
‘मैले दुई जोडा मिथिला चित्रकला लहठी आजै किनें,’ जनकपुरधाम–५ की रञ्जिता मण्डलले सुनाइन् । उनीसँगै छिमेकी रतिया देवीले पनि लहठी र वाला किनिन् । अरुभन्दा फरकमात्रै होइन, आकर्षक देखिने उनको अनुभव छ ।
हो, लहठी र बालामा मिथिला चित्रकलाको चर्चा अहिले जनकपुरधामका गल्लीगल्लीमा चलिरहेको छ । झट्ट हेर्दा चिटिक्क देखिने । भीडमा अलग आकर्षण । बजारमा जे चलेको छ, सबै त्यसकै पछि लागिरहेको हुन्छ । अहिले बजार पुग्ने धेरैजसोलाई लहठी र बालामा मिथिला चित्रकलाले यसरी लोभ्याएको छ । महिलाको आकर्षण नै बनेको छ, मिथिला चित्रकला ।
लहठी र बालामा मिथिला चित्रकला बनाउने जनकपुरधाम– २१ कुर्थाकी दीपा कर्ण लहठीमा मिथिला चित्रकला बनाउन थालेपछि कारोबार ह्वात्तै बढेको बताउ“छिन् । १७ वर्षदेखि उनी मिथिला चित्रकलामा आबद्ध छिन् । उनकी आमा तथा हजुरआमा कलाकार नै थिए । हजुरआमालाई भारत बिहार सरकारले केही वर्षअघि सम्मानसमेत ग-यो ।

पेपर, कपडा, क्यानभास, कुट, माटाका भाँडो, कुर्ती, दूपट्टा, गमछी, भेस्ट, बेडसिट, क्यूचन कोभर, जोलरी, पागमा पनि मिथिला चित्रकला बनाउने गर्छिन्, दीपा । लहठी र वालाले छुट्टै पहिचान दिइरहेको उनको अनुभव छ ।
त्यसो त, जनकपुरधाममा मिथिला चित्रकलाका कयौं कलाकार छन् । विदेशमा मिथिला चित्रकलाको माग अत्यधिक रहेको उनीहरू बताउँछन् । आफूहरूले मिथिला चित्रकला पठाउन चाहेको दीपाका पति हिमांशु कर्णले सुनाए । ‘लहठी र बालाको लोकप्रियताले हाम्रो आत्मबल बढेको छ,’ उत्साहित उनले सुनाए ।
मिथिला लोक–चित्रकलामा विद्यमान आदिम तत्व सरल वक्र दुईचार ठाडा तेर्सा समान्तर रेखाबाट त्रिकोण, वृत्त, चक्र भएका प्रारम्भिक अतिरिक्त ऐतिहासिक तथा वैदिककालिन औपनिषदि तथा उत्तर मध्यकालिन तत्व पाइन्छन् ।

सांस्कृतिविद् अशोक दत्त मिथिला चित्रको फाइदा कलाकार लिन नसकिरहेको बताउँछन् । सरकारले बजार व्यवस्थापनमा सहयोग गरिदिनुपर्ने उनको माग छ । नेपल उद्योग वाणिज्य संघ प्रदेश २ अध्यक्ष शिवशंकर साह हिरा हस्तकला व्यवसाय बढाउन सरकारी नीति अभाव रहेको औंल्याउँछन् ।
जनकपुरधाममा लहठी बालाले प्रसिद्धि पाए पनि बाहिर पठाउन नसकेको दीपाले सुनाइन् । ‘योभन्दा अझ राम्रो गरेर देखाउन सक्छौं,’ भन्छिन् ।
दीपाको घरपरिवार मिथिला चित्रकलाबाटै चलिरहेको छ । दम्पतिका अतिरिक्त सासुससुरा, दुई छोरी र एक छोराको स्याहारसुसार यही कलाबाट धानिरहेको उनीहरू बताउँछन् ।








