गोप्य सूचना प्रवाह गरेको आरोपमा १० वर्ष जेल

बेइजिङ । एउटा चिनियाँ अदालतले पुस्तक विक्रेता रहेका स्वीडेनका नागरिक गुवे मिनहाइलाई ‘विदेशीलाई गैर कानुनी रूपमा गोप्यसूचना प्रवाह’ गरेको भन्दै दश वर्षको जेल सजाय सुनाएको छ । गुवे सन् २०१५ मा थाइल्याण्डमा बिदा मनाउने क्रममा हराएयता कैयौंपटक चिनियाँ नियन्त्रणमा पर्ने र मुक्त हुने क्रम जारी थियो ।

पहिले हङकङमा पुस्तक विक्री गर्ने उनलाई पछिल्लोपटक बेइजिङ जाने क्रममा सन् २०१८ मा नियन्त्रणमा लिइएको थियो । ५६ वर्षीय गुवेले चिनियाँ कम्युनिस्ट पार्टीका नेताका व्यक्तिगत जीवन सम्बन्धी पुस्तक प्रकाशन गरेको बताइन्छ । हङकङमा एउटा सानो पुस्तक पसल चलाउने पाँचजना मालिकमध्ये उनी एक हुन् । सन् २०१५ मा पाँचैजना फरकफरक समयमा हराएका थिए । तर पछि गुवे बाहेक अरू मुक्त भएका थिए ।

चीनको सो अदालतले एउटा विज्ञप्तिमा उनलाई पाँच वर्षसम्मका लागि राजनीतिक अधिकारबाट बञ्चित गरिएको बताएको छ । विज्ञप्तिमा उनले अदालतको निर्णयविरुद्ध पुनरावेदन नगर्ने पनि जनाइएको छ । अदालतले उनको चिनियाँ नागरिकता सन् २०१८ मा पुर्नस्थापित गरिएको बताएको छ । गुवेले उनको स्वीडेनको नागरिकता त्यागे÷नत्यागेको स्पष्ट छैन । तर चीनले दोहोरो नागरिकतालाई मान्यता दिँदैन ।

गुवे सन् २०१५ मा थाइल्याण्डबाट हराएर चीनमा भेटिएपछि सञ्चारमाध्यममा चर्चामा आएका थिए । उनी हराएपछि गैरकानुनी प्रक्रिया मार्फत् चिनियाँ एजेन्टहरूले अन्तर्राष्ट्रिय सीमाबाट उनको अपहरण गरेको आरोप लगाइएको थियो । चिनियाँ अधिकारीहरूले भने गुवे र अरू चार जना पुरुषहरू सबै चीनमा आफैं गएको बताउँछन् ।

यी पुस्तक विक्रेताले एक दशक अगाडि एउटा घातक ट्राफिक दुर्घटनामा संलग्न भएको स्वीकार गरेका छन् । उनका समर्थकहरूले त्यो स्वीकारोक्ति बलपूर्वक गराइएको दाबी गर्दै आएका छन् । त्यसपछि उनले दुई वर्ष जेलमा बिताएका थिए । तर जेलमुक्त भएको केही महिनापछि दुईजना स्वीडेनी कुटनीतिज्ञहरूसँग बेइजिङ जाँदै गर्दा उनलाई पुनः गिरफ्तार गरिएको थियो ।

चीनले पछि गुवेसँग लिइएको भिडिओ अन्तर्वार्ता जारी गरेको थियो । त्यसमा उनले स्वीडेनलाई उनको मुद्दा ‘सनसनीपूर्ण बनाएको’ आरोप लगाएका थिए । एमनेष्टी इन्टरनेशनलसहितका मानव अधिकारवादी समूले उनको अन्तर्वार्तामा जबर्जस्ती स्वीकार गर्न लगाइएका तत्वहरू रहेको बताएका थिए । चीनमा अपराध संदिग्धहरूका ‘स्वीकारोक्ति’ भिडिओहरू जारी हुँदै आएको पाइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

epaper

ताजा समाचार

सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते