काठमाडौं । आईसीसी वुमन्स टी–२० विश्वकप एसिया छनोट अघि बंगलादेश भ्रमणमा रहेको नेपाली महिला टोलीले सिरिज आफ्नो पक्षमा पारेको छ । बंगलादेश भ्रमणमा रहेको नेपाली महिला टोलीले बंगलादेशको क्रिरा शिक्षा प्रतिष्ठान (बीकेएसपी)सँगको तीन टी–२० अभ्यास सिरिज २–१ ले आफ्नो पक्षमा पारेको हो ।
अन्तिम तथा तेस्रो खेलमा नेपाली महिला टोलीले बीकेएसपीलाई ७ विकेटले हरायो । जितका लागि ५३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपाली महिला टोलीले १४ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । ओपनर काजल श्रेष्ठले १० रन जोडिन् । उपकप्तान सीता राना मगर र इन्दु बर्माले समान ५–५ रन जोडिन् । सरिता मगर १३ र कविता जोशी १४ रनमा अविजित रहिन् । बीकेएसपीकी रबिया खातुनले दुई विकेट लिइन् । त्यसअघि ढाकामा बीकेएसपीले टस जितेर पहिला ब्याटिङ गर्दा १६ ओभर ५ बलमा ५३ रनमा अल आउट हुन पुग्यो ।
बोयना १७ रनमा अविजित रहिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर लिसा ८, दीक्षा ७ र दीपा ६ रनमा आउट भइन् । कप्तान रुविना क्षेत्री बेलवासेले ३ ओभरमा ६ रन खर्चेर ४ विकेट लिइन् । रुविना खेलको प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज चुनिइन् । करुणा भण्डारीले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । कविता कुँवर र सीता मगरले समान १–१ विकेट हात पारिन् । पहिलो खेलमा नेपालले २४ रनको जित निकालेको थियो । दोस्रो खेलमा ५ विकेटले पराजित भएको थियो ।
अब नेपाली महिला टोली कतार जाने छ । नेपाली टोलीले कात्तिक ३०, मंसिर १ र २ गते (नोभेम्बर १६, १७ र १८)मा कतारसँग तीन टी–२० आई सिरिज खेल्ने छ । त्यसपछि नेपाली टोली मंसिर ३ मा यूएईतर्फ लाग्ने छ । एसिया छनोट मंसिर ६ देखि १२ सम्म (नोभेम्बर २२ देखि २८)सम्म हुने छ । लसन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकप नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् ।
छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ राष्ट्र सहभागी छन् । नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्ने छ । त्यसको भोलिपल्ट मंसिर ७ गते भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते यूएईसँग प्रतिस्पर्धा गर्ने छ । एसिया छनोटको विजेताले २०२२ मा हुने ग्लोबल छनोटमा स्थान बनाउने छन् । नेपाल यसको प्रमुख दाबेदार हो ।






