भक्तपुर । सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर परीक्षण गर्दा आठ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएकामा आज बिहान ती महिलाको होम आइसोलेशनमै मृत्यु भएको हो ।
भक्तपुरमा अहिलेसम्म होम आइसोलेशनमा रहेका ६ कोरोना संक्रमितको मृत्यु भएको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए। त्यस्तै भक्तपुर अस्पतालमा कोरोना संक्रमित ७९ वर्षीय एक पुरुषको उपचारकै क्रममा आज मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिए । भक्तपुर नगरपालिका–१ चुनदेवी बस्ने पुरुषमा गत असोज २३ गते कोेरोना संक्रमण पुष्टि भएको थियो । दुवै शव नेपाली सेनाको टोलीले आज व्यवस्थापन गरेको छ । भक्तपुरमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ७१ जनाको मृत्यु भएको मिजारले जानकारी दिए ।






