चिकित्सकसहित १२ स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि स्वास्थ्य कार्यालय शिल

दैलेख । एकजना चिकित्सकसहित १२ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि गएको शनिबारदेखि स्वास्थ्य सेवा कार्यालय शिल गरिएको छ । कोरोनाका विरामीलाई रेखदेख गर्दै आएका स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि शनिबारदेखि स्वास्थ्य सेवा कार्यालय र दैलेख जिल्ला अस्पताल शिल गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय दैलेख र दैलेख जिल्ला अस्पतालमा कार्यरत एक जना चिकित्सकसहित १२ जनामा कोरोना संक्रमण देखिएको छ । शनिवार आएको पीसीआर रिपोर्ट अनुसार अस्पतालमा कार्यरत एक जना चिकित्सक, ११ जना स्वास्थ्यकर्मी र कर्मचारीहरुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेख, दैलेख जिल्ला अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यववस्थापक डा. निरन्जन पन्तले जानकारी दिए ।

शनिबारदेखि कात्तिक ४ गतेसम्मका लागि ईमरजेन्सी सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गरिएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यववस्थापक डा. पन्तले जानकारी दिए । यसैबिच शुक्रबार जिल्लाको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनि हाल दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत छन् । ‘खोकी लागेपछि कोरोनाको शंका लागेर परिक्षण गराएको थिए, परिक्षण गर्दा संक्रमण पुष्टि भयो,’ उनले भने ‘मैले काम गर्ने शिलसिलामा धेरै व्यक्तिहरुसँग भेटघाट भएको छ, मेरो सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित रहन आग्रह गर्दछु ।’ यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन जिल्ला कमिटी दैलेखका सह–संयोजक हेमन्त दशौँदीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण तिब्र रुपमा फैलिइरहेको छ । गएको शनिबार ४ महिला र १८ पुरुषसहित २१ जनामा संक्रमण पुष्टि थियो । आइतबार मात्र २३ जनामा कोरोना रिर्पोट पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए । जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक हजार दुई सय २४ जना पुगेको छ । ती मध्ये एक हजार एक सय २४ जना निको भई डिस्चार्ज भईसकेका छन् । हाल जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एक सय जना छ ।

तपाइको प्रतिक्रिया
(Visited 496 times, 1 visits today)

epaper

ताजा समाचार

अभिनेता रणवीर सिंहले अदालतमै माफी मागेपछि टुंगिँदै मुद्दा