जुगल हिमालको दोस्रो आरोहण हुने

सिन्धुपाल्चोक । राजधानीबाट सबैभन्दा नजिकै रहेको जुगल हिमश्रृङखलामा आरोहीहरु दोस्रो पटक आरोहण गर्ने तयारीमा जुटेका छन् । जुगल गाउँपालिका–२ मा रहेको ‘भर्जीन जुगल’ हिमालमा २०७५ चैत २६ गते सफल आरोहण भएपछि दोस्रो पटक आरोहीहरु यो हिमालको आरोहणको तयारीमा जुटेका हुन् ।

‘एक हप्तामा जुगल हिमाल आरोहण’ भन्ने मिसनका साथ सगरमाथा आरोही शर्मीला लामाको नेतृत्वमा सात जनाको टोली मंगलबारदेखि जुगलको आरोहण गर्ने तयारीमा रहेको जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले जानकारी दिए । असोज २८ गते काठामाडौंबाट आरोहण दलका सदस्यहरु जुगल गाउँपालिकाका तेम्बाथामा गएर बस्ने, बुधबार बेसक्याम्पमा पुगेर शुक्रबारदेखि आरोहण सुरु गर्ने गरी तयारी भएको नेपालले जानकारी दिए ।

सबै तयारी पुरा भएको हामीलाई जानकारी आएको छ, सम्भवन शनिबार आरोहण दलका सदस्यहरुले जुगल हिमश्रृङखला अन्र्तगतको ग्याल्जेन पिकको आरोहण गरिसक्ने नेपालले बताए । आरोहण दलका सदस्यहरुले ६ हजार १५१ मिटर उचाईको ग्याल्जेन पिकको आरोहण गर्ने र प्रतिकुल मौसम नभए आइतबारसम्म टोली फर्कने गरी हिमाल आरोहण गर्न लागेको नेपालले जानकारी दिए ।

आरोहण दलमा शर्मीला लामा, पासाङ काजी शेर्पा, पेम्बा तामाङ, आङदोर्जे शेर्पा, आङछिरीङ शेर्पा र सार्की शेर्पा रहेका छन् । शर्मीला लामा र पेम्बा तामाङले सगरमाथाका आरोहण गरिसकेका छन् भने आरोहण दलका अन्य सदस्यहरुले ६ हजार मिटर अग्ला राष्ट्रिय अन्तराष्ट्रिय हिमालको सफलतापुर्वक आरोहण गरिसकेका छन् । राजधानीबाट नजिकै रहेको जुगल हिमाल आरोहणमा स्वदेशि विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यले २०७५ मा सगरमाथ आरोही माया गुरुङको नेतृत्वमा पहिलो पटक जुगल आरोहण भएको थियो ।

दोस्रो पटक हुन लागेको जुगल हिमाल आरोहण दलका सदस्यहरुलाई जुगल गाउँपालिकाले समेत केही आर्थिक सहयोग गर्न लागेको गाउँपालिका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिए । ‘विमा लगायतका केही पाटोमा हामी सपोर्ट गछौं’, अध्यक्ष श्रेष्ठले भने–‘हाम्रो गाउँपालिकाको गौरवको हिमाल भएकाले पनि प्रचार प्रसारका लागि केही सहयोग हुन्छ ।’

सगरमाथा आरोहण हुनु पहिला ६ हजार मिटर भन्दा अग्ला हिमाल हरु चढ्नु पर्ने भएकाले आरोहीहरुले जुगललाई रोजेको यस क्षेत्रका पर्यटन व्यावसायी मिलन लामाले जानकारी दिए । जुगल हिमाललाई अब राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसारका लागि यो आरोहणले थप मद्दत हुने लामाले बताए । आरोहीहरुको कोरोना परिक्षण समेत भएको र पर्यटन बोर्डले आरोहणका लागि आइतबार अनुमती दिने छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,049 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?