भाट–भटेनीको जात्रा

काठमाडौं विशालनर हाँडीगाउँस्थित प्रसिद्ध भाट–भटेनीको मन्दिर रहेको छ । प्राचीन र व्यवस्थित सहरका रूपमा परिचित विशाल नगर लिच्छविकालीन पुराताŒिवक एवं ऐतिहासिक प्रमाणिकता बोकेको सहर हो । यहाँ अनेकौं देवीदेवताका मन्दिर, शिलापत्रलगायत प्रशस्त अभिलेख पाइन्छ । कुनै कालखण्डमा यस सहरमा मानगृह, भद्रधिवास, कैलाशकुट भवनजस्ता भव्य दरबार रहेको प्रमाण उत्खननबाट पुष्टि भइसकेको छ ।

यस्तो महत्वपूर्ण सहरमा परापूर्वकालमा एक भट्ट दम्पति रहन्थे । ती भट्ट–भट्टेनी ब्राह्मण दम्पतीलाई त्यसबेलाका नेवारले भात–भतेनी भन्न थाले । नेपाल भाषामा भात–भतेनी भनेको लोग्ने–स्वास्नी हो । भात–भतेनीलाई भाट–भटेनी भन्न थालिएको हो । भटेनीलाई नेवारले मोप्ता अजिमाका रूपमा मान्दै आइरहेका छन् भने अन्य जातिकाले यिनलाई ममतामयी देवीका रूपमा मान्दै आइरहेका छन । यस मोप्ता अजिमालाई पूर्व जन्मको तपस्याबाट साक्षात विष्णुरुपी छोरा यस जन्ममा प्राप्त भएको थियो । आफ्नै घरमा डेरा गरी बसेका व्यक्तिले आफ्नै गरगहना सुरक्षित राख्न दिएका थिए । पछि उक्त गहना गरिबीका कारण भाट–भटेनी दम्पतीले बेचेर मासेकाले फिर्ता दिन सकेनन्् । त्यसपछि ती व्यक्तिले आफ्नो नासो फिर्ता नपाएपछि श्राप दिन्छन् कि मेरो नासो फिर्ता नगर्ने यी दम्पतीको धरतीमा वास नहोस् । यसरी श्रापित भएपछि भट्ट दम्पति आकाशमा झुन्डिएर बस्नुपरेको हो भनिन्छ ।

नेपाल भाषामा भात–भतेनी भनेको लोग्ने–स्वास्नी हो, भात–भतेनीलाई पछि आएर भाट–भटेनी भन्न थालिएको हो

अर्को किंवदन्तीअनुसार यी भट्ट र भट्टेनी दम्पतीले अघिल्लो जन्ममा नै विष्णुलाई आफ्नो छोराका रूपमा प्राप्त गर्न सक्ने वरदान पाएका रहेछन् । त्यसैअनुरूप यी दम्पतीको कोखबाट भगवान् नारायणले जन्म लिन आएका हुन् भनिन्छ । आफ्नो पुत्रका रूपमा जन्मिएका विष्णु भगवान्को चाकरी गरी बसिरहेको थिए । एकदिन अचानक कताकताबाट गरुड आएर ती छोरालाई च्यापेर आकाशमार्ग उडाएर लगेछ । ती भट्ट दम्पती पनि शक्तिशाली थिए, तान्त्रिक शक्ति पनि भएका तिनीले आकाश मार्गमा उडेर गई आफ्ना छोरा फिर्ता ल्याउन खोज्दा छोराले आफू विष्णु भगवान् भएको र तिमीले मागेको वरदान पूरा गर्न मात्र जन्म लिन आएको, आफू विष्णु भएकोले उनीको छोरा भएर बसिरहन नसक्ने र नमिल्ने कुरा भने ।

त्यसपछि त्यस विष्णुरुपी छोराले ती दम्पतीलाई आकाश चारिणी देवीदेवताका रूपमा सबैले पूजा गर्नेछन् भनेकाले ती भट्ट– भट्टेनीलाई भाट–भटेनीका रूपमा पुज्न थालेका हुन भनिन्छ । अन्तरिक्षमा चाहार्ने भूत, प्रेत र पिशाचले कोही कसैका बालबालिकालाई सताएमा वा दुःख दिएमा भाट–भटेनीको पूजा आराधना गर्नाले ती भूतप्रेत पिशाचको प्रकोप हट्छ भन्ने जनविश्वास रही आएको छ । हालसम्म पनि यी आकाशमा झुन्डिएका भाट–भटेनी देवीदेवतालाई साक्षात विष्णु र लक्ष्मीका रूपमा पूजाआजा गर्ने चलन छ ।

अर्को किम्बदन्तीअनुसार यी मोप्ता अजिमा भाट–भटेनीमाईलाई कुनै व्यक्तिले राख्न दिएको नासो यी दम्पतीले गरिबीको कारण बेचेका हुँदा सो नासो फिर्ता दिन नसक्दा ती व्यक्तिको सराप लागी एउटा चिलले यी दम्पतीका बच्चा अपहरण गरी लगेका थिए । तर, यी दम्पती दैवीशक्ति प्राप्त भएको हुनाले आकाश मार्गमा गडेर गई चिलको पिछा गर्दै आफ्नो बच्चा फर्काएर ल्याउन सफल भएका थिए । त्यसपछि चिलले विष्णुका रूपमा दर्शन दिँदा यी दम्पतीलाई जन्म र मृत्युको चक्करबाट मुक्त हुने वरदान दिनुका साथै बच्चाको संरक्षण गर्नुपर्ने जिम्मेवारी सुम्पेर अन्तर पनि हुन्छ ।

स्वयम्भूस्थित हारती अजिमा जस्तै यस भाट– भटेनी मन्दिरमा पनि आफ्ना बालबालिकाको स्वास्थ्य र उज्वल भविष्यको कामना गर्दै पूजाआजा गर्ने गरिन्छ

अर्को किंवदन्तीअनुसार टुँडालदेवीले चिलका रूपमा ती दम्पतीको बच्चा लुकाई दिएपछि ती दम्पतीले विछोडको पीडा सहन नसकी आत्महत्या गरेर मर्छन् । तब टुँडालदेवीलाई दया लागेर ती दम्पतीलाई पुनर्जीवन दिनु भएपछि यी दम्पतीलाई बच्चाको संरक्षण गर्ने जिम्मेवारी दिई ममता अजिमाका रूपमा प्रख्यात होस् भन्ने वरदान दिएका थिए भनिन्छ । स्वयम्भूस्थित हारती अजिमा जस्तै यस भाट–भटेनी मन्दिरमा पनि आफ्ना बालबालिकाको स्वास्थ्य र उज्वल भविष्यको कामना गर्दै पूजाआजा गर्ने गर्छन् ।

टुँडालदेवी, भाट–भटेनी र महामाजु देवीको रथ यात्रा चैत्र पूर्णिमाका दिन गरिन्छ । चैत्र पूर्णिमाको भोलिपल्ट हाँडीगाउँको गहना पोखरीमा गहना खोज्ने भनी टुँडाल देवीको जात्रा पोखरीमा तीनपटक घुमाएर गरिन्छ । पोखरीबाहिर पट्टिबाट टुँडाल देवीको छोरी मांखचाको खट तीनपटक घुमाएर जात्रा गरिन्छ ।

किंवदन्तीअनुसार टुँडालदेवी नाठोसँग लागिरहेको देखेर छोरी रिसाएपछि छोरीलाई फकाउन जाँदा पोखरीमा हराएको गहना खोज्ने क्रमको सन्दर्भमा हरेक वर्ष चैत्र कृष्ण प्रतिपदाका दिन हाँडीगाउँमा गहना खोज्ने जात्रा मनाइँदै आइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,374 times, 1 visits today)

epaper

ताजा समाचार

फरक स्वाद, फरक उर्जा: पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा