जनकपुरधाम । केहीदिन अघि घरकै छेउमा राति पिसाब गर्न निस्केका एकजना वृद्धलाई आफ्नै ज्वाइँले गोली हानेको रहस्य खुलेको छ । गोली प्रहारबाट गम्भीर घाइते भएका महोत्तरीको मनरासिसवा नगरपालिका ३ बस्ने ६२ वर्षीय सहदेवप्रसाद यादवको होस आएपछि उनले नै प्रहरीलाई जानकारी दिएका छन् ।
फागुन १८ गते विहान २ बजे घर बाहिर पिसाव गर्न निस्कँदा उनीमाथि गोली प्रहार भएको थियो । दायाँ कोखमा गोली लागि गम्भीर घाइते यादवलाई जनकपुरधामस्थित जानकी हेल्थकेयर अस्पतालमा भर्ना गरी उपचार भइरहेकोे छ । पाँचदिन हस्पिटलको आइसीयू कक्षमा राखेर उपचार गरिएपछि उनको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । उनलाई अस्पतालको नर्मल वार्डमा राखेर उपचार भइरहेको छ ।
उपचारमै रहेका घाइते यादवले आफूलाई आफ्ना कान्छो ज्वाइँ महोत्तरीको औरही नगरपालिका १ का सन्तोष यादवले गोली प्रहार गरेको बताएका छन् । ‘मध्यरातमा पिसाब फेर्न उठेको थिएँ । श्रीमती पनि मसँगै उठेकी थिइन् । मैले मोबाइलमा टर्च बालेको थिएँ । घर बाहिर निस्किँदा ३ जनालाई देवालको भित्तामा लुकेको देखेँ । एकजना मेरै ज्वाइँ थियो । हेर्ने बितिकै मोबाइलको उज्यालोमाथि २ गोली प्रहार गर्यो । एउटा गोली छेउबाट गयो । अर्को मेरो कोखमा लाग्यो । म ढलेँ’ घाइते यादवल भने ।
जाडरक्सी सेवन गरी पटक पटक रुपैयाँ पैसा ऋण माग्ने र नदिँदा छोरीलाई कुटपिट यातना दिएको कारण ज्वाँइसँग सम्बन्ध चिसिएको घाइते यादवको भनाइ छ ।
‘७र८ महिना अघि ५ लाख रुपैयाँ खोजी दिन भनेका थिए । मसँग पैसा थिएन । अरुसँग दिलाइ दिन खोज्दा पनि उपाय भएन । त्यसपछि पटक पटक फोन गरी तथानाम गाली, धम्की दियो । मैले पनि केहि कुरा भने । त्यहि बेलादेखि ममाथि दुस्मनी साँध्दै आएका थिए’, यादवले भने, ‘ज्वाँइ पहिलादेखि नै बदमास छन् । अन्तमा मलाई हत्या नै गर्न खोजे । भगवानको कृपाले बाचेँ । उनीमाथि कडा कारबही हुनुपर्छ ।’
घाइते यादवका २ छोरा वैदेशिक रोजगारीमा खाडी मूलुकमा छन् । उनका दुई बुहारीसमेत घरमा नभएको बेला गोली प्रहार भएको थियो । यादव अवकाश प्राप्त शिक्षक हुन् । यादवमाथि गोली प्रहार गर्ने उनका ज्वाइँ सन्तोष यादवलाई प्रहरीले प्रक्राउ गरेको छ । घटना भएकै दिन साँझ उनलाई पक्राउ गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।
नायव उपरीक्षक बुढाथोकीले भने ‘ससुरा ज्वाइँमा पैसा लेनदेनकै विवादको कारण गोली प्रहार भएको अहिलेसम्मको अनुसन्धानले खुलेको छ । थप अनुसन्धान भइरहेको छ ।’ ससुरा पक्षले ज्वाइँ सन्तोषलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीमा किटानी जाहेरी दर्ता गाएको छ । घटनाको भोलिपल्ट घाइते यादवका भाइले ज्वाइँमाथि किटानी जाहेरी दर्ता गराएकोे प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए ।






