नेपालगन्ज । स्टार सिटी युवा क्लब कैलाली र धादिङ समाज धादिङले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शनिबार जित हासिल गरेका छन् । शनिबार नेपालगन्ज रंगशालामा स्टार सिटीले घरेलु टोली धम्बोझीलाई ३–१ ले पराजित गरेको छ । यसैगरी अर्को खेलमा धादिङले प्रदेश नम्बर २ को मनकामना युवा क्लबलाई ३–० ले हरायो ।
लगातार तेस्रो जितसँगै अपराजित रहेको स्टार सिटी लिग अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । स्टारले लगातार तीन खेल खेल्दै ९ अंक जोड्न सफल भएको छ । दुई खेल जितेर ६ अंक जोडेको धादिङ लिगको दोस्रो स्थानमा उक्लिएको छ । धम्बोझी र धादिङको समान ६ अंक भए पनि गोलअन्तरमा धादिङ दोस्रो स्थानमा पुगेको हो ।
लिगमा मनकामनाले लगातार तीन खेल हारेको छ । शनिबार स्टार सिटीको जितमा टोपबहादुर विष्ट, रुपबहादुर लामा र दीपकराज सिंह ठकुरीले गोल गर्दा धम्बोझीका बिसन गुरुङले एक गोल फर्काए । स्टार सिटीका रुपबहादुर लामा म्यान अफ द म्याच घोषित भए । शनिबार भएको दोस्रो खेलमा धादिङको जितमा शिशिर लेखी, विजय भुजेल र र कप्तान रवि भण्डारीले गोल गरे । शिशिर लेखी म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
१५ चैतसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।






