सिन्धुपाल्चोक । जलवायुको परिर्वतनले वातवरणमा असर परिरहेको र नेपाल जस्तो विकासोउन्मुख देशहरुमा यसले प्रभाव पारिरहेको र यसलाई कम गर्ने उपायको खोजीका लागि जिल्ला समन्वय समिति महासंघले दुइ वर्ष अघि सिन्धुपाल्चोकमा प्रथम राष्ट्रिय जलवायु सम्मेलनको आयोजना गरेको थियो । तीन दिनसम्म सञ्चालन भएको जलवायु सम्मेलनमा यस क्षेत्रका विज्ञहरुले कार्यपत्र पेश गर्दे जलवायु अनुकुलनको योजना बनाउन माग गरेका थिए ।
सिन्धुपाल्चोकको गुफाडाँडामा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको समन्वय र जिल्ला समन्वय समिति महासंघको आयोजनामा भएको सम्मेलनपछि जिल्ला समन्वय समितिले हरेक वर्षको जनवरी फस्टलाई जलवायु दिवस मनाउने निर्णय गरेको थियो ।

गतवर्षदेखि सुरु भएको यो दिवस यो वर्ष पनि जनवरी फस्टको अवसरमा प्रथम जलवायु सम्मेलन भएको मेलम्ची नगरपालिका–९ गुफाडाँडामा स्थानीय तहका जनप्रतिनिधि,वातवरण विज्ञ लगायतको सहभागीतामा दोस्रो जलवायु दिवस मनाइएको छ । गुफाडाँडामा ७७ जिल्लाको पहिचान झल्कने गरी नेपालको राष्ट्रिय झण्डा फहराइएको छ ।
सहभागीहरुबाट राष्ट्रिय झण्डा फहराएर सुरु भएको दोस्रो जलवायु दिवसमा सहभागीहरुले जलवायु अनुकुलन नीतिमा सबैभन्दा बढी स्थानीय सरकारले ध्यान दिनुपर्नेमा सबैले जोड दिएका थिए । जलवायु परिवर्तनले गर्दा हिमालमा हिउँ देखिन छाडेको,वातवरणमा व्यापक प्रभाव परेको र जलवायु परिवर्तनकै कारण दैवि विपत्तीका घटनाहरुमा समेत वृद्धि भइरहेको स्थानीय सरकारका प्रमुखहरुले बताएका थिए ।
जलवायु दिवसमा सहभागी स्थानीय सरकारका प्रमुखहरुले अब देखि आफनो स्थानीय तहले योजना बनाउदा जलवायु अनुकुलनको योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति महासंघका केन्द्रीय उपाध्यक्ष सन्तमान तामाङले स्थानीय सरकारहरुले आफ्नो गाउँमा सञ्चालन हुने योजनाहरु अघि बढाउदा वातवरण प्रतिकुल नहुने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए ।

बढ्दो प्राकृतिक प्रकोपको कारण पनि जलवायु परिवर्तनका असर तथा मानविय कारण निम्तिएका समस्या भएको तामाङले बताए । उनले बिश्वब्यापी रुपमा समस्याको रुपमा रहेको जलवायु परिवर्तन र यसका समाधानवारे राजनीतिक ढंङ्गले अन्तराष्ट्रिय समारोहमा नेपालले प्रस्तुत गर्नुपर्ने माग गरे । ७७ जिल्लाको प्रतिकको रुपमा राखिएको नेपालको झण्डाको तोलन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख अमानसिंङ तामाङ र मेलम्ची नगरपालिकाको प्रमुख डम्वर अर्यालले वातावरण अनुकुल भौतिक बिकासमा स्थानीय सरकार सचेत रहेको बताए ।
तीन वर्ष अघि नेपालमा पहिलो पटक राष्ट्रिय जलवायु दिवसवाट पारित दश बुँदे घोषणा पत्रमा उल्लेखित विषयमा तीनै तहका सरकारले ध्यान केन्द्रीत गर्नुपर्ने नेकपाका जिल्ला अध्यक्ष झम्क नेपालले बताए ।
नेपालमै पहिलो पटक सिन्धुपाल्चोकको गुफाडाँडामा जलवायु सम्मेलन गरेर नेपाललाई मात्रै होइन विश्वको नै ध्यानआर्कषण गराउन सफल भएको बताउँदै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले पहिलो जलवायु सम्मेलनबाट पारीत घोषणा पत्र अनुसार काम गर्नुपर्छ । जलवायु सम्मेलनपछि गुफाडाँडा र यस क्षेत्रको विकासको काम पनि सुरु भएको प्रमुख तामाङले बताए ।






