अक्सिजनलाई अत्यावश्यक प्राथमिकतामा राख

कोरोना महामारीको दोस्रो लहर गम्भीर रूपमा जनमानसका बीच गहिरिँदै गएपछि अस्पतालमा संक्रमितको भीड लाग्न थालेको छ । बिरामीको भीड लागेसँगै महामारी संक्रमित बिरामीका लागि अत्यावश्यक मानिएको अक्सिजनको अभाव हुन गएको छ । बिरामीले आवश्यकताअनुसार अक्सिजन पाउन सकिरहेका छैनन् । यसले संक्रमितलाई झनै ठूलो र गम्भीर समस्या पारिरहेको छ ।

स्वास्थ्य बजारमा सिलिन्डरसमेत अभाव हुन थालेपछि यसले सबैलाई चिन्तित बनाएको छ । नेपालमा अक्सिजन सिलिन्डर आयात गरिन्छ । सिलिन्डर अभाव हुन थालेपछि सिलिन्डर मगाउनका लागि कूटनीतिक प्रयासलाई अघि बढाएको स्वास्थ्य विभागले जानकारी दिए पनि बेडमा भर्ना भएका बिरामीका लागि तत्काल अक्सिजन आवश्यक भइरहेको छ । मुख्य कुरा त नेपालमा सिलिन्डर बन्दैन । यसले स्वास्थ्य क्षेत्रमा निकै अप्ठ्यारो र जटिल अवस्था सिर्जना गरिदिएको छ । एक त बजारमा अक्सिजनको समस्या सिर्जना हुन गएको छ, अर्कोतिर बजारमा रहेका सिलिन्डर किनेर घरमा राखिन थालिएको छ । यसले घुँडामाथि पिलो थपको समस्या सिर्जना गरिदिएको छ ।

अर्कोतिर सीमा नाकाबाट सिलिन्डर भारत भित्रिइरहेको छ । दैनिकजसो सिलिन्डर भारत भित्रन थालेपछि यसले नेपालमा झन् समस्या थपिरहेको छ । यसमाथि जनताले पनि अक्सिजन किनेर घरघरमा राख्न थालेकाले असामान्य र जटिल अवस्थामा ज्यान बचाउन प्रयोग हुने अक्सिजन बजारमा भेटिन छाडिसकेको छ । सरकार र सरकारी निकायले सिलिन्डर देशबाहिर नपठाउन कडाइ गरे पनि अक्सिजन सिलिन्डर हराउन भने छाडेको छैन । स्वास्थ्य मन्त्रालयले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट रहेको भनिरहेको छ तर ती प्लान्टबाट अक्सिजन भरेर बिरामीकहाँ पु¥याउन सिलिन्डरको अभाव छ । हाल देशमा रहेका प्लान्ट दैनिक २ हजार ५ सय ४९ सिलिन्डरमा अक्सिजन भर्न सक्ने क्षमताका छन् ।

यसका साथै निजी क्षेत्रले पनि प्रतिदिन ७ देखि ८ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएका छन् । यसमा थप केही अस्पतालमा त लिक्विड अक्सिजन टयांक छन् । हालको तथ्यांकअनुसार देशभरका स्वास्थ्य संस्थामा ६ देखि ७ हजार सिलिन्डर रहेका छन् ।

सरकारले गरेको तयारीअनुसार देशभरका २३ अस्पतालमा पहिलो र दोस्रो चरण गरी १ हजार शøयाका एचडीयू तयार भएर सञ्चालनमा आइसक्नुपर्ने भए पनि ती तयारी हालतमा छैनन् । लगानी खर्चका हिसाबले २५ शøयाको एचडीयू सञ्चालनमा ल्याउन ३ करोड १२ लाख रुपैयाँ लाग्छ । सरकारले प्राथमिकतामा राखेका वीर अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, धुलिखेल अस्पताल, नरदेवी अस्पताल, मानसिक अस्पताललगायतका अस्पतालमा एचडीयू सञ्चालनमा आउन सकिरहेका छैनन् । तर, ती अस्पतालले यी सेवा छिट्टै सञ्चालनमा ल्याउन पहल गरिरहेको बताएका छन् । यस विषयमा सम्बन्धित सबै पक्ष र सरोकार समूह लागिपरेका छन्, तथापि अस्पतालमा आवश्यक अक्सिजनको मात्रा पुगिरहेको छैन । राजधानी सहरका अस्पतालमा हालत यति गम्भीर भएपछि काठमाडौंबाहिरका अस्पतालमा अक्सिजन अभाव त अनुमान गरिएभन्दा पनि बढी हुन सक्छ । जिल्लामा त केन्द्रबाट पठाएमा मात्र हो, नत्र उक्त सुविधा छैन । देशव्यापी रूपमा बढिरहेको कोरोनाको दोस्रो लहर प्रभावित उपचारका लागि अक्सिजनलाई पहिलो प्राथमिकतामा राखिनु जरुरी छ । यसका लागि अक्सिजन सिलिन्डर देश बाहिर लैजाने र देशभित्र पनि घरघरमै किनेर स्टोर गर्ने प्रक्रियालाई बन्द गर्न सचेतनाको अभियान चलाउनुका साथै प्रशासनिक अनुगमन र निरीक्षण पनि जरुरी छ । अन्यथा अक्सिजनको अभावले भोलि झनै जटिल रूप लिने र अकल्पनीय अवस्थाको सामना गर्नुपर्ने हुन सक्छ । त्यस्तो अवस्था आउन नदिआंै ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

epaper

ताजा समाचार

फरक स्वाद, फरक उर्जा: पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा