पृष्ठपोषणका संयन्त्र र भूमिका

सार्वजनिक सेवा जनताको नैसर्गिक अधिकार भएकाले सार्वजनिक सेवा प्रवाहमार्फत् दैनिक जनजीवनको सहजीकरणका लागि सरकारले कर्मचारीतन्त्र खडा गरेको हुन्छ । कर्मचारीतन्त्रले सरकारको नीतिगत ढाँचाभित्र रहेर सेवाको डिजाइन गर्दछ र देशव्यापी फैलिएको आफ्नो संगठनबाट त्यस्ता सेवा प्रवाह गर्दछ । कर्मचारी र सेवाग्राही सार्वजनिक सेवा प्रवाहका दुई अभिन्न पक्ष हुन् । कर्मचारीतन्त्रको एक मात्र जिम्मेवारी जनताको सेवा गर्नु हो । जनतालाई सेवा प्रवाह गर्ने कार्यमा कर्मचारीतन्त्र चुकेपछि कर्मचारीतन्त्रको विकल्प खोज्ने सन्दर्भमा सार्वजनिक संस्थान, समिति, अर्धस्वायत्त अड्डा र निजी क्षेत्रका संरचनाहरू प्रयोगमा आए । तर, सबै विकल्प कर्मचारीतन्त्रभन्दा खरो देखिएनन् र हरेक विकल्पमा कर्मचारीतन्त्रका चरित्र देखापरे । यसर्थ, कर्मचारीतन्त्रको विकल्प खोज्नुुभन्दा कर्मचारीतन्त्रमा सुधार गर्दै सक्षम बनाउन श्रेयस्कर देखियो ।

सेवाप्रवाह र पृष्ठपोषणबीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ । कर्मचारीतन्त्रले सेवा प्रवाह गर्दा के कति नीतिगत, प्रक्रियागत तथा व्यवहारगत सुधार गर्नुपर्दछ भन्ने सूचना पृष्ठपोषणबाट प्राप्त हुन्छ । प्रशासनलाई सेवा प्रवाहको लागि सक्षम बनाउने उद्देश्यले विश्वव्यापी रूपमा भिन्नभिन्न देशले आआफ्नै पृष्ठपोषणका माध्यमको विकास गरे । पृष्ठपोषण लिने माध्यम जे भए पनि यसको विधि सरल हुनुपर्दछ र पृष्ठपोषणबाट प्राप्त सूचना सुधारका लागि उपयोग गरिनुपर्दछ भन्ने मान्यता बढ्दै गयो । सरकारले जनतालाई पु¥याइरहेका सेवा जनताको आवश्यकता र माग पूर्ति गर्न सक्ने किसिमका छन् कि छैनन् । सेवा उचित समय, उचित गुणस्तर, उपयुक्त स्थान र लागतमा जनताले पाइरहेका छन् कि छैनन् भन्ने जानकारी नभएसम्म सेवाको गुणस्तर र सेवाप्रवाहको प्रक्रियामा सुधार ल्याउन सकिँदैन । पृष्ठपोषणबाट सेवा प्रवाहको सुधारका लागि सूचना प्राप्त हुने भएका कारण पृष्ठपोषणको महŒव उच्च रहँदै आएको छ ।

सेवा प्रवाह पद्धति र व्यवहार सुधार गर्न र प्रशासन प्रणालीलाई उत्तरदायी बनाउन पृष्ठपोषण महŒवपूर्ण मानिन्छ । पृष्ठपोषण सेवा प्रवाहमा सुधार गर्ने मात्र नभई सरकार, प्रशासन तथा शासकीय पद्धतिप्रति सेवा प्रदायक र सेवाग्राहीबीचको सम्बन्ध स्थापित गर्ने संयन्त्र र सुधारको आधार स्तम्भ पनि हो । पृष्ठपोषणबाट सेवा प्रदायकलाई उत्तरदायी बनाउँछ, सेवा प्रवाह गर्ने नीति, प्रक्रिया, कर्मचारीको व्यवहार परिवर्तन र परिमार्जन गर्न सहयोग पुग्दछ र गुणस्तर संयोजन गर्न सहयोग पुग्छ, अनावश्यक होहल्ला र दुष्प्रचारलाई निरुत्साहित गर्दछ भने सेवाको प्रभावकारिता अभिवृद्धि गर्न, कार्यदक्षता बढाउन, मितव्ययिता कायम गर्न, कार्यसम्पादन प्रवाह चार्ट पुनरावलोकन गर्न र गुणस्तर बढाउन पनि सघाउ पु¥याउँछ ।

पृष्ठपोषण सेवाप्रवाह प्रक्रियालाई सरलीकरण गर्न र पारदर्शी बनाउन, सेवा प्रदायक र सेवाग्राहीबीचको दूरी कम गर्न, निजामती कर्मचारीको कार्यक्षमता बढाउन र व्यवहार परिवर्तन गर्न, निजामती कर्मचारीको कार्यसम्पादनको पूर्णवृत्त कन (३६० डिग्री) मूल्याकंन गर्न, सेवाका स्टयान्र्डड बनाउन, सेवा प्रवाहको प्रभाव मूल्यांकन गर्न, सार्वजनिक प्रशासनको सुधार गर्न, तथा सीमित स्रोतको अधिकतम उपयोग गर्न तथा भ्रष्टाचार नियन्त्रण गर्न महŒवपूर्ण मानिन्छ । खास गरी पृष्ठपोषण नीतिगत, प्रक्रियागत, व्यवहारगत र सेवाको गुणस्तरमा सुधारोन्मुख हुने गर्दछ भने कहिलेकाहीँ पृष्ठपोषण नकारात्मक वा उट्पट्याङ हुने पनि गर्दछ । पृष्ठपोषण सेवाप्रवाहका आयाम, सेवाको गुणस्तर, प्रक्रिया, कर्मचारीको व्यवहार, पृष्ठपोषणको माध्यम र पृष्ठपोषणको व्यवस्थापनका सबै पक्षलाई समेटेर दिने गरिएको हुन्छ । यसर्थ सार्वजनिक सेवामा पृष्ठपोषण व्यवस्थापन र प्रशासनको अभिन्न अंग बनेको छ ।

सार्वजनिक सेवा प्रवाह गर्नु सरकारको प्रमुख जिम्मेवारी हो । सरकारले विभिन्न नीति, ऐन, कानुन, संगठन संरचना, प्रक्रिया, कर्मचारीतन्त्र आदिको माध्यमबाट जनतालाई सेवा प्रवाह गरिरहेको हुन्छ । सरकारले प्रदान गरेको सेवा प्राप्त गर्ने सेवाग्राहीले आफूले पाएको सेवाको गुणस्तर; सेवा पाउने प्रक्रिया; सेवा लिन जाँदा लाग्ने खर्च, बिताउनुपर्ने समय, पार गर्नुपरेको दूरी; तथा सेवा दिने कर्मचारीको व्यवहारका सम्बन्धमा जनताले व्यक्त गरेको राय प्रतिक्रिया तथा सुझावलाई सार्वजनिक पृष्ठपोषण भनिन्छ । अर्थात्, आफ्ना कामकारबाहीको आफैं मूल्यांकन गर्नु वा अन्य विज्ञ वा सेवाग्राहीको मूल्यांकन प्रतिक्रिया पाउनु एवं सेवाप्रवाहसम्बन्धी सूचना प्राप्त गर्नु पृष्ठपोषण हो । पृष्ठपोषण पाउनु भनेको आफ्नै कार्यसम्पादन र व्यवहारको एकपटक सिंहावलोकन गर्नु पनि हो । पृष्ठपोषण खास गरी दुई अवस्थामा पहिलो, सेवा प्राप्त गर्नु अगाडि अर्थात् प्रस्तावित सेवा र सेवाप्रवाहको प्रक्रियाको सम्बन्धमा तथा दोस्रो, सेवा प्राप्त गरेपछि सेवा, सेवाप्रवाहको प्रक्रिया र कर्मचारीको व्यवहार सम्बन्धमा लिने गरिन्छ ।

संयन्त्र सशक्त बनाउन सार्वजनिक प्रशासन, सेवाग्राही, राजनीतिक नेतृत्व र सरोकारवाला सक्रिय एवं उत्तरदायी बन्नुपर्ने हुन्छ

पृष्ठपोषण लिन विभिन्न संयन्त्र प्रयोग गरिन्छ । सरकारका निर्णय र कामकारवाहीप्रति विधायिकी चासो, खोजबिन, अनुसन्धान, प्रश्नोत्तर तथा संसदीय समितिको सक्रियता र प्रतिवेदन पृष्ठपोषण लिने संवैधानिक संयन्त्र हो । सेवाप्रवाहको नाममा मौलिक हक, मानवअधिकार, स्वतन्त्र प्रेसको व्यवस्था वा सार्वजनिक चासोमा सम्बन्धमा रिट निवेदन वा न्यायिक सक्रियतामा जारी हुने आदेश न्यायिक सक्रियताको माध्यमबाट पृष्ठपोषण प्राप्त गर्ने गरिन्छ ।

सुपरिवेक्षण, अनुगमन र मूल्यांकन तथा समीक्षा परिपाटी, स्टाफ बैठक÷सुझाव पेटिका÷हटलाइन÷गोष्ठी सेमिनारका सुझाव, सेवाप्रवाहको प्रक्रियागत पारदर्शिता, उजुरी लिने, सुन्ने र व्यवस्थापन पद्धति, नियमित पृष्ठपोषण प्राप्त हुने संयन्त्र, पृष्ठपोषणका लागि सेवा प्राप्त गरेपछि सेवाग्राहीले भर्ने सिटिजन रिर्पोट फर्म, सेवाप्रवाह पूर्व गरिने पाइलट टेस्ट, क्वालिटी सर्कल÷टिमवर्कको छलफल र सुझाव, सार्वजनिक सुनुवाइ÷जनसम्पर्कबाट प्राप्त प्रतिक्रिया, सेवा प्रदायक र सेवाग्राहीबीचको विषय केन्द्रित छलफल, शंखघोषको व्यवस्था र प्राप्त सूचना, सहभागितामूलक निर्णय प्रक्रिया, नागरिक वडापत्र तथा नियमित सूचना प्रवाह र उपयोगकर्ताको भनाइ वा सुझाव पृष्ठपोषण लिने सार्वजनिक संगठनात्मक संयन्त्र हुन् । यसका अतिरिक्त फोन मोबाइल सामाजिक मिडिया, नेटवर्क र अनलाइनबाट समेत पृष्ठपोषण प्राप्त हुने प्रवृत्ति बढ्दै गएको छ ।

अध्ययन प्रतिवेदन सार्वजनिक सेवाप्रवाहको पृष्ठपोषण प्राप्त गर्ने महŒवपूर्ण स्रोत हुन् । संवैधानिक निकायका प्रतिवेदन, मन्त्रालय, विभाग र अन्य निकायका वार्षिक प्रतिवेदन राष्ट्रिय सूचना आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रतिवेदन, स्वतन्त्र व्यक्ति, पेसागत संस्था वा दाताको अध्ययन प्रतिवेदन, आमसञ्चार माध्यमको खोजमूलक प्रतिवेदन र समाचार प्रवाह, उपभोक्ता हित सम्बन्धमा कार्य गर्ने संघसंस्थाको प्रतिवेदनको माध्यमबाट सरकारले पृष्ठपोषण प्राप्त गर्दछ । साथै, सेवाप्रवाहमा जनसहभागिता, निर्वाचनमा दिइने मत, प्रेसलाई दिइने प्रतिक्रिया, उपभोक्ता सन्तुष्टि सर्भे÷सार्वजनिक सुनुवाइ÷सार्वजनिक भाषण वा प्रेस सम्मेलन र सार्वजनिक भेटघाट, सेवाग्राहीको तर्फबाट गरिने कार्यसम्पादन मूल्यांकनले पनि पृष्ठपोषण दिइरहेको हुन्छ । सेवाप्रवाह (शिक्षा, स्वास्थ्य वा अन्य)बाट समाजमा परेको प्रभावका सम्बन्धमा स्वतन्त्र निकायबाट गरिने सामाजिक परीक्षण पनि पृष्ठपोषणको एक अभिन्न पक्ष हो ।

सार्वजनिक प्रशासनबाट प्रदान गरिने सार्वजनिक सेवाको वर्तमान अवस्थालाई मूल्यांकन गर्ने हो भने सरकार, जनता र नागरिक समाज तीनै पक्ष सन्तुष्ट देखिँदैनन् । पृष्ठपोषण सेवाप्रवाह सुधारको अत्यावश्यक पक्ष हुँदाहुँदै पनि यसले प्रशासनमा खासै महŒव पाएको छैन् । पृष्ठपोषणसम्बन्धी अनगिन्ती अनुभूत समस्या छन् । परम्परागत र अनुत्पादक अनुगमन, रिपोर्टिङ र समीक्षा बैठक, जनतामा पृष्ठपोषण दिनुपर्छ भन्ने न्यून जानकारी, सेवाग्राहीमा पृष्ठपोषण दिने उजुरी गर्ने इच्छा र उत्प्रेरणाको कमी, सेवाग्राहीको उजुरीको उचित व्यवस्थापनको कमी, पृष्ठपोषण दिँदा झन् झन्झट बेहोर्नुपर्ने डर, सास्ती पाएका उदाहरण तथा पृष्ठपोषण दिनेको सुरक्षाको अभाव, प्रशासनमा पृष्ठपोषण व्यवस्थापनको कमी, सेवाप्रवाहको मूल्यांकन प्राथमिकतामा नपर्नु, नेतृत्वमा आफ्ना विषयमा आलोचना सुन्ने धैर्यको कमी, पृष्ठपोषणबाट प्राप्त सूचनाले अनुगमन तथा मूल्यांकनमा कम महŒव पाउनु, पृष्ठपोषण दिन सरल माध्यम र प्रक्रियाको कमी पृष्ठपोषणका समस्या हुन् ।

पृष्ठपोषण लिने संगठनात्मक उत्सुकता, दक्ष जनशक्ति र बजेटको कमी, सरकारी निकायमा सार्वजनिक सम्पर्क अधिकारीको व्यवस्थाको अभाव, पृष्ठपोषण दिनेको सम्मान गर्ने प्रचलनको अभाव, पृष्ठपोषण वा उजुरी मूल्यांकनका लागि सेवाको स्तरको अभाव तुलनात्मक अध्ययन गर्न कठिन, सूचना आग्रह र पूर्वाग्रहबाट प्रभावित, सामाजिक परीक्षण प्रभावकारी बन्न नसकेको, उजुरी दर्ता, पक्षपोषण दिने व्यक्ति संस्थाप्रति नकारात्मक दृष्टिकोण राख्ने प्रवृत्ति, पृष्ठपोषण अभिलेखको कमी, पृष्ठपोषण व्यवस्थापनमा नेतृत्वको उदासीनता समस्याको रूपमा रहेका छन् ।

पृष्ठपोषणको सत्यतथ्य खोज्ने प्रवृत्तिको कमी, सार्वजनिक सुनुवाइ प्रभावकारी बन्न नसकेको, मन्त्रालय, विभाग र कार्यालयका उजुरी पेटिका समयमा नखोल्ने तथा स्टाफ बैठक समयमा नबस्ने स्थिति, अनलाइन पृष्ठपोषण लिन प्रणालीकोे विकास र प्रयोगको कमी, अनुसन्धानमूलक तथा व्यावसायिक प्रेसको कमी, बजेट र योजनाको अध्यावधिक मूल्यांकन प्रभावकारी बन्न नसकेको, पृष्ठपोषणबाट जनतालाई के प्राप्त हुने नीतिगत, पृष्ठपोष्णका लागि प्रक्रियागत, व्यवहारगत, सांस्कृतिक सुधार’bout जानकारीको कमी, गर्ने नभए लुकाउने पृष्ठपोषणको राजनीतिले पृष्ठपोषणलाई प्रभावकारी हुन दिएको देखिँदैन ।

पृष्ठपोषण प्रजातान्त्रिक शासन व्यवस्थाको विशेषता हो । जनताले आफूले चुनेर पठाएका प्रतिनिधिले आफ्नो पक्षमा सही निर्णय गर्न, सेवा दिन वा काम गर्न सकेनन् भने त्यस्ता व्यक्ति तथा राजनीतिक दललाई अर्को निर्वाचनबाट सत्याच्युत गर्ने क्षमता राख्छन् । यसर्थ, आवधिक निर्वाचन सशक्त पृष्ठपोषणको सुन्दर पक्ष हो । पृष्ठपोषण सेवा प्रवाह पद्धति र त्यसको परिणामको सुधारको आधार हो । पृष्ठपोषणले नीतिगत, प्रक्रियागत, व्यवहारगत तथा संस्कृतिगत पक्षलाई निरन्तरता दिन वा सुधार गर्न सुझाव दिन्छ । पृष्ठपोषणबाट प्राप्त सूचनाको आधारमा सूधारका एजेन्डा तय गर्न र यसको कार्यान्वयन गर्न सरल हुन्छ । राजनीतिक एवं कर्मचारीतन्त्र दुवैका लागि पृष्ठपोषण महŒवपूर्ण विषय हो । यस परिप्रेक्ष्यमा व्यवस्थापनले महŒव तथा प्राथमिकताका साथ पृष्ठपोषणको कार्यान्वयन र प्राप्त सूचनाको उपयोग गर्नुपर्दछ । परिणाममूलक कर्मचारीतन्त्रका लागि पृष्ठपोषण अत्यावश्यक हुन्छ ।

यसर्थ, पृष्ठपोषणलाई प्रभावकारी बनाउन सुधार गर्दै लैजानुपर्दछ । सुधारका लागि मूलतः समष्टिगत रूपमा विधायिकी एवं न्यायिक सक्रियता बढाउने, संवैधानिक निकाय र मन्त्रालय एवं विभागका वार्षिक प्रतिवेदन सार्वजनिकीकरण गर्ने, सूचनाको हकसम्बन्धी ऐनको पूर्णपालना, खोजी पत्रकारिताको विकासमा जोड, उपभोक्ता सर्भेलाई प्राथमिकता, पृष्ठपोषण सूचनाको आधारमा कर्मचारीतन्त्रमा सुधार गर्ने, पक्षपोषण गर्ने सारभूत नीति बनाउने तथा सामाजिक सञ्जाललाई उपयोग गर्नुपर्दछ ।

पृष्ठपोषण पाउनु भनेको आफ्नै कार्यसम्पादन र व्यवहारको एकपटक सिंहावलोकन गर्नु पनि हो

संगठनात्मक रूपमा अर्थात व्यष्टिगत रूपमा पृष्ठपोषणलाई नीतिगत रूपमा संगठनात्मक प्राथमिकतामा राख्ने, सेवाप्रवाहको आधारबाट नियमित रूपमा पृष्ठपोषण प्राप्त गर्ने, नागरिक रिपार्ट कार्ड, सुझाव पेटिका पृष्ठपोषण फाराम, अनलाइन फिडब्याक जस्ता सरल संयन्त्रबाट पृष्ठपोषण प्राप्त गर्ने व्यवस्था गर्ने, पृष्ठपोषणका माध्यम र प्रक्रियालाई सरल बनाउने, सेवाग्राहीलाई उपभोक्ता शिक्षा दिने, संगठित गर्ने र उत्प्रेरित गर्ने, नागरिक वडापत्रको प्रयोग प्रभावकारी बनाउने, पृष्ठपोषणबाट प्राप्त सूचनालाई नीतिगत र प्रक्रियागत सुधार तथा कर्मचारीको पूर्ण वृत्त कार्यसम्पादन मूल्यांकनसँग आबद्ध गर्ने, पृष्ठपोषणको व्यवस्थापन उच्च पदाधिकारीको संलग्नतामा गर्ने, पृष्ठपोषण प्राप्त गर्न र व्यवस्थापन गर्न कर्मचारीलाई तालिम दिन पनि आवश्यक हुन्छ ।

साथै, पृष्ठपोषणको अध्ययनलाई तुलनात्मक विश्लेषण गर्न सेवाको स्ट्यार्डड बनाई सार्वजनिकीकरण गर्ने, पृष्ठपोषण दिनेलाई उत्प्रेरित गर्ने, सेवाग्राही र फोकस्ड समूहसँग छलफल गर्ने, निजामती कर्मचारीले पृष्ठपोषणलाई आफ्नो कार्यसम्पादन सुधारको आधार सम्झने वातावरण बनाउने र उनीहरूलाई प्रशिक्षित गर्ने, पृष्ठपोषणको सूचना सार्वजनिक गर्ने, कार्यालयमा गुनासो सुन्ने तथा सम्पर्क व्यक्ति अधिकृतको व्यवस्था गर्ने, बौद्धिक वर्ग, प्रेस, गैरसरकारी संस्थाबाट अनलाइन पृष्ठपोषण प्राप्त गर्ने, अनुगमन, सुपरिवेक्षण, प्रतिवेदन तथा प्रगति विवरणको आधारमा गरिने समीक्षालाई सशक्त बनाउने, पृष्ठपोषणका लागि मन्त्री, सचिव र विभागीय प्रमुखले पर्याप्त समय दिने र समीक्षा बैठकबाट प्राप्त प्रतिक्रिया, सूचनालाई अनुशरण गर्ने, सार्वजनिक सुनुवाइलाई प्रभावकारी बनाउने तथा पृष्ठपोषणको राजनीति अन्त्य गर्नुपर्दछ ।

उजुरी व्यवस्थापन पृष्ठपोषणलाई उत्पे्ररित र सक्रिय बनाउनु हो । जनउजुरी सार्वजनिक प्रशासनको अनुपोषण प्राप्त गर्ने महŒवपूर्ण संयन्त्र हो । उजुरीको माध्यमबाट नीतिगत, प्रक्रियागत, संरचनागत एवं कानुनी सुधारका लागि सुझाव प्राप्त हुनाको साथै भ्रष्टाचारजन्य गतिविधिहरूको सार्वजनिकीकरण समेत हुन्छ । स्वभावतः जनतामा उजुरी गर्ने प्रवृत्ति कम हुने गर्दछ । झन् सेवाग्राहीले गरेका उजुरीको उचीत व्यवस्थापन हुन सकेन भने उजुरी गर्ने प्रवृत्तिमा झनै ह्रास हुँदै जान्छ । यसकारण सार्वजनिक सेवामा उजुरीलाई महŒव दिई यसको प्रभावकारी व्यवस्थापनमा ध्यान दिनु जरुरी हुन्छ ।

सारमा, नेपालको सार्वजनिक प्रशासनमा पृष्ठपोषणले अत्यन्त कम महŒव पाएको देखिन्छ । सेवाप्रवाह तथा परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमन मूल्यांकन, चौमासिक र वार्षिक रूपमा रिपोर्टिङ, रिपोर्टिङको आधारमा राष्ट्रिय र मन्त्रिस्तरीय समीक्षा गर्ने र पृष्ठपोषण दिने व्यवस्था गरिएको भए पनि ती प्रभावकारी देखिएका छैनन् । प्रशासन प्रणाली सेवाग्राहीमुखी, परिणाममुखी, उत्तरदायी, पारदर्शी, सूचनासञ्चार प्रविधिमैत्री र विकेन्द्रित हुँदै गएको भए पनि सेवाप्रवाहको पृष्ठपोषणबाट लाभ लिन सकेको देखिँदैन । पृष्ठपोषणको प्रयोग र उपयोगलाई सशक्त बनाउन सार्वजनिक प्रशासन, सेवाग्राही, राजनीतिक नेतृत्व र सरोकारवाला सक्रिय एवं उत्तरदायी बन्नु पर्ने हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 2,259 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार