पोखरा । भीषण वर्षापछि पहिरो खसेर घर पुरिँदा पोखराका विभिन्न ठाउँमा गरी ५ जनाको ज्यान गएको छ । पहिरोमा १ जना बेपत्ता छन् ।
पोखरा २०, भलामका कृष्ण श्रेष्ठको घर गएराति पहिरोमा पुरिँदा उनीसहित श्रीमतीको ज्यान गएको छ । कृष्ण ४५ वर्षका थिए । त्यस्तै उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको पनि पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनायो । पहिरोमा उनका ३ वर्षीय छोरा सन्तोष बेपत्ता छन् । यस्तै ८ वर्षीय अर्का छोरा राजकुमार श्रेष्ठको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सुनमायाको घटनास्थलमै र कृष्णको उपचारक्रममा ज्यान गएको हो ।
यसैगरी, पोखरा २० भलामको मुलाबारी देउरालीमा घर भत्किँदा २९ वर्षीया विष्णु सार्की र उनका ८ वर्षीय छोरा सन्तोषको मृत्यु भएको छ । उनीहरु शव बिहीबार दिउँसोमात्र निकालिएको थियो ।
यता, पोखरा–११ भञ्ज्याङ नमुना टोलमा ४२ वर्षीय लक्षण सार्कीको पहिरोमा पुरिएर मृत्यु भएको छ । पहिरोमा पुरिएका उनको उद्धार गरी मणिपाल शिक्षण अस्पताल लगिएकोमा उपचार क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जनाए । उनका १४ वर्षीया छोरी सृष्टि घाइते छन् ।
प्रहरीका अनुसार पोखरा–११, काँहुमा पहिराले घर पुरिँदा एकैघरका तीन जना घाइते भएका छन् । स्थानीय एकदेव तिमिल्सिनाको घर पुुरिँदा उनीसहित श्रीमती ऋतुु, छोरा गिरीश घाइते भएका हुन् ।
पोखरा २० भलामको महेन्द्र मावि सहित ८ घरमा आंशिक क्षति पुगेको वडा अध्यक्ष सिम गुरुङले जानकारी दिए । उनका अनुसार पूर्ण क्षति भएका ५ घरका परिवारलाई आफन्तको लगिएको छ । भने आंशिक क्षति भएका घरमा मानिसको स्थानान्तरण गरिएको छैन ।
पोखरा ६ बैदाममा शिव पौडेलको घरमा बाढीले क्षति पुगेको छ । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित स्थानीय खटिएका थिए ।
बुधबार बेलुकी भीषण वर्षाका कारण पोखरा र यस आसपासका क्षेत्रमा पहिलो गएको हो । पोखरामा बिहीबार दिनभर जसो पनि भीषण वर्षा भएको छ ।






