कमजोर विकास खर्चमा सुधार गर

चालू आर्थिक वर्षको बजेटमा विनियोजित कुल पुँजीगत विकास खर्चको केवल २९ प्रतिशत मात्र खर्च गरेर सरकारी निकायले बाँकी रकम सदूपयोग गर्न नसक्ने हो कि भन्ने आशंका जन्मन पुगेको छ ।

बजेट कार्यान्वयनका ९ महिनाबितिसक्दा पनि यो अवधिमा कुलविनियोजित बजेटको २९.२२ प्रतिशत मात्र पुँजीगत विकास खर्च हुन आउनुले बजेटको मर्मअनुसार विकासको कर्म हुन नसकिरहेको देखिन आएको छ । यसले सरकारले घोषणा गरेअनुरूप विकास कार्य तीव्र गतिमा अघि बढ्न नसकेको प्रस्ट देखिन्छ । यसमा सरकारको प्रशासनिक निकाय बढी दोषी छ । किनकि, सरकारको नीति योजना कार्यक्रम र बजेटको कार्यान्वयन गर्ने भनेकै प्रशासनिक पक्षले हो । तर, हाम्रो प्रशासन संयन्त्र स्वार्थ र अवससरवादमा नै रुमलिरहन पुग्दा विकास आयोजनाले गति लिन नसकेको हो भने राजनीतिक नेतृत्वले पनि प्रशासनलाई आवश्यकताअनुसार खबरदारी गर्न नसक्दा पनि यस्ता विकास निर्माणका कार्यले गति लिन नसकेका हुन् ।

महालेखा नियन्त्रक कार्यालयले चालू आर्थिक वर्ष २०७७÷७८ को ९ महिने अवधिको ३० चैतसम्म कुल १ खर्ब ३ अर्ब १२ करोड ९४ लाख मात्र पुँजीगत खर्च हुन गएको जनाएपछि विषयको गम्भीरताबाहिर आएको हो । चालू आर्थिक वर्षका लागि सरकारले कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख पुँजीगत खर्च विनियोजन गरेकामा पुँजीगत खर्च १ खर्ब ३ अर्ब १२ करोड ९४ लाख रुपैयाँ मात्र हुन सकेको छ । जुन निकै कमजोर अवस्था हो ।

यस आर्थिक वर्षको पुँजीगत खर्चको लक्ष्य भेट्टाउन अझै २ खर्ब ४९ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । यसको सिधा अर्थ हुन्छ यो लक्ष्य भेट्न अबको तीन महिनामा ७०.७८ प्रतिशत पुँजीगत खर्च गरिसक्नुपर्ने हुन्छ । यसले स्पष्ट रूपमा यो वर्ष पनि असारे विकासको महामारी डरलाग्दो गरी आउने संकेत गरेको छ । असारे विकासका कारण हरेक वर्ष नेपालमा कुनै पनि गुणस्तरीय काम नहुने तर बजेट भने खर्च भएरै छाड्ने गरेको छ । पोहोर साल पनि कोरोना संक्रमण महामारीका कारण विकास बजेट असारे हिलोपहिरोसँगै खर्च भएको थियो ।

यस वर्ष पनि उही विरासत दोहरिने चिन्ताले घर गर्न पुगेको छ । असारे विकासको परम्परा तोड्न र विकास निर्माणका काममा गति दिन पछिल्ला वर्षमा बजेट समयमै निर्माण र विनियोजन गरिए पनि काम कार्यान्वयनमा भने पहिलेकै गति, यति र लय कायमै रहेको देखिन्छ । यो वर्ष कोरोना महामारी संक्रमणको प्रभाव नियन्त्रण भएपछि विकास निर्माणका काममा गति आउने आशा गरिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि विकास निर्माणका काममा आफैंले अनुगमन निरीक्षण गर्ने भनी चासो लिएपछि विगतको असारे परम्परा तोडिने अपेक्षा थियो । हरेक वर्ष हिलो बजेट खर्च गरिने र हतारमा गरिएको खर्चको प्रभावकारितामा पनि मूल्यांकन ढिलाइ हुने, अर्को आर्थिक वर्षको बजेट, योजना र कार्यक्रम आइसक्ने भएकाले पनि असारे खर्च त्यत्तिकै ढिसमिस हुने देखिएको थियो ।

चालू वर्षको बजेट खर्चमा पनि यही कुरा दोहोरिने देखियो । बजेट पहिले बनाएको जस्तो देखाए तापनि दलका नेता तथा विज्ञले दिएका सुझावका आधारमा नयाँ कार्यक्रम योजना बजेट तर्जुमा अन्तिम चरणमा समावेश गरी घोषणा गर्ने प्रवृत्तिले यो समस्या निम्ति नपुगेको अर्थविद्ले बताउने गरेका छन् । यस्तो प्रवृत्तिमा सुधार नआएसम्म बजेट खर्चको असारे प्रवृत्तिले हामीमाँझबाट बिदा लिन सक्ने देखिँदैन । त्यसैले समयमा नै विकासका कार्यक्रम सक्ने गरी सरकारले निकायगत रूपमा उच्च अनुगमन संयन्त्र खडा गरी सोमार्फत विकासका कार्य समयमा नै सम्पन्न गर्ने वातावरण बनाउनुपर्छ । अन्यथा, असारे विकासका कारण मुलुक झन् पछि धकेलिनेछ । अतः कमजोर विकास खर्चमा सुधार अहिलेको प्रमुख आवश्यकता हो ।

तपाइको प्रतिक्रिया
(Visited 429 times, 1 visits today)

epaper

ताजा समाचार

फरक स्वाद, फरक उर्जा: पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा