इलाम । विश्वमै लोपुन्मूख रहेको रेडपान्डा (हाब्रे) संरक्षणका लागि इलामको सन्दकपुर गाउँपालिका पाँचस्थित जौवारीमा वृक्षरोपण सुरु गरिएको छ । रेडपान्डा आवतजावत गर्ने जैविकमार्ग संरक्षण गर्न निजी आवादी जमिन खरिद गरेर सरकारको मातहतमा ल्याई रेडपान्डा संरक्षणका लागि वृक्षरोपण थालिएको हो ।
लोपोन्मूख अवस्थामा रहेको रेडपान्डा संरक्षणका लागिे रेडपान्डा नेटवर्कको सहयोगमा उच्च पहाडी संस्थाले जिल्ला वन कार्यालयको रोहबरमा जग्गा संरक्षण गरेको उच्च पहाडी संस्थाका अध्यक्ष धनबहादुर खाम्दाक बताउँछन् । ‘नेपाल र भारतको सीमा क्षेत्रमा पर्ने यस ठाउँमा भारततर्फ सिंहलीला नेसनल पार्क रहेको छ,’ उनले भने, ‘त्यो संरक्षित एरिया रहेको छ र नेपालतिरचाँहि जंगल विनास भएर गएको छ, खाम्दाकले भने निजी आवादीमा गोठ राखेर पनि जंगल विनाश भइरहेको छ ।,’
नेपालतिरको जंगल विनास भएका कारण वन्यजन्तु आवतजावतका लागि समस्या भएको र त्यसको समाधानका लागि नेपाल र भारतबीचको जैविक मार्ग जोड्नका लागि पनि वृक्षरोपणको काम थालिएको हो ।’ रेडपान्डाको चरिचरन तीव्र भएको र वनजंगल विनास भएसँगै निजी आवादीमा रेडपान्डाको वासस्थान मासिएका कारण संरक्षण थालिएको हो । संस्थाले गत वर्ष १७५ रोपनी जग्गा र यस वर्ष १९८ रोपनी जग्गा खरिद गरेर वृक्षरोपणको काम सुरु गरेको हो । उक्त ठाउँमा विभिन्न व्यक्तिका नाममा रहेको जग्गा खरिद गरी तारबार गर्ने काम थालिएको खाम्दाकको भनाइ छ ।
करिब तीन हजार मिटर क्षेत्रमा तारबारको तयारी गरिएको छ भने त्यस क्षेत्रकोे आसपासमा रहेका सरकारी जग्गा समेटेर करिब सात सय रोपनी क्षेत्रफलमा वृक्षरोपणको काम थालिएकोे छ । रेडपान्डाको आहाराका रूपमा रहेको वनस्पति मालिंगो टेंगा, कुलिंगा चिमाल, वान्टे, भालुचिन्डे गुँरासजस्ता वनस्पति लगाइएको छ । संस्थाले रेटपान्डाको गतिविधि र क्रियाकलाप दैनिक अनुसन्धान गर्न एक वर्षका लागि १० ओटा रेडपान्डामा सेटलाइट कलरिङ गरेको छ ।
इलामसहित पाँचथर र ताप्लेजुङमा रेडपान्डा संरक्षणसम्बन्धी कार्यक्रम सुरु गरिएको छ । सरकारले रेडपान्डा संरक्षणका लागि सन् २०१९ देखि २०२३ सम्म पाँच वर्षे कार्ययोजना बनाएको छ । सोही कार्यक्रमका लागि सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय सस्थासँगको साझेदारीमा संरक्षण र अनुसन्धानमूलक गतिविधि सञ्चालन गर्दै आएको छ ।






