वीरगन्ज । साढे ६ घण्टामा ४ जनाको निधन भई मृत्युदर तीव्र बन्न थालेको पर्सामा नयाँ संक्रमित थपिने क्रम पनि उत्तिकै बढ्दो दरमा छ । पछिल्लो रिपोर्टअनुसार वीरगन्ज महानगरपालिकाकी उपप्रमुख ८८ वर्षीया शान्ति कार्की पनि संक्रमित भएकी छन् । १ सय ९२ जनाको स्वास्थ्य परीक्षण गराइएको नारायणी अस्पतालमा उपप्रमुख कार्कीसहित १ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो ।
परीक्षण गराएकामध्ये संक्रमण पुष्टि ७८.६४ प्रतिशत भएको नारायणी अस्पतालले जनाएको छ । यो हालसम्म परीक्षण गराएकामध्य उच्च संक्रमण दर भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले बताए ।
परीक्षण गराएकामध्ये ९५ पुरुष र ५६ जना महिला संक्रमित छन् । उनीहरूको उमेर समूह ६ वर्षदेखि ८८ वर्षसम्म छ । ८८ वर्षको उमेर समूहमा वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की रहेको बुझिएको छ । संक्रमितको सिटी भ्यालु १४ देखि ३४.९ सम्म रहेको अस्पतालले जनाएको छ । उपप्रमुख कार्कीको भने सिटी भ्यालु २८ माथि रहेको उनका स्वकीय सचिव विजय पौडेलले बताए । पर्साबाहेक बाराका ३०, सर्लाहीका ७, रौतहटका ५ जना संक्रमित थपिएको नारायणी अस्पतालले जनाएको छ ।






