काठमाडौं । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । थाइल्यान्डमा शनिबार भएको पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएपछि हारबाट प्रतियोगिताको सुरुवात गरेको हो ।
१ सय ५५ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ५ बलमा १ सय ३२ रनमा अल आउट हुन पुग्यो । नेपाललाई जितका लागि अन्तिम ओभरमा २३ रन चाहिँदा १ रन मात्र जोड्न सक्दा सबै विकेट गुमाउन पुगेको थियो ।
सर्विन मुनियन्डेले कुनै रन नदिई ३ विकेट लिएपछि नेपाल पराजित हुन पुग्यो । ओपनर कुशल मल्ल पहिलो ओभरमै शून्यमा आउट भए । चौथो ओभरमा पूर्वकप्तान पारस खड्का ९ रनमा क्याच आउट भए । खराब सुरुवात गरेको नेपाललाई तेस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५९ बलमा ६७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।
कप्तान ज्ञानेन्द्र ३३ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा आउट भएपछि नेपाल दबाबमा आएको थियो । त्यसपछि दीपेन्द्र पनि ३८ रनमा आउट भएपछि नेपाल समस्यामा परेको थियो । पवन सरार्फ १९ रनमा तथा विनोद भण्डारी ७ आउट भएपछि नेपालको जित टाढिएको थियो । आरिफ शेख ५ रनमा आउट भए । अन्य चार ब्याट्म्यानले दोहोरो अंकमा रन बटुल्न सकेन । सर्विनले ३ ओभर ४ बलमा १३ रन खर्चेर ४ विकेट लिए । पवनदीप सिंह, इजात इर्दुस र खिजार हायतले समान २–२ विकेट लिए ।
त्यसअघि बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । सैयद अजिज ५१ रनमा अविजित रहे । अमिनुदिन राम्लीले २९ रन जोडे । एक समय १४ ओभरमा ८९–५ को कमजोर अवस्थामा रहेको मलेसियालाई अजिज र रम्लीले छैटौं विकेटका लागि ६३ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । अनवार अरुद्नि र कप्तान अहमद फैजले ३८ रनको साझेदारी गरे । अरुदिन ३१ रनमा तथा अहमद फैज ३० रनमा आउट भए । सन्दीप लामिछानेले ३ विकेट लिए । अविनाश बोहोराले २ तथा करण केसीले १ विकेट लिए । नेपालले दोस्रो खेलमा आइतबार हङकङसँग खेल्नेछ ।
सन्दीपको सय विकेट

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले टी–२० क्रिकेटमा करिअरको एक सय विकेट पूरा गरेका छन् । मलेसियाविरुद्धको खेलमा ३ विकेट लिएसँगै सन्दीपले टी–२० करियरमा १०० विकेटको आँकडा पार गरेका हुन् । खेलको तेस्रो ओभरको दोस्रो बलमा ओपनर विरनदीप सिंहलाई क्याच आउट गराउँदै सन्दीपले १ सय विकेट पूरा गरेका हुन् । यही खेलमा उनले थप दुई विकेट लिँदै विकेट संख्या १०२ पु¥याएका छन् ।
यससँगै सन्दीप टी–२० मा एक सय विकेट लिने पहिलो नेपाली बलर पनि बनेका छन् । सन्दीपले यो सफलता ७५ खेलमा पूरा गरेका हुन् ।
सन्दीपले यो ऐतिहासिक उपलब्धि अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग र राष्ट्रिय टोलीबाट गरी हात पारेका हुन् । सन्दीपपछि वसन्त रेग्मीले ४० खेलमा ५३ विकेट लिएका छन् । सन्दीपले आईपीएलमा १३, क्यारेबिन प्रिमियर लिगमा १५, अफगानिस्तान प्रिमियर लिगमा २ विकेट, बिग ब्यास लिगमा २६ र बंगलादेश प्रिमियर लिगमा ४ विकेट लिएका छन् । यस्तै, पाकिस्तान सुपर लिगमा ११ र नेपाली राष्ट्रिय टोलीबाट ३१ विकेट लिएका छन् ।






