लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले ब्राइटनलाई २–१ ले पराजित गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मेसन ग्रिनउड र मार्कस रास्फोर्डले एक–एक गोल गरे । पराजित टोली ब्राइटनका ड्यानी वेलबेकले पहिलो गोल गरेका थिए ।
प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरलाई न्युकासल युनाईटेडले २–२ गोलको बराबरीमा रोकेको छ । सोमबार बिहान भएको अर्को खेलमा साउथह्याम्पटनले बर्न्लेमाथि ३–२ को जित निकाल्दा एस्टन भिल्लाले फुल्हमलाई ३–१ ले हरायो ।
इग्लिस प्रिमियर लिगमा ३१ खेलबाट ७४ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । ३० खेलबाट ६० अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको ५६ अंक छ । ५१ अंक जोडेको चेल्सी चौथो स्थानमा छ भने पाँचौ स्थानको टोटनह्यामको ४९ अंक भएको छ ।






