ओली ४२औं प्रधामन्त्री

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले तेस्रोपटक पद तथा गोपनीयताको शपथ लिएका छन् । २४ असोज २०७२ मा पहिलोपटक देशको कार्यकारी प्रमुख बनेका ओली कम्युनिस्ट घटक दलबाट धेरैपटक प्रधानमन्त्री बन्ने पहिलो नेता हुन् ।

रक्षा आफैंसँग राखे, पुरानैलाई निरन्तरता

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त ओलीलाई शुक्रबार विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ गराएकी हुन् । राष्ट्रपति भण्डारीले बिहीबार राति संविधानको धारा ७६ (३) को व्यवस्थाअनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेताको हैसियतमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

यसअघि, ४१औं प्रधानमन्त्रीका रूपमा ३ फागुन २०७४ मा संविधानको धारा ७६ (२) अनुसार उनी नियुक्त भएका थिए । त्यसबखत प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यका रूपमा उनले शपथ लिएका थिए ।

तर, उनलाई त्यसबखत समर्थन गरेका माओवादी केन्द्र र अन्य दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले गत २७ वैशाखमा प्रतिनिधि सभामा विश्वासको मत लिएका थिए । तर, विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतीय आधारमा नयाँ सरकार गठनका लागि दललाई तीन दिनको समय दिएर आह्वान गरेकी थिइन् । समयसीमा बिहीबार राति ९ बजे सकिएको थियो ।

समयसीमाभित्र प्रतिनिधि सभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत पु¥याउन नसकेपछि राष्ट्रपति भण्डारीले संसद्मा सबैभन्दा बढी सदस्य रहेको संसदीय दल नेताको हैसियतमा ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित भए ।

रक्षा मन्त्रालय आफैंसँग
प्रधानमन्त्री ओलीले यसअघिको कार्यकालजस्तै रक्षा मन्त्रालय आफैंसँग राखेका छन् । ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उपप्रधानमन्त्री बनाएका छन् । अन्य मन्त्रीमा रामबहादुर थापा गृहमन्त्री, टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, विष्णुप्रसाद पौडेल अर्थमन्त्री, प्रदीपकुमार ज्ञवाली परराष्ट्रमन्त्री, हुदयेश त्रिपाठी स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएका छन् ।

त्यस्तै, लेखराज भट्ट उद्योग, वाणिजय तथा आपूर्ति, कृष्णगोपाल श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि, प्रभु शाह सहरी विकास, भानुभक्त ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनाएका छन् ।

यसैगरी, मणिचन्द्र थापा खानेपानी, पद्माकुमारी अर्याल कृषि तथा पशुपक्षी विकास, वसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात, गौरीशंकर चौधरी श्रम रोजगार तथा सामाजिक सुरक्षा, पार्वत गुरुङ सञ्चार तथा सूचना प्रविधि, शिवमाया तुम्बाहाङफे भूमि व्यवस्था सहरी तथा गरिबी निवारण, लिलानाथ श्रेष्ठ कानुन न्याय तथा संसदीय मामिला, गणेशसिंह ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएका छन् ।

ओलीले प्रेमबहादुर आले वन तथा वातावरण, जुली कुमारी महतो महिला बालबालिका तथा ज्येष्ठ नागरिक, दावा लामा तामाङ युवा तथा खेलकुद, नवराज रावत स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री, विमला विक उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी दिएका छन् । उनीहरूमध्ये कसैको पनि यसअघिको कार्यकालको जिम्मेवारी हेरफेर र थपघट गरिएको छैन ।

प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री ओलीले कोरोना महामारीका बेला सबै राजनीतिक दल एकजुट भएर नियन्त्रणमा लाग्न आह्वान गरेका छन् ।

प्रधानमन्त्रीको शपथ लिएपछि शुक्रबार पदभार ग्रहण गर्न सिंहदरबार पुगेका ओलीले आफू संविधान र कानुनअनुसार लोकतान्त्रिक प्रक्रियामा अगाडि बढिरहेको पनि बताएका छन् । सरकारलाई प्रतिगमनमा गएको देख्नेले मुलुकलाई अस्थिरतामा गएको देख्न चाहेको उनले उल्लेख गरे ।

यतिबेला पनि केही अस्थिरता चाहनेले मुलुकमा शान्ति देख्न नचाहने तत्व लोकतान्त्रिक मूल्य मान्यताअनुसार संविधान र कानुनबमोजिम देश चल्ने कुरालाई आफ्ना स्वार्थमा जिद्दी गर्ने र देशमा प्रतिगमन उल्लेख गर्ने गरेको पाइएको उनले जनाए ।

‘आफूले सरकार बनाउन नसक्नु प्रतिगमन, अरूले सरकार बनाउनु प्रतिगमन, यस्तो तथाकथित नक्कली क्रान्तिकारी चस्माबाट हेर्छन् र अहिले पनि जनतालाई भ्रममा पार्न खोजिरहेका छन्,’ उनले थपे ।

तपाइको प्रतिक्रिया
(Visited 340 times, 1 visits today)

epaper

ताजा समाचार

राति १० बजेसम्म मात्रै बल्ने धनगढीका सडक बत्ती