नेपाली महिला क्रिकेट टोलीलाई ऐतिहासिक सिरिज

काठमाडौ । नेपाली महिला क्रिकेट टोलीले कतारसँगको तीन डब्लू टी–२० आई सिरिजमा लगातार दोस्रो जित निकालेको छ । नेपालले दोस्रो खेलमा कतारलाई ६१ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको हो । नेपाली महिला टोलीले पहिलोपटक सिरिज खेलेको हो ।

नेपालले पहिले ब्याटिङ गर्दै १ सय ३० रनको विजयी लक्ष्य दिएको थियो । कतार १९ ओभर ३ बलमा ६८ रनमा अल आउट हुन पुगेको थियो । कतारकी कप्तान आयशाले ३२ बलमा २ चौकासहित सर्वाधिक २४ रन जोडेकी थिइन् । केरी पाउनसेटले १५ रन जोडिन् । एक समय १७–४ को खराब सुरुवात गरेको कतारलाई पाँचौं विकेटका लागि आयशा र केरीले ३४ रनको साझेदारी गरेका थिए । पहिलो खेलमा नेपालसँग २७ रनमा अल आउट भएको कतारले दोस्रो खेलमा भने सुधारिएको ब्याटिङ गरेको थियो ।

नेपालकी मध्यगतिकी बलर सरस्वतीकुमारी चौधरीले ८ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन् । रुविनाले २ विकेट लिइन् । सबनम राई, संगिता राई र कविता जोशीले १–१ विकेट लिए ।

त्यसअघि वेस्ट इन्ड पार्क इन्टरनेसल क्रिकेट स्टेडियम दोहामा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २९ रन जोड्यो । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले ४८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रनमा आउट भइन् । रुविना नेपालबाट महिला टी–२० आईमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । कतारसँग पहिलो खेलमा इन्दु बर्माले ५५ रनको इनिङ खेल्दै पहिलो खेलाडीको कीर्तिमान राखेकी थिइन् ।

युवा अलराउन्डर कविता कुँवरले ३० बलमा २ छक्कासहित ३१ रनमा आउट भइन् । कतारकी एन्जेलिन मारेले तेस्रो ओभरको पाँचौं बलमा एलिना खानबाट ओपनर ज्योति पाण्डेलाई ६ रनमा क्याच आउट गराएकी थिइन् । मारेले नै पाँचौं ओभरको दोस्रो बलमा काजल श्रेष्ठलाई ३ रनमा बोल्ड आउट गरेकी थिइन् । तेस्रो विकेटका लागि कविता र रुविनाले ५६ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए ।

११औं ओभरको चौथो बलमा सब्जिना पणायनाले कवितालाई क्याच गराउँदै साझेदारी तोडेकी थिइन् । एलिना खानले सरिता मगरलाई ४ रनमा आउट गरिन् । डली भट्ट शून्यमा रन आउट भएकी थिइन् । अप्सरी बेगम १७ बलमा १ चौकासहित २३ रनमा अविजित रहिन् ।

कतारकी एन्जेलिन मारेले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिइन् । एलिना खान, साची धडवाल र सबिजा पणायनाले १–१ विकेट लिए । पहिलो खेलमा नेपालले कतारलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले अन्तिम खेल बिहीबार खेल्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 282 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री शाहले देशवासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ