काठमाडौं । नेपाली कांग्रेसभित्रको नेतृत्व विवाद अब समानान्तर राजनीतिक अभ्यासमा देखिन थालेको छ । शुक्रबार एकै दिन कांग्रेसका दुई समूहले राजधानीका दुई फरक स्थानबाट राजनीतिक शक्ति प्रदर्शन गर्दै आफूहरू नै पार्टीको वैधानिक र वास्तविक प्रतिनिधि भएको दाबी गरेका छन् ।
‘बीपीको विरासतमा आ–आफ्नै डम्फू
सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सभापति गगनकुमार थापाको अध्यक्षतामा केन्द्रीय कार्यसमिति बैठक बस्यो । बैठकले पार्टीलाई विधि र विधानअनुसार अघि बढाउँदै नियमित महाधिवेशन गर्ने र संगठन सुदृढीकरणलाई प्राथमिकता दिने सन्देश दियो ।
यता चुनदेवीमा कार्यालय राखेर सुकेधाराको मिराकल पार्टी भेन्युमा भेला भएको शेरबहादुर देउवा–शेखर कोइराला पक्षले ‘कांग्रेस बचाउ अभियान’मार्फत विशेष महाधिवेशनबाट बनेको थापा नेतृत्वकै वैधानिकतामाथि प्रश्न उठायो । उसले कांग्रेसको संस्थागत निरन्तरता, बीपी कोइरालाको विचार र पुरानो नेतृत्वको विरासत आफ्नोे पक्षमा रहेको दाबी ग¥यो ।
यसरी कांग्रेसभित्रको विवाद अब को सभापति भन्ने प्रश्नमा मात्र सीमित रहेन । पार्टीको आधिकारिकता कससँग छ, महाधिवेशन गर्ने अधिकार कसलाई छ र कांग्रेसलाई कुन राजनीतिक बाटोबाट अघि बढाउने भन्ने दुई धारको संघर्षमा परिणत भएको छ ।
सानेपामा थापा पक्षले परिवर्तन र नयाँ नेतृत्वलाई कांग्रेसको भविष्यसँग जोडेको छ । सुकेधारामा देउवा–कोइराला पक्षले त्यसलाई पार्टीमाथिको ‘कब्जा’ भन्दै संस्थागत निरन्तरता र पुरानो कांग्रेसको विरासतको प्रश्न उठाएको छ ।

सानेपाको सन्देश– कांग्रेस विधिले चल्छ
सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले कांग्रेसलाई विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार अघि बढाउने प्रतिबद्धता दोहो¥यायो ।
सभापति गगन थापाले कांग्रेस कुनै व्यक्ति वा गुटको पेवा नभएको बताए । ‘नेपाली कांग्रेस कुनै व्यक्ति वा गुटको पेवा होइन । हामीले विधि, विधान र लोकतान्त्रिक मूल्यमान्यतालाई शिरोधार्य गरेर अघि बढ्नुपर्छ,’ थापाले भने, ‘सानेपामा बसिरहेको यो बैठक पार्टीलाई नयाँ युगअनुकूल रूपान्तरण गर्ने र समयमै नियमित महाधिवेशन सम्पन्न गरेर जनताको विश्वास जित्ने संकल्पको जग हो ।’
उनले पार्टीभित्रका असन्तुष्टि छलफलबाट समाधान गर्न सकिने भन्दै समानान्तर गतिविधिले पार्टीलाई कमजोर बनाउने बताए । थापा नेतृत्वले आगामी नियमित महाधिवेशनलाई आफ्नो राजनीतिक वैधताको अर्को आधारका रूपमा अघि सारेको छ । पार्टी विधान र कानुनी प्रक्रियाअनुसार महाधिवेशन सम्पन्न गरी संगठनमा नयाँ ऊर्जा भर्ने उसको रणनीति छ ।
उपसभापति विश्वप्रकाश शर्मालगायत नेताहरूले पनि विगतका कमजोरीबाट पाठ सिक्दै पार्टीलाई आम कार्यकर्ता र नागरिकको भावनाअनुसार परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।
सुकेधाराको प्रतिवादः यो कांग्रेसको निरन्तरता होइन
सानेपामा बैठक चलिरहँदा सुकेधारामा देउवा–कोइराला पक्षले त्यसको राजनीतिक प्रतिवाद गरेको छ । पूर्वसभापति शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शशांक कोइराला, नेता शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, विमलेन्द्र निधिलगायत नेताहरू सहभागी राष्ट्रिय भेलाले थापा नेतृत्वमाथि प्रश्न उठायो ।
भेलामा सहभागी नेताले विशेष महाधिवेशनबाट बनेको थापा नेतृत्वले कांग्रेसको संस्थागत निरन्तरता तोडेको आरोप लगाएका छन् । पूर्वउपसभापति पूर्णबहादुर खड्काले देउवाको नेतृत्वमै कांग्रेसमा सम्पूर्ण एकता सम्भव हुने बताए ।
‘देउवाको नेतृत्वमा खतरालाई टार्दै संविधान र देशलाई जोगाउँदै जानुपर्छ,’ खड्काले भने । उनले आफूहरूले नियमित महाधिवेशन गर्न खोजे पनि जबर्जस्ती विशेष महाधिवेशनमा पु¥याइएको दाबी गरे ।
नेता शेखर कोइरालाले पनि सर्वोच्च अदालतको अन्तिम निर्णयपछि कांग्रेस एकढिक्का हुने बताए । पार्टीमा निरंकुशता स्वीकार्य नहुने उनको भनाइ थियो ।
‘पार्टी’bout सर्वोच्चको निर्णय हामीले स्वीका¥यौँ । तर स्वीकार्दा स्वीकार्दै पनि हामीले पुनरावलोकन पनि ग¥यौँ । हामीले अहिले निस्सा पाएका छौँ,’ कोइरालाले भने, ‘न्यायपालिका स्वतन्त्र मात्रै होइन, निष्पक्ष हुनुपर्छ ।’
महाधिवेशन गर्ने अधिकार कसलाई ?
सुकेधारा भेलामा सबैभन्दा स्पष्ट रूपमा उठाइएको प्रश्न आगामी महाधिवेशनसँग जोडिएको छ । नेता विमलेन्द्र निधिले १४औँ महाधिवेशनबाट आएको कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्ने दाबी गरे ।
‘विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिलाई महाधिवेशन गर्ने अधिकार कसले दियो ?’ निधिले प्रश्न गरे । उनले पार्टीका आधिकारिक सभापति अझै देउवा नै भएको दाबी गरे ।
‘लहडमा आधिकारिकता’
कृष्णप्रसाद सिटौलाले निर्वाचन आयोगबाट थापा नेतृत्वलाई दिइएको आधिकारिकतामाथि समेत प्रश्न उठाए । उनले निर्वाचन आयोगका आयुक्तको भूमिकामाथि प्रश्न उठाउँदै थापा नेतृत्वको कार्यसमितिलाई ‘लहडमा’ आधिकारिकता दिइएको आरोप लगाए ।
‘व्यक्तिगत दुश्मनी केही छैन तर गगन भाइलाई सभापति भन्नै मन लाग्दैन,’ सिटौलाले भने । उनले थापालाई आफ्ना गल्ती र कमजोरी स्वीकारेर कांग्रेसलाई एकढिक्का बनाउँदै एउटै बाटोमा हिँड्न आह्वान गरे ।
यसबाट देउवा–कोइराला पक्षको रणनीति केवल थापा नेतृत्वको आलोचनामा सीमित नरही निर्वाचन आयोगको निर्णय र विशेष महाधिवेशनको प्रक्रियालाई नै पुनः प्रश्नको घेरामा ल्याउने देखिन्छ ।
नेता प्रकाशशरण महतले सानेपामा कांग्रेसको झण्डा र पार्टी कार्यालय भए पनि कांग्रेसको वास्तविक राजनीतिक आत्मा सुकेधारा भेलामा रहेको दाबी गरे । ‘अहिले सानेपामा शरीर मात्रै छ, आत्मा यो राष्ट्रिय भेलामा छ,’ महतले भने । उनले विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टी एकता नचाहेको आरोप लगाए ।
‘विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीमा एकता चाहेकै छैन,’ उनले भने, ‘उनीहरू यो राष्ट्रिय भेलामा आएका नेता–कार्यकर्तालाई चाहेका छैनन्, त्यसैले पटक–पटक भएका वार्ता र संवादमा कुरा मिल्न सकेन ।’
कांग्रेसभित्रको पछिल्लो शक्ति संघर्षलाई जेनजी आन्दोलनको घटनाक्रमले थप गहिरो बनाएको हो । आन्दोलनका क्रममा तत्कालीन सभापति शेरबहादुर देउवामाथि उनको निवासमै आक्रमण भएपछि कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको बहस चर्कियो । त्यसपछि विशेष महाधिवेशन हुँदै थापा नेतृत्वको नयाँ कार्यसमिति बनेको थियो ।
विशेष महाधिवेशन, निर्वाचन आयोगको आधिकारिकता र त्यसपछि सर्वोच्च अदालत पुगेको विवादले कांग्रेसलाई दुई राजनीतिक धारमा विभाजित गरेको छ ।
अदालतबाट पुनरावलोकनको निस्सा पाएपछि र उपचारपछि देउवा स्वदेश फर्किएसँगै देउवा पक्ष थप सक्रिय भएको छ । त्यसको परिणाम शुक्रबार सानेपामा नयाँ नेतृत्वको संस्थागत अभ्यास र सुकेधारामा पुरानो नेतृत्वको राजनीतिक शक्ति प्रदर्शनले देखाएको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो : धवलशमशेर
प्रधानमन्त्री र मन्त्रीलाई टि-सर्ट लगाएर संसद्मा आउन रोक लगाइयोस्: एमाले सांसद पोखरेल
यी हुन् नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरु
प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता
अब देशैभर सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको एउटै र निश्चित ढाँचा
साढे पाँच महिनापछि स्वदेश फर्किए देउवा, कांग्रेस नेता कार्यकर्ताद्वारा भव्य स्वागत
कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला आज, देउवाले उद्घाटन गर्ने






