्दा पनि हुन्छ । कर्णालीमा उत्पादन हुने धान संसारकै उच्चस्थानमा फल्छ ।



कर्णालीको मुगुबाट हुम्ला जाँदा बाटोमा पर्ने चंखेली क्षेत्रमा रातो गुराँसका साथै सेतो गुराँस पनि पर्यटकले अवलोकन गर्न सक्छन् । कर्णालीमा लौंठ सल्लो प्रशस्त पाइन्छ, जसलाई क्यान्सरको औषधि मानिन्छ । प्रकृतिसँग रमाउने र जडिबुटी’bout अध्ययन गर्ने पर्यटकका लागि कर्णाली प्राकृतिक संग्रहालय हो ।

यहाँ जडीबुटीमा पाँचऔंले, जटामसी र कुडकी पनि पाइन्छ । कर्णालीबाट धेरै जडीबुटी तिब्बत र भारत निकासी हुन्छ । कर्णाली प्रदेश हिमचितुवा, कस्तूरी, मृग, घोरल तथा डाँफेको बासस्थान पनि हो । नेपालमा पाइने ठूलो खालको जंगली मौरी अर्थात् भिरेमौरी कर्णालीमा मात्र पाइन्छ । साइबेरिया र मानसरोवरबाट हिउँदमा बसाइ सरेर जाडो छल्न आउने चराचुरुंगीको बासस्थान हो, रारा र से–फोक्सुन्डो ।

बुद्धधर्मअघिको बोनधर्म उत्पतिस्थल पनि कर्णाली प्रदेश हो । बोन धर्मको विशेषता कालो बोन र सेतो बोन धर्म कर्णालीको डोल्पो क्षेत्रमा रहेको छ । त्यसैले कर्णालीमा घुमफिर गर्ने पर्यटकले देशको जीवित संग्रहालय अवलोकन गर्न सक्दछन् ।
कर्णाली बहुपतिप्रथा भएको थलोका रूपमा समेत चिनिन्छ । मुलुकको सबैभन्दा पुरानो मानवबस्ती भएको स्थान कर्णालीमै छ । उपल्लो डोल्पो पर्यटकका लागि पवित्र क्षेत्र हो । कैलाश मानसरोवर जाने बाटो हुम्लाको सिमीकोट हो । नेपालको सबैभन्दा उच्चस्थानमा रहेको जिल्ला सदरमुकाम पनि हुम्ला सिमकोट नै हो । विश्वकै उच्चस्थानमा रहेको उच्चहिमाली पदमार्ग अर्थात् ‘ग्रेट हिमालय ट्रेल’ कर्णालीमै पर्छ ।

हुम्ला लिमी गाउँ अद्वितीय एवं आश्चर्यचकित तुल्याउने स्थान हो । हुम्लाको खगाल गाउँस्थित तातोपानीको खोला सम्भवत नेपालकै सबैभन्दा ठूलो खोला हो । हुम्लाको लिमी गाउँमा रहेको हल्जी गुम्बा नेपालको सबैभन्दा पुरानो गुम्बा मानिन्छ । लिमी नेपालकै उच्चभागमा रहेको बस्ती हो ।

हुम्ला लिमी उपत्यका सिमिकोटबाट करिब एक साताको पैदल यात्रापछि लिमी उपत्यकामा पुग्न सकिन्छ । पर्यटकका लागि ११औं शताब्दीको हल्जी गुम्बा र गाउँमा रहेका सानाठूला गुम्बा मुख्य आकर्षणका केन्द्रविन्दु बन्दछन् । खस साम्राज्यको आधार खण्ड र तिब्बति संस्कृति लिमी उपत्यका अन्य आकर्षण हुन् ।

लिमी उपत्यका प्राचीनकालका बहुमूल्य मूर्ति र गुम्बा नै गुम्बाको उपत्यका हो । महँगा मूर्ति, पौराणिक वास्तुकला त्यहाँका थप विशेषता हुन् । पुराना गरगहना, गुम्बामा कुँदिएका पौराणिक कलाकृतिलगायत वस्तु पर्यटकले अध्ययन अवलोकन गर्न सक्दछन् ।



सरकारले सार्वजनिक गरेको सय नयाँ पर्यटकीय क्षेत्रमध्ये मुगुको राराताल सबैभन्दा उत्कृष्ट पर्यटन गन्तव्य हो । रारा ताल पर्यटकलाई रोजाइ पनि हो । सुर्खेतबाट निजी अथवा सार्वजनिक सवारीसाधन प्रयोग गरेर रारा पुग्न सकिन्छ ।

कालिकोट नाग्मादेखि रारातालसम्म पूरै बाटो कच्ची छ । रारा प्राकृतिक सुन्दरताले सजिएको मनमोहक ताल हो । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको तालको अधिकतम लम्बाई ५ किलोमिटर र चौडाइ ३.२ किलोमिटर छ । १ सय ६७ मिटर गहिरो तालवरिपरि जंगलले घेरिएको छ । यहाँ रारा राष्ट्रिय निकुञ्जसमेत अवलोकन गर्न सकिन्छ ।

राराको स्वच्छ पानीमा आकाशको छायाँका कारण गाढा निलो देखिन्छ । ताल वरिपरि घुम्नका लागि ट्रेकिङ रुट छ । सफा पानीमा स्नो ट्राउट माछा, हाँस, जलेवाजस्ता चरा डुबुल्की मारेको दृश्यले राराको वातावरण अनुपम देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 389 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?