निजामती सेवा विधेयक सर्वमान्य बनाऊ

प्रतिनिधिसभाको पुनस्र्थापना भएपछि निरन्तर चलिरहेको अधिवेशनमा सोमबार पेस भएको संघीय निजामती सेवा विधेयक विवादमा परेको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले संसद्मा पेस गरेको विधेयक सुरुकै अवस्थामा विवादमा आउनुले विधेयक बनाउने क्रममा प्रशस्त छलफल नभएको पुष्टि हुन्छ ।

मुलुक संघीय शासन प्रणालीमा गएको ५ वर्ष बितिसक्दा पनि स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन हाक्ने महत्वपूर्ण कानुन हालसम्म बन्न नसक्नुलाई विडम्बना मान्नुपर्छ । अहिले पनि मुलुकको कर्मचारी प्रशासन २८ वर्षअघि बनेको पुरानो कानुनबाट सञ्चालित छ ।

प्रस्तावित संघीय निजामती सेवा विधेयकमा व्यवस्था गरिएका कतिपय प्रावधानले संघ, प्रदेश र स्थानीय तहबीचकै सम्बन्ध खलबल्याउने र केन्द्रको समन्वयकारी भूमिकामाथि प्रहार गर्ने किसिमको रहेकाले त्यस्तो प्रावधानलाई सच्याउन जरुरी छ ।

प्रशासनका विज्ञहरू पनि निजामती सेवा विधेयक वर्तमान राज्य संरचनाअनुरूप नभएकोमा आपत्ति प्रकट गरिरहेका छन् । विशेषगरी संविधानले गरेको परिकल्पनाअनुसार संघीय निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संविधानअनुकूलका तीन तहका सरकार र त्यहाँ परिचालित कर्मचारीका बीचमा सौहाद्र्रता र समन्वयात्मक सम्बन्ध स्थापनाका लागि विधेयक अपुरो रहेको टीकाटिप्पणी चलिरहेको छ ।

संविधानले तीन तहका सरकारको आपसी समन्वयमा ध्यान दिएको छ । प्रदेश तथा स्थानीय सरकार कार्यकारी अवस्थामा रहने र संघीय सरकारले समन्वयकारी भूमिका निर्वाह गर्ने स्पष्ट आशय संविधानमा छ । यसअनुसार संघीय सरकार समन्वयको भूमिकामा रहने देखिन्छ । यसले प्रदेश तथा स्थानीय सरकारको कामकारबाहीमा समन्वयन गर्ने र आवश्यक सुझाव तथा निर्देशन दिने व्यवस्था रहेको देखिन्छ । त्यसका लागि पनि स्थानीय तह र प्रदेशमा केन्द्रका प्रतिनिधिका रूपमा कर्मचारी रहन जरुरी छ । संविधानमा नै राज्यको सुरक्षा, अन्तर्राष्ट्रिय, बित्तलगायतका मामला भने संघीय सरकारको प्रत्यक्ष नियन्त्रणमा हुने भनिएको छ । यसै प्रावधानअनुसार कानुनतः कर्मचारी विन्यास र परिचालन गरिने अपेक्षा राखिएको पनि छ । तर, यो अपेक्षाअनुरूप संघीय निजामती विधेयक नरहेकाले स्वयं सरकारी पक्षले नै यसमा असन्तुष्टि राखेको देखिन्छ ।

संघीयताको मर्ममाथि प्रहार नगर्ने गरी विधेयक निर्माण र पारित गरिनुपर्नेमा सरकार पनि स्पष्ट छ । हाल अमूर्त रूपमा ‘कतिपय विषय सच्याइनुपर्छ’ भनी आएको कुराले यसको बोध गराउँछ । जसका लागि बनाइएको हो, उनै कर्मचारी पनि यसमा सन्तुष्ट देखिँदैनन् । कर्मचारीको सेवा मूल्यांकन, बढुवाको अवस्था, तीन तहकै सरकारमा कामका लागि समान धारणा तथा सेवामा पहुँचका कुरा कर्मचारीका प्रमुख असन्तुष्टि रहेका छन् । विशेषगरी यो ऐन कर्मचारीमैत्री हुनुपर्छ भने कर्मचारीलाई जनताको सेवामा समर्पित हुने किसिमका प्रावधान पनि राखिनुपर्छ ।

सरकार, तथा कर्मचारीसम्बद्ध विभिन्न ट्रेड युनियनले आलोचना गरिरहेका यो विधेयक सबै हिसाबले समयमै सच्याएर छलफल अघि बढाउँदा परिणाम राम्रो आउन सक्छ । जसले तीनै तहका सरकारी निकायमा सहभागी भएर जनताका लागि सेवा दिने हुन्, उनैले यो विधेयकलाई खुलेरै प्रतिगामी प्रकृतिको भनिसकेपछि यस’bout समय छँदै सोचिनु र समाधानका लागि उपाय खोजिनु जरुरी छ । यसलाई संविधान र संविधानको मर्मअनुरूप लेखिनुपर्छ । कर्मचारीको आशा वृत्ति विकास नै हो । यसैले कर्मचारीमाँझ दण्डित र पुरस्कृत हुने परिपाटी संस्थागत बनाएको हुन्छ । सक्षम कर्मचारीले देश र जनताका लागि सेवा दिन पाउने गरी बढुवाका प्रावधानमा विभेद हुनुहुँदैन । यसैले संघीय निजामती सेवा विधेयक प्रभुत्वकारी होइन, समन्वयकारी बनाइयोस् ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर