काठमाडौं । यतिबेला नेपालमा विभिन्न देशका कलाकार आफ्ना लोकनृत्य प्रस्तुत गर्न व्यस्त छन् । एभरेस्ट नेपाल कल्चरल गु्रपको अगुवाइमा शनिबारबाट सुरु भएको १०औं संस्करणको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा विभिन्न देशका कलाकारले यहाँ आफ्ना लोकनृत्य प्रस्तुत गरिरहेका हुन् ।
मेलामा नेपालसहित बंगलादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत, नेपाल, इजरायल, मलेसिया मेक्सिको, श्रीलंका गरी १० देशका कलाकार छन् । उनीहरूले अहिले नेपालका विभिन्न सहरमा आफ्नो लोकनृत्य कला प्रस्तुतिमा व्यस्त छन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले शनिबार १०औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको काठमाडौं, कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन गरे । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मुल नाराका साथ यो मेला सुरु भएको हो । मेलामा नेपालसहित १० देशका दुई सय ५० भन्दा बढी कलाकार सहभागी छन् ।
प्रज्ञा भवनबाट सुरु भएको यो मेला अब पोखरामा आयोजना गरिने भएको छ । पोखरामा मेला सम्पन्न गरेपछि यी सबै कलाकार पुन काठमाडौं फर्किएर ललितपुर र भक्तपुरमा यो मेला आयोजना गर्ने पनि आयोजक संस्थाका अध्यक्ष तथा १०औंै अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला संयोजक रामचन्द्र कोइरालाले बताए ।
शनिबार सम्पन्न मेलाको उद्घाटन समारोहमा ब्रज कला कुञ्जका कलाकारले कुमारी नृत्य प्रस्तुत गरेका थिए । त्यसपछि मेलामा सहभागी सबै देशका कलाकारले आफ्नो देशको लोक सांस्कृतिक नृत्य तथा गीत संगीत प्रस्तुत गरे । नेपालसहित बंगलादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत, नेपाल, इजरायल, मलेसिया मेक्सिको, श्रीलंकाजस्ता मुलुकका लोकगीत संगीत तथा नृत्यले उपराष्ट्रपति पुनसहित कलाप्रेमीको मन जित्यो ।
नेपाल भ्रमण वर्षको अवसर पारेर आयोजना गरिएको यस्तो अन्तर्राष्ट्रिय लोकसंस्कृति महोत्सवले संस्कृति आदन प्रदानमा महत्वपूर्ण भूमिका खेल्ने उपराष्ट्रपति पुनले बताए । यस्तो कार्यक्रमले नेपालका पर्यटन प्रवर्धनमा पनि फाइदा पुग्ने विश्वास उपराष्ट्रपति पुनले व्यक्त गरे ।
‘नेपाली लोकसंस्कृति संरक्षण तथा संबद्र्धन गर्ने प्रमुख उद्देश्यका साथ २२ वर्ष अगाडि स्थापना भएको हामा्रे संस्थाले स्थापना कालदेखि नै लोकसंस्कृति तथा पर्यटकीय विकासमा टेवा पु¥याउने उद्देश्यले आफ्नै मौलिक लोकसंस्कृति झल्कने यस्तो मेला आयोजना गर्दै आएको छ ।’ कार्यक्रममा एभरेस्ट नेपाल कल्चर ग्रुपका अध्यक्ष रामचन्द्र कोइरालाले बताए ।
पर्यटन प्रवद्र्धनको उद्देश्यले भ्रमण वर्ष उत्सवकै रूपमा वर्षभरि मनाउने घोषणा गर्दा कोरोना भाइरस (कोभिड–१९)लगायत विभिन्न कारणले नेपालमा पर्यटक आउन संकोच मानिरहेको अवस्था छ । यस्तो अवस्थामा आयोजित मेलामा सहभागी अन्तर्राष्ट्रिय कलाकारले नेपाल भ्रमण सुरक्षित छ भन्ने सन्देश बोकेर जाने पनि कोइरालाले जिकिर गरे ।
उनले आफूहरूले पर्यटन प्रवद्र्धनका लागि यति ठूलो कार्यक्रम आयोजना गरेको भए तापनि सम्बन्धित निकायले बेवास्ता गरेको गुनासो कार्यक्रममा पोखे ।







