काठमाडौ । चाडपर्वका समयमा व्यापारीहरुले कालोबजारी गरि सर्वसाधारण नागरिकलाई दैनिक उपभोग्य वस्तुमा ठगी गर्ने प्रवृत्तिलाई पुर्णरुपमा निरुत्साहित गर्न सरकारले संयुक्त बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ ।
साथै बैठकले विगत वर्षहरुमा झै यसवर्षको प्रमुख चाडपर्वमा पनि अत्यावश्यक उपभोग्य वस्तुहरु सहज तथा सर्वसुलभ रुपमा उपलब्ध गराउनका लागि आगामी २०७८ साल १ असोज देखि सुपथ मूल्यपसल सञ्चालन गर्ने निर्णय गरेको छ । १ असोज देखि शुरु भई छठ पर्व पछिको एक हप्ता सम्म सञ्चालन हुने सुपथ मूल्य पसलको व्यवस्थापनको जिम्मेवारी उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई दिइएको छ ।
मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा आइतबार बसेको केन्द्रिय अनुगमन तथा मूल्याङ्कन समितिको ५७ औ बैठकले नजिकिदै गरेको नेपालीहरुको महान चाडपर्व दशै तिहार र छठलाई समेत लक्षित गरि त्यस्तो निर्णय गरेको हो ।
विभिन्न सरोकारवाला मन्त्रालयका सचिव लगायत उच्च पदाधिकारीहरु सम्मिलित सो बैठकले चाडपर्व तथा अन्य समयमा समेत संयुक्त बजार अनुगमनलाई व्यवस्थित गर्न उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्रालयले अन्य निकायको समन्वयमा १५ दिनभित्र कार्ययोजना बनाई पेश गर्ने निर्णय गरेको छ । अहिले बजारमा कतिपय व्यापारीहरुले मनलाग्दी रुपमा विभिन्न उपभोग्य वस्तुको बढि मूल्यदर कायम गर्दै उपभोक्तालाई ठगी गर्दै आइरहेका छन् । त्यसरी ठगी गर्नेलाई ठाउका ठाउ कारवाही गर्न नागरिकस्तरबाट माग हुदै आएको छ । सर्वसाधारण जनतालाई दैनिक उपभोग्य वस्तुहरु सुलभ मूल्यमा समयमा नै उपलब्ध गराउने उद्धेश्यले सर्वसाधारणको सोही माग अनुसार नै बजारको संयुक्त अनुगमन गर्नका लागि आवश्यक कार्ययोजना बनाउने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्ण बहादुर राउतले जानकारी दिए ।
बैठकले चाडपर्वलाई लक्षित गरि सार्वजनिक यातायातको भाडा दर, यात्रुसिट क्षमताका आधारमा अनलाइन टिकेटिङ र कोभिड सम्वन्धि स्वास्थ्य मापदण्डको पालना गरि गराई नागकिरलाई सहज यात्राको व्यवस्थापन गर्ने निर्णय गरेको छ । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी मार्फत आवश्यक व्यवस्थापन गर्नआवश्यक जिम्मेवारी दिइएको छ । यसैगरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुद्रा तहका व्यवसायीलाई खोप लगाउने सूचीमा प्राथमिकता दिने निर्णय भएको प्रवक्ता राउतले जानकारी दिए ।






