देशको राजधानी सहर काठमाडौंमा अवस्थित एक मात्र विद्युतीय शवदाह गृह बन्द हुँदा आर्यघाटको अवस्था झनै कारुणिक बन्न पुगेको छ । आर्यघाट देशकै र समस्त हिन्दूको सबैभन्दा ठूलो र पवित्र घाट मानिन्छ । आर्यघाटमा राजघाट र साधारण घाट गरी दुवै ठाउँमा मृत आत्माको चिरशान्तिका लागि अन्तिम श्रद्धाञ्जली गरिन्छ । यसका साथै यहीँबाट शव ब्रह्मनालमा राखी अन्त्येष्टि साकार पारिन्छ । मानिसले जन्म लिनु, जिउनु र मृत्यु हुनु जीवनका सबैभन्दा ठूला संस्कार हुन् । यीमध्ये जीवनको शेषपछिको अन्तिम संस्कार वा दाहसंस्कार आर्यघाटमा गरिनु सबैका लागि परम सन्तोषको कुरो पनि हो । जीवनसँगै मृत्यु पनि साथमा आएको हुन्छ । मृत्यु टार्न सकिने कुरो होइन । बरु यो अनिवार्य गुज्रनु र भोग्नुपर्ने कुरो हो । तर, कोभिड–१९ जस्तो महामारीको आगमन र यसका विभिन्न लहर फैलने क्रमसँगै आर्यघाटमा राजघाट, साधारणघाट र विद्युतीयघाट गरी तीन भिन्न किसिमका घाट प्रयोगमा रहँदै आएका भए पनि पछिल्लो समयमा विद्युतीय शवदाह गृह बिग्रन पुगेपछि बाग्मतीको किनारमा खुला वातावरणमै कोरोना संक्रमित मृतकको शव जलाउने कार्य सुरु भएको छ । यो आफंैमा कोरोना नियन्त्रण र रोकथामका लागि आचारसंहिता र स्थापित मापदण्डकोे उल्लंघन हो ।
कोरोना महामारी संक्रमितको शव विद्युतीय शवदाह गृहमा सुरक्षित साथ जलाउने गरिएको थियो । तर, विद्युतीय शवदाह गृह बिग्रन पुग्दा यसले बाग्मतीको किनारमा कोरोेना संक्रमित शव खुलै जलाउने बाध्यात्मक अवस्थाको सिर्जना गरेको छ । अन्त्येष्टि आफैंमा दुःख र समवेदनाको कुरा हो । तर, पनि विद्युतीय शवदाह गृह बन्द हुनुका कारण आर्यघाटको दुःखमय वातावरण अझ बढी समवेदित हुन पुगेको छ । त्यसमा पनि कोरोना संक्रमित शवको खुला अन्त्येष्टिले कतै काठमाडौंको जनजीवन भयावह बनाउने त होइन भन्ने आशंका र चर्चालाई ठाउँ दिएको छ । अहिलेसम्म कोरोना संक्रमित नाबालकको शव माटोमुनि गाड्ने र वयस्कको विद्युतीय शवदाह गृहमा जलाउने गरिँदै आएको थियो । तर, शवदाह गृह बिग्रन पुग्दा यसले नसोचेको संकट र समस्या एकै साथ सिर्जना गर्न पुगेको छ । यो समस्या समाधानका लागि सरकार र सम्बन्धित पक्ष सबैले समयमै इमर्जेन्सी प्रयत्न गर्नु जरुरी छ । शवदाह गृहमा प्राविधिक समस्या आइपर्नु अनौठो कुरो पनि होइन । यो दैविक प्रकोप वा प्रकृतिजन्य तथा पार लगाइनसक्नुको समस्या पनि होइन । यो कृत्रिम, मानव निर्मित र प्राविधिक समस्या हो । यसको निदान र समाधान सम्भव छ । त्यसैले पनि सरकारले पनि बिना ढिलाइ अभिभावकीय पहल लिनु जरुरी छ ।
त्यसो त कोरोनाको दोस्रो लहरले मानिसलाई भयाक्रान्त बनाएको छ । संक्रमणले बढी संख्यामा च्याप्दै लगिरहेको पनि छ । पोहोर सालको पहिलो लहरभन्दा बढी भयानक पनि देखा परिरहेको छ । यसलाई पचाउन सक्ने नेपालीको विद्यमान रोग प्रतिरोधात्मक क्षमतामाथि दोस्रो लहरले गम्भीर आक्रमण पनि गर्दै गइरहेको छ । बालबालिका पनि यो रोगबाट बढी संक्रमित हुँदै र हताहती हुँदै गइरहेका छन् । दीर्घरोगी बूढाबूढी कमजोर र अशक्त यसको निशानामा छन् । पहिले फोक्सो र श्वासप्रश्वास असर पु¥याउँदै आएको कोरोना संक्रमणको तुलनामा यो दोस्रो लहरले कलेजो र मृर्गाैलामा पनि आक्रमण गर्न थालेको स्वास्थ्यविद्ले पनि स्वीकार गरेका छन् । यो भयानक महामारीलाई रोक्न विद्युतीय शवदाह गृहको विस्तार हुनुपर्ने बेलामा भएको एउटा पनि बन्द हुन जाँदा यसले आर्यघाटको समवेदित वातावरणलाई बढी कारुणिक बनाउन पुगेको छ ।






