प्रिय कमरेड परिवर्तन जी
क्रान्तिकारी लाल सलाम ।
आराम छु आरामै चाहन्छु ।
विशेष कुरा के छ भने, नेपाली क्रान्ति रणनैतिक प्रत्याक्रमणको चरणमा पुग्दा फौजी हिसावले पनि हामी मोर्चाबन्दी युद्धमा अगाडि बढिरहेका छौं । जनमुक्ति सेनाले जहाँ हुन्छ त्यही, जतिबेला हुन्छ त्यतिबेला मोर्चा कसेर लड्ने क्षमता विकास गरिसकेको छ ।
राजनैतिक र फौजी हिसावले पनि संकटमा पर्दै गईराखेको प्रतिक्रियावादी सत्तालाई अझ ठूलो सैन्य धक्का दिने तयारी भइरहेको ’bout अस्तिको भेटघाटमा पनि छलफल भएकै थियो । यो धक्कामुलक फौजी आक्रमणको निम्ति हाम्रो जिल्लाले विशेष कार्यभार पूरा गर्नुपर्ने भएको छ ।

यसक्षेत्रको विशेष डिभिजन र पश्चिम डिभिजन हाम्रो जिल्लामा केन्द्रित भइसकेको छ । हामी सबै व्यवस्थापनमा लागिराखेका छौं । जनमुक्ति सेनाको एउटा फोर्स प्रेमगाउँ(बाफुखोला)मा केन्दित भईरहेको छ । त्यहाँ इन्चार्ज कमरेड शौरभले सम्पूर्ण व्यवस्थापन गरिरहनु भएको छ ।
एउटा फोर्स सन्देशगाउँ (कोटमौला) मा केन्द्रित भइरहेको छ । त्यहाँ सह–इन्चार्ज कमरेड प्रकाण्ड सिंह हुनुहुन्छ । पश्चिम डिभिजनको सबैभन्दा ठूलो फोर्स धनगाउँ (चलचौर) र सूर्यगाउँ (दार्माकोट) र मधुगाउँ (ढाकाडाम) को विभिन्न सेल्टरहरूमा जम्मा भइसकेको छ । यहाँ म आफै व्यवस्थापनमा लागेको छु ।
यसपटकको मोर्चा दुई तीन दिन पनि हुन सक्छ । एक हप्तासम्म भए पनि लड्ने भन्ने स्प्रिट छ । त्यही अनुसार हामी सबै तयारीमा लाग्नु पर्ने भएको छ ।
त्यो एरियाबाट ५० जना जनमिलिसियाको सेलेक्टेड फोर्सलाई भोलि १२ बजेभित्र हितैसीगाउँ (शिवरथ) मोडेल स्कुलको सम्पर्कमा पठाइदिनु होला । यो फोर्सलाई सबै हिसावले आत्मनिर्भर बनाएर पठाउनु होला ।
यो पत्रका साथ हिमाल डोग्राको कमाण्डमा जनमुक्ति सेनाको एउटा कम्पनी पठाइएको छ । यसको सम्पूर्ण व्यवस्थापन तपार्ईंले गर्नुहोला ।
मुख्यगरी सडक ब्लक गर्ने, एकठाऊँ हैन, कैयौं ठाउँमा ब्लक गर्ने योजना बनाउनु होला । २५ गते सदरमुकाममा रातभरी दुश्मनलाई ब्लक गर्ने र निस्कनै नदिने । त्यसपछि सबै बाटाहरू ब्लक गरेर बस्ने योजना बनाउनु ।
अग्ला डाँडाहरूमा पनि साना–साना टुकुडी राखि राख्नुहोला । दुश्मन माथिबाट आयो भने पनि डिस्टर्व गर्नु पर्ने हुन्छ ।
यदि दुश्मन आइहालेछ भने त्यता लड्दै गर्ने ।
एम्बुस, माइनिङ् र फायरिङ गरेर ब्लक गर्दै र यता खबर पनि पठाइहाल्ने गर्नुहोला ।
हिमाल डोग्रासँग व्यवस्थापनको लागि केही खर्च पनि पठाइदिएको छु । जनमुक्ति सेनालाई खानपिनको राम्रो व्यबस्था गर्नुहोला ।
अहिलेलाई यत्ति नै ।
उही डिसिएस अरुण
भण्डारीद्धारा लिखित हालै विमोचित पुस्तक ‘जनयुद्धको हस्ताक्षर’ को एक अंश ।







