उपमेयरसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाग्लुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्का र सोही नगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष धु्रवबहादुर केसीसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । खड्का राप्रपाबाट विजयी उपमेयर हुन् । 

बाग्लुङ नगरपालिकामा निर्माणाधीन बसपार्कमा काम नभए पनि काम भएको भन्दै गलतप्रतिवेदन दिएर भुक्तानी गरी ५ लाख ९० हजार रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । 

अख्तियारले नगरपालिकाका प्राविधिक प्रमुख सीडीई दयाराम अधिकारी, सबइन्जिनियर घनश्याम रिजाल, इन्जिनियर मनोज शर्मा तथा दावगरा बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारी, कोषाध्यक्ष भीमकुमारी आचार्य र सचिव गुणनिधि शर्माविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

उनीहरू सबैले मिलेमतोमा नै फिल्डमा नभए नगरेका काम लागत अनुमानमा भन्दा केही आईटममा नापी किताबमा अस्वभाविक रूपमा परिमाण परिवर्तन गरेको, फिल्डमा नभएको तथा कम काम भएकोमा बढी काम भएको भनी नापी किताबमा मूल्यांकन गरी चढाएको तथा कार्यसम्पन्न प्रतिवेदनसमेत तयार गरी भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ । 

अख्तियारका अनुसार दावगरा बसपार्क निर्माण योजनामा बागलुङ नगरपालिका–४ का वडाध्यक्ष केसीले वडाबाट अनुगमन प्रतिवेदन सन्तोषजनक रूपमा सम्पन्न भएको भनी र नगर उपप्रमुख सुरेन्द्र खड्का (संयोजक) र इन्जिनियर मनोज शर्मा सदस्य सचिव भएको समितिबाट फिल्डमा भए गरेको कामहरू वास्तविक रूपमा भए नभएको यकिन गरी अनुगमन प्रतिवेदन तयार गर्ने तथा सिफारिस गर्ने जिम्मेवारीविपरीत तोकिएको कार्यसम्पन्न भएको भनी विभिन्न कामहरूको परिमाणसमेत उल्लेख गरी प्रतिवेदन दिएको तथा फरफारकका लागि सिफारिससमेत गरी अनियमितता गरेका थिए । 

यस्तै, निर्माण उपभोक्ता समितिका अध्यक्ष राजभण्डारी, कोषाध्यक्ष आचार्य र सचिव शर्माले फिल्डमा भएगरेको कामहरू वास्तविक रूपमा भएको कार्यभन्दा बढी मूल्यांकन गराई भुक्तानी माग गर्ने र कार्यसम्पन्न भएको भनी सम्झौताविपरीत कार्य गरी बढी भुक्तानी लिएर अनियमितता गरेको अख्तियारले जनाएको छ । 

तपाइको प्रतिक्रिया
(Visited 552 times, 1 visits today)

epaper

ताजा समाचार

१९ बैशाख २०८३