सर्लाहीको बलरामा कांग्रेस अधिवेशनमा मन्त्रीका अंगरक्षकले गोली चलाएपछि…


जनकपुरधाम । सर्लाहीको बलरामा प्रदेश २ का एक मन्त्रीको अंगरक्षकले गोली चलाएपछि केही घण्टा सो स्थलमा तनाव उत्पन्न भएको छ । बलरामा नेपाली कांग्रेसको वडा अधिवेशन भइरेको बेला विवाद हुँदा गोली चलेको हो । प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले गोली चलाएका हुन् । विवादका कारण बलराको २ वटा वडाको अधिवेशन रोकिएको छ । विवादका कारण बलराको ८ र ९ नम्बर वडाको अधिवेशन रोकिएको छ । यी दुई वडामा जिल्लाका नेताहरुसँग बसेर आवश्यक छलफलपछि अधिवेशन गराउने निर्वाचन अधिकृत भरत राउतले राजधानीलाई बताए ।

बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनको छलफलको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री सिंह पुगेका थिए । उनले वडामा असन्तुष्टि जनाएपछि दुई पक्षबीच विवाद बढेको थियोे । जारी विवादकै क्रममा मन्त्रीका अंगरक्षकले हवाई फायर खोलेको सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले स्वीकार गरेका छन ।

दुई पक्षबीचमा झडप हुने स्थिति आएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएका थिए । अहिले बलराको अवस्था सामान्य भइसकेको छ । निर्वाचन अधिकृत राउतले भने, ‘विवादपछि बलराको दुई वडाको मतदान अधिकृतलाई सुरक्षा निकायले सुरक्षित तरिकाले सदरमुकाम मलंगवा ल्याएका छन् ।’ ११ वडा रहेको बलरामा अन्य ५ वडामा सहमति भएको छ भने ४ वडामा छलफल चलिनै रहेको छ । यी ४ वडामा सहमति नभए निर्वाचन गराउने तयारी छ ।

यसअघि गत शनिबार मलंगवास्थित पार्टी कार्यालयमा पनि दुई पक्षबीच विवाद हुँदा मन्त्रीका अंगरक्षकले अर्का पक्षका नेता बलिराम झा र विनोद खनालमाथि पेस्तोल ताकेको आरोप कांग्रेस नेता झाले लगाएका छन् ।

निर्वाचन अधिकृतको रूपमा सर्लाही आइपुगेका अधिवक्ता भरत राउतको रोहबरमा जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय समूहबीच शुक्रवार छलफल चलेको थियो ।

दुवै पक्षबीच भएको छलफलबाट १२ मंसिरमा वडा अधिवेशन, प्रदेशस्तरीय अधिवेशन सरेमा १४ गते पालिका अधिवेशन र प्रदेश अधिवेशन नसरेमा सोही दिन पालिकास्तरीय अधिवेशन स्थगित गरी प्रदेश सभास्तरीय अधिवेशन गर्ने सहमति भएको थियो ।
छलफलले १५ गते क्षेत्रीय अधिवेशन र १७ गते शुक्रबार जिल्ला अधिवेशन गर्नेसमेत सहमति गरेको निर्वाचन अधिकृत राउतले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 295 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड