सप्तरीमा २२ जनाको परिक्षण गर्दा १५ संक्रमित

सप्तरी, राजविराज । सप्तरीमा आइतबार परिक्षण गरिएका २२ मध्ये १५ जना कोरोना संक्रमित फेला परेका छन् ।
यसरी फेला परेका मध्ये एकै टोलका ११ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।

११ संक्रमित डाक्नेश्वर नगरपालिका ३ तरहीका रहेका छन् । ती एघारै जना चार परिवारका छिमेकी रहेको उनले जानकारी दिए । आइतबार फेला परेका अन्य संक्रमितहरु विष्णुपुर गाउँपालिका, राजविराज नगरपालिका, हनुमानगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक एक जना रहेका छन् । यसरी फेला परेका संक्रमित मध्ये ९ जना पुरुष र ६ जना महिला छन् ।

ती मध्ये जटिल अवस्थाका एक जनालाई गजेन्द्र नारायण सिंह अस्पतालकै आइसोलेशनमा तथा अन्य संक्रमितलाई होमआइसोलेशनमा पठाइएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले बताए । योसँगै एक महिना यता कोरोनाबाट संक्रमित हुनेको संख्या जिल्लामा २७ पुगेको छ ।

यता कोरोना रोकथाम तथा नियन्त्रणका लागि सप्तरीमा मास्क खोइ ! अभियान आइतबारदेखी सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र शसस्त्र प्रहरी बलले संयुक्त रुपमा सो अभियान सुरु गरेका हुन् । अभियान अन्तर्गत आइतबार सप्तरी सदरमुकाम राजविराज, रुपनी, बिरेन्द्र बजार, रुपनगरमा माक्स नलगाई हिड्ने सर्वसाधारण तथा सवारी चालकलाई सचेत गराउँदै माक्स वितरण गरिएको छ ।

माक्स नलगाई हिंड्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गरिने भन्दै सचेत गराइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिएका छन् । सोमबारदेखी भने अभियानलाई अझ कडाई गर्दै मास्क नलगाई हिड््नेलाई एक महिना जेल र एक सय रुपैयासम्म जरिवाना हुन सक्ने समेत व्यवस्था गर्न लागिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

epaper

ताजा समाचार

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना