वीरगन्ज । नीजिक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यकारिणी समिति सदस्यलाई वीरगन्ज उद्योग वाणिज्य संघले सम्मान तथा स्वागत गरेको छ । संघले वीरगन्जमा नै महासंघको अध्यक्षलगायत पदाधिकारी र सदस्यलाई सम्मान तथा स्वागत गरेको हो ।
सम्मान तथा स्वागत कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला नगर उद्योग वाणिज्य संघ उपाध्यक्ष दिनेश श्रेष्ठ, एसोसिएट्स समूहबाट निर्वाचित उपाध्यक्ष रामचन्द्र संघई तथा कार्यकारिणी समिति सदस्यत्रय, अरुणराज सुमार्गी, डीबी बस्नेत र विजय साहलगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमलाई उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजीक्षेत्रका साझा समस्या सम्बोधन गर्ने दिशामा प्रभावकारी ढंगले अघि बढ्ने दाबी गरे । ‘महासंघलाई नयाँ तवरबाट परिभाषित गर्ने उद्देश्यअनुरूप हामी नेतृत्वमा आएका छौं,’उनले भने । त्यसैको नमुना हो प्रत्येक दिन २ बजे महासंघका अध्यक्ष तथा पदाधिकारी नियमित रूपले महासंघमा आफ्नो सेवा प्रवाह गर्ने गरी व्यवस्था मिलाइएको उनले तर्क गरे ।
महासंघका केन्द्रीय अध्यक्ष गोल्छाले स्वागत मन्तव्यको क्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले उठाएका समस्यालाई महासंघले पूर्णरुपेण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
देशका सामु विद्यमान उद्योग, व्यापार, व्यवसाय, बैंक, वित्तीय संस्था, कर, राजस्व तथा निजी क्षेत्रसँग प्रत्यक्ष र परोक्ष रूपमा सरोकार राख्ने आर्थिक मुद्दाको चाङछ । ती सबै समस्याको निरुपणका लागि चनाखो भएर महासंघले कार्य सम्पादन गर्ने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले स्वागत मन्तव्यका क्रममा व्यक्तगरे । सुरुदेखि नै महासंघले थाती राखेका मोफसलका उद्यमी, व्यवसायीका स्थानीय समस्या र सरोकारका धुलो लागेका फाइल अब खोली त्यसको अध्ययन र समस्याको निप्टरा गर्नु उनले महासंघलाई सुझाव दिए ।
वीरगन्ज महानगरका नगरप्रमुख विजयकुमार सरावगीले सो कार्यक्रममा बोल्दै वीरगन्ज महानगरपालिकाले पर्सेली अर्थकर्मीका लागि विशेष योजना ल्याएको जिकिर गरे ।






