काठमाडौं । नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा अभिनेता सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । यो अवार्डका १९ वटा सर्ट फिल्म सहभागी थिए । जसमध्ये ८ वटा सर्ट फिल्म अवार्डमा चयन भएको कार्यक्रम निर्देशक एवं नेपाल चलचित्र संयोजक समाजका उपाध्यक्ष राजु अधिकारीले बताएका छन् ।
अभिनेता सरोज खनालले पहिलोपटक निर्देशनमै यो अवार्ड जितेका छन् । यस्तै प्रतियोगितामा उत्कृष्ट सर्ट फिल्मको अवार्ड तेजेन्द्रप्रसाद कँडेल निर्देशित देशमाथिले जितेको छ ।
स्टार वान इन्टरनेटमेन्ट र विलक्षण क्रियनसले आयोजना गरेको नेपाल सर्ट फिल्म प्रतियोगितामा सर्वोत्कृष्ट कथाको अवार्ड आरती अधिकारी आचार्यले चलचित्र लकडाउनबाट, सर्वोत्कृष्ट कथा (डायस्पोरा)बाट पुरु राईले चलचित्र सहाराबाट, सर्वोत्कृष्ट खल पात्रको अवार्ड कलाकार तुलसीप्रसाद श्रेष्ठले चलचित्र नसाबाट, सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड अभिनेता शेखर खनालले चलचित्र धूर्त काजीबाट हासिल गरेका छन् । यस्तै सर्वोत्कृष्ट नवनायकको अवार्ड सुरज पोखरेलले चलचित्र हाम्रो नाताबाट, सर्वोत्कृष्ट नायकको अवार्ड अभिनेता धु्रवदत्तले चलचित्र सहाराबाट, सर्वोत्कृष्ट नवनिर्देशकको अवार्ड निर्देशक आशुतोष अधिकारीले चलचित्र हाम्रो नाताबाट हासिल गरे ।
अवार्ड समारोहमा निर्देशकतर्फको जुरी अवार्ड केडी प्रशितलाई चलचित्र मेरो भगवानबाट प्रदान गरियो । यस्तै सर्ट फिल्म निर्देशकको इनकरेजमेन्ट अवार्ड अमीर बरालले चलचित्र ज्यान जाने पिरिमबाट प्राप्त गरे । अवार्ड विजेतालाई पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्री, अभिनेता रविन्द्र खड्का, रमेश बुढाथोकी, नवल खड्कालगायतले एक समारोहबीच अवार्ड प्रदान गरेका थिए ।






