काठमाडौं । प्रत्येक सयमध्ये ९७ जना संक्रमणमुक्त भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुलमध्ये ९७ दशमलव ५१ प्रतिशत संक्रमणमुक्त भएका छन् ।
हालसम्म कुल संक्रमित २ लाख ६४ हजार ५ सय २१ मध्ये २ लाख ५७ हजार ९ सय २८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो केही दिनयता संक्रमणमुक्त संख्या बढ्दै गएको छ । हिजो शनिबार देशभर ६ सय ९९ जना डिस्चार्ज भएका छन् ।
देशभर ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल, देशभर ४ हजार ६ सय ८१ सक्रिय संक्रमित छन् । शनिबार देशभर ४ हजार २ सय ८६ जनाको पीसीआर परीक्षण भएको छ । देशभर हालसम्म पीसीआर परीक्षण हुनेको संख्या १९ लाख ७८ हजार ८ सय ४७ पुगेको छ ।
शनिबार थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै संक्रमित मृतक संख्या १ हजार ९ सय १२ पुगेको छ । हाल, २ सय ६२ क्वारेन्टाइनमा छन् ।
काठमाडौं उपत्यकामा शनिबार थप १ सय ९४ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ सय ५३, भक्तपुरमा १८ र ललितपुरमा २३ संक्रमित भेटिएका हुन् । यससँगै काठमाडौंमा कुल संक्रमित संख्या ९८ हजार ६ सय पुगेको छ ।
त्यस्तै, भक्तपुरमा कुल संक्रमित संख्या ९ हजार ३० रहेको छ । ललितपुरमा कुल संक्रमित संख्या १५ हजार ५ सय २८ छ । देशभर २ सय २४ संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन् । जसअन्तर्गत १ सय ८६ आईसीयू र ३८ भेन्टिलेटरमा छन् ।
प्रदेश १ मा चार आईसीयू र एक भेन्टिलेटरमा छन् । बाग्मती प्रदेशमा ७० आईसीयू र २१ भेन्टिलेटरमा, गण्डकीमा ६२ आईसीयू र सात भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ३७ आईसीयू र सातजना भेन्टिलेटरमा छन् ।
कर्णाली प्रदेशमा ९ आईसीयूमा उपचाररत रहेका छन् । सुदूरपश्चिम प्रदेशमा चार आईसीयू र दुई जना भेन्टिलेटरमा छन् ।
त्यस्तै, देशभर हाल १ हजार ३ सय ८९ कोरोना संक्रमित होम आइसोलेसनमा छन् ।






