पूरा भएको मेलम्ची सपना

सपनाका कुराझैं लाग्ने सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा आइपुगेपछि काकाकुल अवस्थामा रहेको काठमाडौं सहर अबका केही वर्षसम्म त्यो समस्याबाट मुक्त रहने अपेक्षा गरिएको छ । यसका लागि केपी शर्मा ओली नेतृत्वको सरकार धन्यवादको पात्र छ । यस गौरवपूर्ण समयमा मेलम्ची योजना बुन्ने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पनि सम्झनुपर्छ ।

मेलम्ची आएसँगै पर्याप्त त भन्न सकिँदैन तर आवश्यक पानी काठमाडौंवासीले पाउनेछन् । दुई दशकको अथक प्रयासपछि औपचारिक रूपमा उपत्यकाभित्र मेलम्चीको पानी वितरण सुरु भएको छ । वितरण प्रभावकारी हुन्छ कि हुँदैन भनी यसको परीक्षण सुरुङ, सुन्दरीजल पानी प्रशोधन केन्द्र र चक्रपथमा बिछ्याइएको थोक वितरण पाइपलाइनमा सफलतापूर्वक गरिएपछि सहरका टोलटोलमा निर्मित धारामा पानी पुग्दा स्थानीय जनता खुसी भएका छन् । वास्तवमा पानी जीवन हो । नेपालमा प्रजातन्त्रको पुनस्र्थापनापश्चात् सरकारले सफलताका साथ सम्पन्न गरेका राष्ट्रिय गौरवका आयोजनामा मेलम्ची सायद अग्रपंक्तिमा पर्छ । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको परिकल्पनामा सुरु भएको मेलम्ची खानेपानी आयोजना वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा सम्पन्न हुन पुगेको छ । समयावधिका हिसाबले मेलम्चीको पानी कथा मात्र त बन्दैन भन्ने आशंका पनि जनतामाझ नछाएको होइन तर ढिलै भए पनि यो आयोजना सफल भएकोमा जनता निकै खुसी छन् । पछिल्लो समयमा सरकारले लिएका प्रभावकारी विकास योजनाका कारण मेलम्चीजस्ता अन्य महत्वपूर्ण आयोजनासमेत धमाधम सम्पन्न भइरहेका छन् । यो पनि सारा नेपालीको लागि खुसीको कुरा हो ।

सुरुमा काठमाडौंका जनताका घरघरमा पुग्ने दाबी गरिए पनि वितरण प्रणाली वैज्ञानिक हुन नसकेर हो वा पानीको मात्रा नै कमी भएर हो पानी जनताका घरघरमा पुग्न सकिरहेको छैन । सुरुका दिनमा टोलमा एउटा धारो नियमित रूपमा दिए पनि खानेपानीको समस्या समाधान हुने थियो । तर, त्यसो पनि हुन सकिरहेको छैन । वितरण प्रणालीलाई सुव्यवस्थित बनाउन सकियो भने मेलम्चीको पानीको गौरव अझै बढ्न सक्छ । यसका लागि कुन कुन ठाउँमा कति समयमा पानी वितरण हुँदै छ, त्यसको जानकारी गराउनुपर्छ ।

। कम्तीमा जनताका लागि सूचनाको हक र सरकारका लागि कामकारबाहीको तालिका दुवैका लागि फाइदाजनक नै छन् । अभियानका रूपमा यसलाई अघि बढाएमा थप उत्साह पनि ल्याउने र जनता अन्योलतामा पनि नहुने वातावरण सिर्जना हुने थियो । नेपालका सेवासुविधा सबै बिचौलियाका हातमा रहेका बेला सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा काठमाडौंमा भित्र्याएको पानीमाथि बिचौलियाको हात नपरोस् । यसका लागि समयमै सतर्कता अपनाइनु जरुरी छ ।

राजधानी सहरको जनसंख्या आफंैमा सापेक्षिक सेवासुविधामा रहेमा यसले देशको विकासमा थप टेवा पुग्दछ । नेपालजस्तो अल्पविकसित देशमा हुने गरेको विकासको इन्डिकेटरमध्ये राजधानी कस्तो छ भन्ने कुराले ठूलो महत्व राख्दछ । यसमा पहिलो कुरा त सफा र स्वच्छ पिउने पानी नै हो । दोस्रो सरसफाइ हो । तेस्रो कुरा कृषि तथा औद्योगिक विकासमा पानीको आपूर्ति पनि हो । पानी जत्ति मात्रामा आपूर्ति गर्न सकिन्छ, त्यसले दिने प्रतिफल गुणात्मक रूपमा प्राप्त हुन्छ । त्यसैले, काठमाडौंमा भित्र्याइएको पानीको उचित वितरणमा विशेष ध्यान दिनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

epaper

ताजा समाचार

‘लाली’ हराएको ‘बजार’