तराईका उखु किसानहरू यतिबेला काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् । गायक बद्री पंगेनी दैनिकजसो माइतीघर पुगेर विभिन्न जनचेतनामूलक गीत गाउँदै किसानहरूलाई साथ दिइरहेका छन् । यसै साता जातीय विभेद र नारी हिंसाविरुद्धको गीत तिम्रो घरमा मेरी छोरी…ल्याएर चर्चामा रहेका गायक बद्री पंगेनीसँग राजधानीका डब्बु क्षत्रीद्वारा गरिएको समसामयिक वार्ताको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
पछिल्लो समय अरू काम छाडेर उखु किसानको आन्दोलानमा सक्रिय हुनुभयो नि ?
जुन काठको बोक्रो त्यही काठमा भनेजस्तो म पनि किसान परिवारकै एक सदस्य हुँ । मजदुर किसानप्रति अथाह माया सम्मान छ । उहाँहरूको श्रमको मुख्य पाउनुपर्छ भन्ने मेरो मान्यता हो । र म यस आन्दोलनमा सहभागी छु र समर्थन गरिरहेको छु ।
पोहोर पनि आन्दोलनमा उत्रनुभएको थियो । त्यतिबेला पनि चिनी मिलवालाहरूले उनीहरूको बक्यौता दिने भनेका थिए । तर फेरि किन दिएनन्जस्तो लाग्छ यहाँलाई ?
पोहोर पनि एक महिना आन्दोलन गरेपश्चात् पाँच बुँदेसहमति भएको थियो । त्यही सहमतीलाई कार्यन्वयन गर भन्ने अहिलेको आन्दोलन हो । ती मालिकहरूलाई सक्दो चाँडो कानुनी कारबाही गर्नु प-यो । किसानहरूको बाँकी बक्यौता तत्काल दिएर उनीहरूको समस्या समाधान सरकारले गर्नुप-यो र अर्को कुरा सरकारसँग दुईओटा अप्सन छ । सरकारले अब किसान रोज्ने कि व्यापारी रोज्ने ? मेरो सरकारलाई यो आग्रह छ कि मन र व्यवहारदेखि नै किसान रोज ।
जनताको अपेक्षाअनुसार सरकारले काम गर्दैन भने म सरकार वा पार्टीको भजन गाउने मण्डली हैन । मेरो सरकारलाई यो आग्रह छ कि जतनाको जनचाहना बुझेर सोहीअनुसारको काम गर्नुप-यो ।
तर सरकारले मंगलबार व्यापारी र किसान दुवैलाई वार्तामा बोलायो । भुक्तानी नदिने व्यापारी र किसान दुवै वार्तामा गएनन् । अब यो आन्दोलनले कुन रूप लेला ?
पहिलाजस्तै हामीलाई सरकारले झुक्याउने कि भन्ने डर छ । उनीहरू पहिलापनि वार्ताबाट ठगिएका हुन् । यदि सरकारले पर्याप्त आधार दिन्छ र समस्या समाधान गर्छ भने किसानहरू पक्कै वार्तामा बस्नेछन् । अर्को कुरा साँच्चिकै जनपक्षीय र मजदुरको सरकार हो भने यो तुरुन्तै समाधान हुने कुरा हो । सरकारले यसलाई गम्भीर रूपमा लिएन भने यसले सरकारलाई अत्यन्तै अलोकप्रिय बनाउँछ ।
तपाईं नेकपासँग आस्था राख्ने कलाकार । अहिलेको अवस्था सरकारको कार्यप्रति केही असन्तुष्ट देखिनुभएको छ ? खासमा सरकार कसरी चल्नुपर्ने हो ?
दुई तिहाइको कम्युनिस्ट सकारले जुन रफ्तारका काम गर्नुपथ्र्यो, त्यो नभएकै हो । जनताको अपेक्षाअनुसार सरकारले काम गर्दैन भने म सरकार वा पार्टीको भजन गाउने मण्डली हैन । मेरो सरकारलाई यो आग्रह छ कि जतनाको जनचाहना बुझेर सोहीअनुसारको काम गर्नुप-यो ।
यहाँले भर्खरै जातीय विभेद र महिला हिंसाविरुद्ध नयाँ गीत तिम्रो घरमा मेरी छोरी…आफ्नो संगीतमा बजारमा ल्याउनुभएको छ । यो गीत कसरी तयार भयो ?
समाजमा हरेक दिनजसो हुने घटना परिघटनाले र खासगरी रुकुम घटनाले मलाई यो गीत सिजना गर्न प्रेरित गरेको हो । अर्को कुरा महिला हिंसाको कुरा भएको कानुनलाई सर्वसाधारणले नबुझ्दा र सम्बन्धित पक्षले कार्यन्वयन गर्न नसक्दा यस्ता घटनाहरू नियमित रूपमा घटेका छन् । कुनै पनि प्रकारको जातीय विभेद गरेमा प्रस्ट रूपमा तीन वर्ष जेल र एकलाख रूपैयाँ जरिमाना हुन सक्ने कानुन छ । त्यस’bout सबैलाई जानकारी गराउन पनि मैले यो गीत गाएको हुँ ।
गीतको प्रतिक्रिया कस्तो आएको छ ?
अहिले टिकटक, फेसबुक, इन्स्टालगायतका सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया आईरहेको छ । युट्युबमा पनि यसले राम्रै भ्युज पाइरहेको छ । यसै सबै कुराले म उत्साहित छ । आउँदा दिनमा पनि यस्ता सामाजिक जनचेतना फैलाउन गीत सृजनामा निरन्तरता दिनेछु ।






