विश्व फुटबलमा २१ वर्षभन्दा मुनिका उत्कृष्ट फुटबल खेलाडीलाई प्रदान गरिने ‘गोल्डेन ब्वाइ अवार्ड’का लागि अन्तिम २० खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । इटालियन सञ्चारमाध्यम टुट्टो स्पोर्ट्सले युरोपमा खेल्ने उत्कृष्ट युवा खेलाडीलाई बर्सेनि प्रदान गर्दै आएको अवार्डका लागि युरोपका प्रतिष्ठित सञ्चार माध्यमका पत्रकारहरूले मतदान गर्दै आएका छन् । बिहीबार राति यस संस्करणको अवार्ड पाउन सक्ने २० खेलाडीको मनोनयन सूची सार्वजनिक गरिएको छ ।
यसअघि १ सय खेलाडीको नामावली सार्वजनिक गरेर ६० जनाबाट ४० जनामा झारिएको थियो । २००३ को पहिलो संस्करणमा नेदरल्यान्डका राफेल भान डर भार्टले यो अवार्ड जितेका थिए । त्यसपछि वायन रोनी, लियोेनेल मेस्सी, सेस फाब्रिगास, सर्जियो अगुएरो, पल पोग्बा, रहिम स्टर्लिङ, किलियन एमबाप्पे, म्याथिस डी लिग्ट र गत सिजन जोओ फेलिक्सले उपाधि जितेका थिए ।
उपाधिको दाबेदारका रूपमा बोरुसिया डर्टमुन्डका जाडोन सान्चो र एर्लिङ ब्राउट हालान्डसँगै बायर्न म्युनिखका अल्फोन्सो डेभिस रहेका छन् । गत सिजन यी तीनै खेलाडी शीर्ष २० मा परे पनि एट्लेटिको म्याड्रिडका जोओ फेलिक्सले उपाधि जितेका थिए । सान्चोसँगै इंग्ल्यान्डका फिल फोडेन, मासन ग्रिनवुड, क्यालम हड्सन ओडोइ र बुकायो साका पनि अन्तिम २० मा परेका छन् । अब अर्को चरणमा छनोटका शीर्ष २० खेलाडीबाट विजेता घोषणा गरिनेछ ।
मनोनयनमा परेका खेलाडी
मिचेल बेकर (नेदरल्यान्ड्स – पीएसजी)
एडुआर्डो कामाभिंगा (फ्रान्स – रेनेस)
जोनाथन डेविड (क्यानडा – लिल)
अल्फोन्सो डेभिस (क्यानाडा – बायर्न म्युनिख)
सर्जिनो डेस्ट (अमेरिका – आयाक्स, बार्सिलोना)
फाबियो सिल्भा (पोर्चुगल – वल्भ्स)
अन्सु फाती (स्पेन– बार्सिलोना)
फिल फोडेन (इंग्ल्यान्ड– म्यानचेस्टर सिटी)
रायन ग्राभेनबर्च (नेदरल्यान्ड्स – आयाक्स)
मेसन ग्रिनवुड (इंग्ल्यान्ड – म्यानचेस्टर युनाइटेड)
एर्लिङ ब्राउट हालान्ड (नर्वे – बोरुसिया डर्टमुन्ड)
कलुम हड्सन ओडोई (इंग्ल्यान्ड – चेल्सी)
डेजान कुलुसेभ्सकी (स्विडेन – युभेन्टस)
रोड्रिगो गोएस (ब्राजिल – रियल मड्रिड)
बुकायो साका (इंग्ल्यान्ड – आर्सनल)
जाडोन सान्चो (इंग्ल्यान्ड – बोरुसिया डर्टमुन्ड)
डोमिनिक जोबोस्लाई (हंगेरी – साल्जवर्ग)
सान्ड्रो टोनाली (इटाली – एसी मिलान)
फेरान टोरेस (स्पेन – म्यानचेस्टर सिटी)
भिनिसियस जुनियर (ब्राजिल – रियल मड्रिड)






