आमा तिमी संवेदना
भगवान अनि बास्ना हौ
माया, ममताको खानी हौ
सुख्खा जमिननजिकको झरना हौ
आमा तिमी
रुँदै गरेको बालकको मातृत्व हौ ।
त्याग, तपस्या अनि सेवा हौ
आँखाको नानी, कोइलीको आवाज हौ
कलम, कापी र किताब हौ
आमा तिमी
संगीतको खुल्ला विश्वविद्यालय हौ ।
मन्दिर, मन्त्र, गीतको भण्डार हौ ।
आत्माको भगवान हौ
भगवानको साक्षी पात्र हौ
आमा तिमी
जीवनको हवन अनि पूजा हौ ।
सिन्दुर, चुरा, अनि पोते हौ
चुरा लगाउने दरिला हात हौ
बालकका घाउँको औषधि हौ
आमा तिमी
सृष्टिको अभिन्न अंग हौ ।
चौबिस कोटी देवीदेवता हौ
पिरचिन्ता अनि सम्झना हौ
तातोमा चिसो, चिसोमा तातो
अनि,
आमा तिमी
खुल्ला आकाश
पृथ्वी–धर्ती, घरको धुरी हौ
सृष्टिकै सुन्दरतम्
प्रतीक हौ ।
जीवनको मार्गदर्शक
अँध्यारोमा उज्यालो
सन्तानका लागि
आफै रेटिन सक्ने
मेटिइन सक्ने
आमा तिमी
धैर्यशील महाशक्तिको
उपमा हौ ।
विभेद्ले कुनै अर्थ राख्दैन
आमा तिमी
समानताकी रानी हौ ।







