काठमाडौं । सरकारले चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि महाराजगञ्जसम्मको दोस्रो खण्डको साइट नै क्लिअर नगरी चिनियाँ पक्षलाई पत्र लेख्ने तयारी गरेको छ । सरकारले अबको दुई महिनाभित्र साइट क्लिअर गरिसक्ने प्रतिबद्धता जनाउँदै त्यसपछि सडक विस्तारका लागि आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेख्ने तयारी गरेको हो ।
चिनियाँ सरकारले निःशुल्क बनाइदिने घोषणा गरेको चक्रपथ सडकअन्तर्गत दोस्रो खण्ड विस्तारको काम नेपाल सरकारकै ढिलासुस्ती र कमजोरीका कारण सुरु हुन नसकेकोमा अब भने साइट क्लिअरको काम सम्पन्न गर्न लागेको उल्लेख गरेर पत्र लेख्न लागिएको हो ।
आयोजना प्रमुख मेघराज मरासिनीले स्वयम्भू क्षेत्रमा दुईवटा विद्युत्को टावर हटाउनुपर्ने काम बाँकी रहेको जनाउँदै विद्युत् प्राधिकरणले दुई महिनाभित्र हटाइसक्ने पत्र पठाएकाले त्यसैको आधारमा दुई महिनाभित्र साइट क्लिअर गरिसक्ने प्रतिबद्धता जनाएर पत्र लेख्ने तयारी गरिएको बताएका छन् । उनले प्राधिकरणले डेढ दुई महिनाभित्र विद्युत्को टावर हटाइसक्ने जनाएको बताएका छन् ।
यसअघि, काठमाडौंको चक्रपथअन्तर्गत दोस्रो सडकखण्ड कलंकी–महाराजगञ्जको विस्तारका लागि गत पुस पहिलो साता चिनियाँ प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको थियो । स्थलगत निरीक्षणको क्रममा साइट क्लिअर भइनसकेको जनाउँदै विस्तारको काम सुरु गरेको छैन ।
चार सदस्यीय चिनियाँ प्राविधिक टोलीले विस्तार गरिने कलंकीदेखि महाराजगञ्जसम्मको करिब ८.५ किमी सडकको स्थलगत अध्ययन गरेर साइट क्लिअर भएको प्रतिवेदन चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीलाई दिएसँगै कम्पनीले काम थाल्ने जनाइएको थियो । तिर चिनियाँ प्राविधिक टोली निरीक्षणपछि विस्तार गरिने सडकको साइट क्लिअर नभएको रिपोर्ट लिएर फर्किएको थियो ।
सडक विभागका महानिर्देशक शिवहरि सापकोटाले स्वयम्भू क्षेत्रबाहेक अन्यत्र साइट क्लिअरको काम सकिएकाले अब चाँडै विस्तारको काम सुरु हुने बताएका छन् । विद्युत् प्राधिकरणले स्वयम्भू क्षेत्रमा ६६ केभिको दुईवटा टावर सार्नेबाहेक सबै काम सकिएको जनाएको छ ।
चक्रपथ विस्तारअन्तर्गत दोस्रो सडकखण्डमा नेपालले पहिला साइट क्लिअर अर्थात् रुख, पोल र ढल हटाउनुपर्ने सम्झौतामा उल्लेख छ । त्यसपछि मात्र चिनियाँ पक्षले सडक विस्तार गर्ने सम्झौतामा उल्लेख छ । जसअनुसार चक्रपथको चौडाइ बीचबाट दुवैतर्फ २५–२५ मिटर हुनुपर्नेछ । थप ६–६ मिटरमा नेपालले सर्भिस ट्र्याक बनाउनुपर्नेहुन्छ ।
चिनियाँ सरकारले आफ्नै प्राविधिक तथा अनुदानमा विस्तार गर्न लागेको सो सडकखण्डको विस्तृत परियोजना विवरण (डीपीआर) तथा डिजाइन चिनियाँ पक्षले सार्वजनिक गरेको छैन । साइट क्लिअरको काम ढिला भएको जनाउँदै चिनियाँ पक्षले डीपीआरसमेत नेपाल पक्षलाई नपठाएको जनाइएको छ । चिनियाँ पक्षले आफैंले ठेकदार छनोट गरेर पठाउने जनाइएको छ ।
सडक विभागले गत वर्ष नै अर्थ मन्त्रालयमार्फत पत्र लेख्दै चीनलाई चक्रपथ विस्तारको काम अघि बढाउन आग्रह गरेको थियो । तर, चिनियाँ पक्षले साइट क्लियर नभई निर्माण अघि बढाउन नसकिने जवाफ दिएको थियो । त्यसपछि पुनः नेपाल पक्षले पत्राचार गरेपछि प्राविधिक टोली आएर निरीक्षण गर्दा पनि साइट क्लिअर नभएको पाइएको हो ।
यसअघि कोटेश्वरदेखि कलंलीसम्म पनि चिनियाँ सरकारले नै चक्रपथ विस्तारको काम सम्पन्न गरेको थियो । साइट क्लियर नै नगरी सो सडकखण्ड विस्तारको काम थाल्दा मुआब्जालगायतका कारण निर्धारित मितिभन्दा काम ढिला सम्पन्न हुन पुगेको थियो । मुआब्जालगायत विषयमा विवाद उत्पन्न भएपछि सडक विस्तारमा ढिलाई हुँदा चिनियाँ पक्षको आलोचनासमेत भएको थियो । त्यसपछि चिनियाँ पक्षले दोस्रो खण्डमा साइट क्लिअरिङको जिम्मा नेपालले गर्नेगरी सम्झौता गरेको थियो ।






