भेरी अस्पतालका डक्टर भन्छन् : बिरामीले अस्पतालकाे बेड भरियाे, गम्भिरलाई पनि ठाउँ छैन

नेपालगञ्ज । पछिल्लो समय कोरोना संक्रमितको संख्या अत्याधिक बृद्धि भएपछि बाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा बेड अभाव भएको छ । अस्वाभाविक रूपमा कोरोना सक्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पताल कोरोना संक्रमणका गम्भीर प्रकृतिका बिरामीले भरिभराउ भएको छ ।

भेरी अस्पतालमा कोभिडको विरामीका लागि तयार पारेको बेड एउटा पनि खाली नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले जानकारी दिए । भेरी अस्पतालले कोरोना सक्रमित बिरामी उपचारका लागि तयार गरिएको कोभिड वार्डका सबै १४२ बेड भरिएका छन् । अहिले पनि गम्भीर प्रकृतिका बिरामी आउने क्रम नरोकिएकाले आउँदा दिन अझै भयावह हुने सम्भावना बढेको डा. थापाको भनाई छ ।

उनले भने–‘अस्पतालमा गम्भीर प्रकृतिका बिरामी उपचारको लागि आउने क्रम रोकिएको छैन । छुट्टाईएको बेडहरु जम्मै भरी भराउ छ । हामी निरिह भएर टुुलुटुलु हेर्न मात्रै सकेका छौ ।’ उनले संक्रमितको संख्या बढेसंगै बिकल्प र जनशक्ति थप गर्नको लागि लामो समयदेखि संबन्धित निकायको ध्यानाकर्षण गराउदै आएको बताए ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पताल कोरोनाका बिरामीले भरिभराउ भएकाले अक्सिजनको मात्रा कम भएका बिरामीलाई समेत भर्ना लिन नसक्ने अवस्था रहेको बताए ।

उनले सक्रमण रोकथाम र सक्रमण गम्भीर प्रकृतिका बिरामीलाई उपचार व्यवस्था मिलाउन सबैले आ–आफ्नो स्थानबाट सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरे । उनले भने–‘ संक्रमितको संख्या बढेको बढेई छ । बेड र जनशक्ति थोरै छ । तर पनि हामीले विरामीको ज्यान जोगाउन लागि परेका छौ । सबै क्षेत्रबाट सहयोग हुन आवश्यक छ ।’

कोरोना सक्रमणका बिरामीको उपचार गर्दै आएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका फिजिसियन डा आसिम किदवाइले अस्पतालमा बेड अभाव भएकाले बिरामीलाई भर्ना गर्न नसकिने अवस्थामा पुगेको बताए ।

उनले अहिले पनि शिक्षण अस्पतालमा तीन गम्भीर प्रकृतिका बिरामीले आइसीयू बेड पर्खेर बसेको जानकारी दिँदै कोभिडका बिरामी राख्ने वार्ड समयमै नबनाउँदा अहिले स्थिति नियन्त्रण बाहिर गएको उनकोे दाबी छ । कोरोना सक्रमितका बिरामीको उपचारमा निरन्तर खटिएका स्वास्थ्यकर्मी हेर्दा हेर्दै स्थिति नियन्त्रण बाहिर जाँदा चिन्तित छन् ।

भेरी अस्पतालका फिजिसियन डा खगेन्द्रजङ्ग शाहले अहिले लक्षणसहितका सक्रमित त्यसमा पनि अक्सिजन चाहिनेहरु बढी रहेको बताए । उनले परिवारका एक सदस्यलाई सक्रमण पुष्टि भए अहिले प्राय सबैमा सक्रमण देखिएको पाईएको जानकारी दिए ।

बाँकेका कोभिड सक्रमण व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज ओलीले निरन्तर सक्रमितको सङ्या बढिरहेकाले अस्पतालमा बेड थप्ने र अक्सिजनको व्यवस्थापनमा सबैको ध्यान र सहयोग केन्द्रित गर्न जरुरी रहेको बताए ।

बाँकेमा उपचारको क्रममा ज्यान गुमाउने पुगे १७०

कोरोना संक्रमणका कारण उपचारको क्रममा बाँकेका बिभिन्न अस्पतालमा ज्यान गुमाउनेको संख्या १ सय ७० पुगेको छ । कोरोना संक्रमणका कारण बाहिर जिल्लाबाट रिफर भई आएर उपचारको क्रममा ज्यान गुमाउने एक सय पुगेका छन ।

जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना संक्रमणको कारण ज्यान गुमाउनेहरुमा बाँकेका मात्र ७० छन, बाँकी कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा बाँके बाहिरका १ सय पुगेका छन् । बाँकेमा शुक्रबार कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

करिब १६ सय सक्रिय संक्रमित नेपालगन्जमा मात्र

नियमित संक्रमितको संख्यामा बृद्धि भएपछि नेपालगन्ज उपमहानगर क्षेत्रमा एक साताको लागि लकडाउन आव्हान गरीएको छ । लकडाउनको दोस्रो दिन नेपालगन्जका पसल बजार बन्द रहे पनि अत्यावस्यक सेवा भने सुचारु रहेका थिए ।

नेपालगन्जमा शुक्रबारसम्म संक्रिय संक्रमितको संख्या करिव १ हजार ६ सय रहेको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 504 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ