
घरको ढोका निस्कनेबित्तिकै ३२ वर्षीय शेष नगरकोटीको मन खिन्न हुन्छ । झुपडीनिर डिपीसीमात्रै गरिराखेको अधुरो घरले गिज्याइरहेझैं लाग्छ, उनलाई ।
‘डिपीसी गरेकै दुई वर्ष हुन लाग्यो,’ डण्डी ठड्याइएको शून्य भूइँतिर हेर्दै शेष भन्छन्, ‘बाटो छैन, त्यसैले घर बनाउन पनि सकिरहेको छैन ।’
भन्नैपर्दा २४ घरमात्रै भएको लुकुण्डोल पुग्न बज्रबाराहीस्थित ललितपुर गोदावरी नगरपालिका मुख्य कार्यालयबाट पाँच किलोमिटर पनि टाढा छैन । दुर्गम गाउँझैं लाग्ने लुकुण्डोल गोदावरी नगरपालिका–९ पर्छ । तर, ‘बत्तीमुनिको अँध्यारो’को परिवेशभित्र यहाँका जनता बाँचिरहेका छन् ।
‘अलि पढेलेखेकाहरू बाहिर बस्छन्, त्यतै काम गर्छन्,’ कक्षा १० सम्म पढेको बताउने शेष सुनाउँछन्, ‘हामीले के गर्ने ? एकजनाले मात्रै बोलेर हुँदैन ।’
…
बिजुलीको पोल गाडेको बाह्र वर्षसम्म बत्तीको लाइन आएन । चापागाउँ पश्चिमतिर पर्ने लुकुण्डोल झलमल्ल हुन थालेकै भर्खर तीन वर्ष लाग्दै छ । अन्य दुर्गम गाउँजस्तै लुकुण्डोलको गुनासो पनि त्यही छ, ‘चुनावका बेला भोट माग्न आउँछन्, त्यसपछि कोही पनि आउँदैछ ।’

१२ वैशाख २०७२ को भूकम्पले गाउँका अधिकांश घर ढाल्यो । लुकुण्डोल झेपडीमा परिणत हुन पुग्यो । अहिले गाउँले चौधरी ग्रुपले बनाइदिएको टहरामा आश्रित छन् । पक्की घर नगण्य बनेका छन् ।
यहाँ खानेपानी सुविधासमेत छैन । वर्षायाम लागेपछि टहराबाट बग्ने पानी संकलन गरेर प्रयोगमा ल्याउने गरेको स्थानीय युवा शेष सुनाउँछन् । ‘खरको छानो भइदिएको भए त्यो पानी पनि कहाँ पाउनु ?’ जस्तापाताको छानो हेर्दै उनले भने, ‘अरु बेला यहीँ नजिकैको खोल्साबाट ल्याउने गरेका छौं ।’

विशेष पर्वका रूपमा कुनै पनि जात्रा नमान्ने बताउने ५६ वर्षीय गोपाल नगरकोटीका छोरा कृष्णकुमार ‘गाउँमै सबैभन्दा बढी पढेलेखे’मध्ये गनिन्छन् । तर, छोराले ‘कहीँ पनि जागिर नपाए’पछि गोपाल खिन्न देखिन्छन् । बज्रबाराही ‘कुलदेउता’ मान्ने स्थानीयले लुकुण्डोलमा मन्दिर नै स्थापना गरेका छन् ।
‘पन्ध्र कक्षा पढ्नेले त कुनै काम पाएन, अब के भन्ने ?’ उनले छोरो कृष्णतिर देखाउँदै थपे, ‘अरुको के कुरा गर्नु ?’
प्याङगाउँस्थित जनभावना क्याम्पसबाट व्यवस्थापनमा स्नातक कृष्णकुमार नगरकोटीले ‘जागिर’को लागि धेरै ठाउँ धाए । तर, काम पाएनन् ।
‘दुई–तीन ठाउँमा जागिरको ट्राइ गरें तर पाइएन,’ अहिले गाउँठाउँमै ज्यामी काम गरिरहेको सुनाउने कृष्ण भन्छन्, ‘त्यसपछि कतै पनि प्रयास गरिनँ, जागिर पाए भने अवश्य पनि गर्नेछु ।’ शिक्षणमा रुचि राख्ने उनी अहिले आफ्ना बुबासँगै ज्यामी काममा निस्कने गरेका छन् ।

इतिहासै खोतल्हो भने लुकुण्डोलको कथा सयौं वर्ष पुरानो लाग्छ । आफूहरू ‘कहाँबाट आएका हौं ?’ भन्ने स्थानीय ठ्याक्कै भन्न सक्दैनन् । डाँडाबीच खाल्डोको गाउँमा कमैको नजर पर्ने गरेका छन् ।
सडक सञ्जालले नछोएकोले गाउँलेलाई नजिकैको चापागाउँ बजार पुग्नसमेत झन्डै एकघण्टा लाग्छ । हिँडेरै जाने हो भने यहाँ पुग्न नक्खु खोला बाटो प्रयोग गर्दा फरक पर्दैन ।

लुकेको हो वा लुकाइएको ? त्यो त समयले नै बताउँला † तर, लुकुण्डोल ‘हाइकिङ’का लागि सुन्दर गाउँ हो । पर्यटकीय प्रवद्र्धन गर्ने हो भने ‘एकरात घरबास’ अर्थात् ‘वान नाइट होमस्टे’ लागि प्रबल सम्भावना बोकेको छ, लुकुण्डोलले ।
‘पर्यटक पुग्न थालेपछि स्थानीय जीवनस्तर स्वतः उकासिनेमा शंकै छैन,’ गाउँठाउँ डुलेर त्यसलाई क्यानभासमा उतार्दै आएका कलाकार सुरेम देशार भन्छन्, ‘त्यो हिसाबले लुकुण्डोले पनि सम्भावना देखाएको छ ।’
‘चित्रयात्री’ देशार प्रायः पुराना गाउँवस्ती घुमिरहन मन पराउँछन् । यही मेसोमा उनको नजरमा पछिल्लो समय परेको गाउँ हो, लुकुण्डोल ।
‘आन्तरिकसँगै बाह्य पर्यटनको दृष्टिले यो ठाउँ उत्तम छ,’ अघिल्लो दिनमात्रै यहीँको ‘स्पट’ चित्र बनाएका कलाकार देशारले सुनाए, ‘अब विस्तारै यहाँँको विकास हुनेमा हामी आशावादी छौं, धेरै गाउँ सुरुमा यसरी नै ओझेलमा थिए । तीमध्ये घलेगाउँ पनि एक थियो, अहिले घलेगाउँ पर्यटक क्षेत्रमा प्रसिद्ध बन्न पुगेको छ ।’

हुन त, लुकुण्डोलका लागि सडक–खानेपानी तड्कारो आवश्यक भएको वडाध्यक्ष आत्मराम थापा क्षेत्रीलाई थाहा नभएको हैन । उनी बिनापूर्वाधार बाटो खनिएको कच्ची सडक लुकुण्डोलसम्म पु¥याइएको बताउँछन् । ‘सोही कारण गाडी गुडाउन सहज पक्कै छैन,’ वडाध्यक्ष क्षेत्री भन्छन्, ‘इटाइटीभन्दा डुकुछापबाट बाटो लान उपयुक्त हुने भएपछि काम अघि बढाइएको छ ।’

स्थानीयस्तरमा जागरण नआउँदा विकास निर्माण अलपत्र पर्ने अवस्था आउने विश्लेषण गर्छिन्, लुकुण्डोल वडा सदस्य वडासदस्य दुर्गा सुनुवार नेपाली ।
‘बिना हस्तक्षेप विकास निर्माणका काम अघि बढ्नै सक्दैन,’ उनी भन्छिन्, ‘हरेक क्षेत्रमा यो गाउँ ओझेल परेको छ, यसप्रति स्थानीय तहको ध्यानसमेत पुग्न सकेको छैन ।’
खेतीपातीमा खासै निर्भर हुन नसकेका स्थानीयसँ ज्यालादारी र मजदुरीबाहेक विकल्प छैन । जिविकोपार्जनमै बढी ध्यानकेन्द्रित भएका कारण पनि गाउँठाउँको विकास निर्माणप्रति स्थानीय पहल हुन नसकेको वडासदस्य नेपाली बताउँछिन् ।
अब भने समस्या समाधान गर्ने पक्षमा उभिएका छौं

सहरी क्षेत्रबाट नजिक भएर पनि लुकुण्डोल दुर्गम ठाउँ नै हो । त्यहाँ खासै धेरै वस्ती पनि छैन । त्यस्तै, २०–२५ घर होलान् । अलिक खाल्डोमा रहेको हुनाले भौगोलिक हिसाबले विकटझैं लाग्छ ।
खानेपानीको समस्याभन्दा लुकुण्डोलमा अझैसम्म पनि सडक सञ्जाल पुग्न सकेको छैन । जसका कारण स्थानीयलाई निकै समस्या छ । सडक बन्न नसकेको र भौगोलिक विकटताकै कारण त्यहाँ खानेपानी समस्या भएको हो । त्यो समस्या यसपटक समाधान गर्ने पक्षमा हामी छौं ।
सडक स्तरोन्नतिलाई पनि प्राथमिकतामा राखेका छौं । यसबाहेक पर्यटकीय दृष्टिकोणको हिसाबले देवीचौरमा ‘होमस्टे’ थालनी गर्दैगर्दा लुकुण्डोललाई हामीले प्राथमिकतामा राखेका छौं ।







