मुम्बई । दुई सातापछि प्रदर्शनमा आउने भनिएको बलिउड फिल्म ‘सूर्यवंशी’को प्रचारप्रसार रोक्न निर्माण पक्षले एजेन्सीलाई सूचना पठाएको छ । विश्वमा फैलँदै गएको कोरोना भाइसरको प्रभाव भारतमा पनि देखिएको छ । त्यहाँ कोरोना संक्रमितको संख्या ६० नाघेपछि केही प्रदेशमा सिनेमा हल बन्द छन् । यसै क्रममा यो वर्षकै महँगो बजेटको मानिएको सोे चलचित्र रिलिज अनिश्चित कालका लागि रोकिने भएको छ ।
‘कोरोनाको प्रभाव र त्रास भारतमा पनि फैलिएको छ । यस्तो अवस्थामा हामी फिल्म सूर्यवंशीलाई अब कुन मितिमा रिलिज गर्ने भनेर एक÷दुई दिनमै निर्णय गर्दै छौं ।’ फिल्म निर्देशक रोहित सेठ्ठीले बुधबार बताए ।
हलमा सोे फिल्मको टे«ेलर बजिरहेका बेला अब यो फिल्मको ट्रेलर बजाउने कि नबजाउने भन्ने अन्योलमा हल सञ्चालक छन् । भारतका केरला, जम्मु र काश्मीर प्रदेशका सिनेमा घर तीन दिनअघिबाटै प्रदेश सरकारले बन्द गराएको छ ।
ती प्रदेशका कोरोना भाइरसको संक्रमण बढेपछि हल पनि बन्द गरिएको हो । महाराष्ट्र, दिल्ली, राजस्थान, पञ्जाबलगायत राज्यका मुख्यमन्त्रीले सभा, सम्मेलन, जमघटमा रोक लगाएका छन् । त्यहाँका सिनेमा हलमा पनि दर्शक घटेको छ । यस्ता थुप्रै कारणले फिल्म सूर्यवंशीको रिलिज रोकिने भएको छ ।
यसअघि निर्माण भएको सिम्बा, सिंघमको मल्टी सिक्वेल फिल्मका रूपमा सूर्यवंशी निर्माण गरिएको हो । यस चलचित्रमा अक्षय कुमार, अजय देवगन, रणवीर सिंहजस्ता तीन स्टार कलाकारसँगै कैटरिना कैफको मुख्य भूमिका छ ।
निर्देशक रोहित सेट्ठीको अनुसार भारका महानगरका मल्टिप्लेक्स सिनेमा हलमा सुरुको पहिलो साता यो फिल्म २४ सै घन्टा प्रदर्शन गर्ने योजना थियो । तर कोरोनाका कारण सिनेमा हलमा एकाएक दर्शक घटेका छन् । सोही कारण यो फिल्मको रिलिज कहिले गर्ने भन्ने छलफलमा आफूहरू रहेको र एक÷दुई दिनमै फिल्म रिलिजको नयाँ मिति घोषणा गर्ने निर्माता निर्देशक रोहितले बताएका छन् ।







