काठमाडौं । नेपालमा पहिलोपटक हुन लागेको खुकुरी नेपाल सुपर लिग (एनएसएल) को विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । एनएसएल सुरु हुनु एक दिनअघि पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट्स म्यानेजमेन्टले विजेताको पुरस्कार राशि घोषणा गरेको हो ।
यस्तै दोस्रो हुने टोलीले १५ लाख रुपैयाँ पाउने भएको छ । एनएलएलका हरेक विधा उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले समान १ लाख रुपैयाँ प्राप्त गर्ने एनएसएलका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले जानकारी दिए । हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, लिग चरणका सबै खेलमा ‘ए’ श्रेणी र विदेशी खेलाडीबाहेकका एक जनालाई उदीयमान खेलाडी घोषित गर्दै १० हजार रुपैयाँ प्रदान गरिनेछ । कोरोना महामारीका कारण दर्शकबिना दशरथ रंगशालामा एनएसएल खेलाइने यसअघि नै आयोजकले जनाएको छ । उद्घाटन खेल शनिबार साढे ५ बजे काठमाडांै रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
एनएसएलमा ७ टोलीको सहभागिता रहनेछ । सहभागी टोली अन्तिम तयारीमा जुटिसकेका छन् । एनएसएलमा धनगढी एफसी, विराटनगर सिटी एफसी, काठमाडौै रेजर्स, बुटबल लुम्बिनी एफसी, चितवन एफसी, पोखरा थन्डर्स र ललितपुर सिटी एफसी छन् । ७ टोलीको सहभागितामा सुरु हुने देशको पहिलो फ्रेन्चाई लिग एनएसएल १ जेठसम्म चल्नेछ । उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
धनगढीसँग किया, सगरमाथा र एस–आयल
खुकुरी नेपाल सुपर लिग (एनएसएल) सुरु हुन एक दिनअघि शुक्रबार धनगढी एफसीले एकै दिन एक मुख्य प्रायोजकसहित दुई सह–प्रायोजकसँग सहकार्य गरेका छन् । त्यसमा किया मोट्र्स मुख्य प्रायोजक तथा सगरमाथा सिमेन्ट र एस–आयल सेभेन रहेका छन् ।
धनगढीको मुख्य प्रायोजकका रूपमा किया मोट्र्सको साथ मिलेको छ । यससँगै जर्सीको अघिल्लो भागमा किया मोटर्सको लोगो अंकित हुनेछ । यस्तै सगरमाथा सिमेन्ट र एस–आयल सेभनसँग शुक्रबार सहप्रायोजकका रूपमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा धनगढी एफसीका अध्यक्ष सुवास शाही तथा सगरमाथा सिमेन्टको उत्पादक कम्पनी घोराही सिमेन्ट इन्डिष्ट्रिजका मार्केटिङ प्रमुख प्रतीक अधिकारी तथा एस–आयल नेपालको आधिकारिक विक्रेता त्रिशूल अटोमोबाइल्सका अध्यक्ष दीलिप भट्टराईले हस्ताक्षर गरे । दुवै कम्पनीले एक वर्षका लागि सम्झौता भएको हो । धनगढीले विराटनगर सिटी फुटबल क्लबविरुद्ध आइतबार पहिलो खेल खेल्दै एनएसएलको यात्रा थाल्नेछ । धनगढीको आइकोनिक प्लेयरका रूपमा राष्ट्रिय टोलीका कप्तानसमेत रहेका गोलकिपर किरण चेम्जोङ हुन् ।
एनएसएलमा उनले धनगढीको कप्तानी पनि गर्नेछन् । गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको धनगढी एफसीले राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई ‘मार्की खेलाडी’ का रूपमा आबद्ध गरेको थियो । आइकोनिक, मार्की, अक्सनबाट १४, दुई विदेशी र २ स्थानीय खेलाडी गरी धनगढीमा २० खेलाडी रहेका छन् ।
टोलीका मुख्य प्रशिक्षकका रूपमा नाइजेरियाली तोपे फुजा र प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वफरवार्ड समेत रहेका युगल किशोर राई छन् । ७ टोलीको सहभागितामा दशरथ रंगशालामा शनिबार सुरु हुने घरेलु फुटबलको पहिलो फ्रेन्चाईज लिग जेठ १ गतेसम्म सञ्चालन हुनेछ ।






