सुरुआतमा मेयरकै टिकट पाउनै रस्साकस्सी भयो । पार्टीलाई परेको महानगरको एकमात्र मेयर टिकट जिम्मेवारीलाई यहाँले कसरी लिनुभएको छ ?
यो मेरो लागि गहन जिम्मेवारी हो । समयको आवश्यकता पनि हो । सत्ता गठबन्धनमा रहनुभएका केन्द्रीय नेताहरूबीचको निर्णय थियो । विगतमा केही असन्तुष्टी देखिए पनि अब निर्णय आइसकेर चुनावी प्रचारको अन्तिममा आइसक्दा हामीहरु सबै जना सँगसँगै छौं । सबै सन्तुष्ट हुनुहुन्छ, जीतको पर्खाइमा छौं । पोखरा लगायत देशैभर गठबन्धनमा उत्साहपूर्ण छ ।
हालसम्म महानगरका कति वटा वडामा घरदैलो गर्नुभयो ? मतदाता के भन्छन् ?
पोखरा महानगरका कुल ३३ मध्ये हामीहरु हालसम्म २० वडा पुगिसकिएको छ । अब मतदान मिति एक सातामात्र बाँकी रहँदा बाँकी वडामा अवश्य पुग्ने छौं । जहाँ– जहाँ पुगेका छौं, उहाँहरु उत्साहित हुनुहुन्छ । खोजेको नेतृत्व आएको भनी फूलमालाले स्वागत गर्नुभएको छ ।
तपाईंकै पूर्व सहकर्मी एमालेबाट प्रतिस्पर्धामा हुनुहुन्छ ? यो प्रतिस्पर्धालाई कसरी हेर्नुभएको छ ?
चुनाव लडिसकेपछि जीत र हार अवश्यक हुन्छ । व्यक्तिगत हिसाबले भन्नुपर्दा उहाँ (कृष्ण थापा) मेरो सिनियर नेता हो । विद्यार्थी आन्दोलन र पार्टीमा सँगै काम गरेका हौं । विद्यार्थी आन्दोलनताका त्यसबेला गण्डकी अञ्चल अध्यक्ष हुँदा उहाँ केन्द्रीय कमिटीमा हुनुहुन्थ्यो । यो व्यक्तिगत प्रतिस्पर्धा नभई पार्टीको प्रतिस्पर्धा हो । यो प्रतिस्पर्धालाई स्वच्छ प्रतिस्पर्धाको रुपमा अघि बढौं भनेकै छु । आ–आफ्ना चुवावी घोषणापत्र मतदातासामु आइसकेका छन् । विगतका काम पनि हेरिएको छ । यसको मूल्यांकन गर्ने जिम्मा जनताको हातमा आएको छ । पाँचदलीय गठबन्धनको बलियो साथ हामीसँग भएकोले हामीहरुले १५ हजार मतान्तरले चुनाव जित्ने लक्ष्य छ ।
पोखरामा वडास्तरमा सत्तागठबन्धनबाटै आ–आफ्ना उम्मेदवार छन् । तपाईकाे चुनाव जित्ने आधार के हुन् ?
वडाध्यक्ष तथा सदस्यमा आ–आफ्नो ढंगले उम्मेदवार चयन भए पनि पोखरा महानगरको हकमा मेयर÷उपमेयरमा सर्वसम्मत् भएकोले कुनै समस्या छैन । यो नै हाम्रो लागि जित्ने आधार हो । सबैको एकमत छ । सबैले राम्रोसँग हार्दिकताका साथ गठबन्धनको उम्मेदवार नै हाम्रो उम्मेदवार भन्नुभएको छ । काँग्रेसको तल्लो तहसम्म संगठन छ । हामी घरघर पुगेर संगठन बनायौं । माओवादीले संगठनलाई जोड दिएकै छ । यसै पाँच पार्टीको त एकमत हुने नै भयो । त्यसबाहेक मैले आफ्नो व्यक्तिगत हिसाबले हालसम्म जे आर्जन गरेको छु, त्यो पनि मेरो लागि एडिसनको विषय हो । राम्रै मत मसँग छ । मेरा पुराना साथीभाइ, गाउँघर, आफन्त, शुभचिन्तक एवं शुभेच्छुकलगायतबाट आश्वासन पाएकै छु ।
यदि तपाई मेयर बने पोखराका लागि के गर्नुहुन्छ ?
हाम्रो चुनावी घोषणापत्र आइसकेको छ । जनताको आधारभूत आवश्यकतामा ध्यान दिँदै पोखराको विकासमा अल्पकालीन र दीर्घकालीन योजना बनाएर सिष्टममा काम गर्ने छौं । सेवाग्राहीको हितमा काम गर्दै खासगरी सुशासनलाई ध्यान दिनेछांंै । पोखरामा करिब ९ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ, सोको न्युनीकरण गर्दै जनताको आर्थिक समृद्धिमा ध्यान दिने छौं । पोखराको व्युटिफिकेसनमा ध्यान दिंदै कोत्रेबाट पोखरा छिर्दा फरक अनुभूति दिनेछौं ।
घोषणापत्रमा फेवा–बेगनास कनेक्टिभिटी, रिङरोड, विद्युतीय गाडी लगायतका महत्वकांक्षी योजना पनि छन् नि ?
हो, हाम्रो योजनामा फेवा–बेगनास कनेक्टिभिटीको कुरा छ । यो ठूलो विषय हैन । हामीले चाह्यौं भने सजिलै बनाउन सक्छौं । यसले पोखराको आन्तरिक एवं बाह्य पर्यटनमा बढोत्तरी आउने छ । खाली यहाँ सोच नभएरमात्र हो । सामान्य पूर्वाधारको विषय त हाम्रो प्राथमिकतामै पर्ने भयो । त्यसबाहेक ठूला–ठूला प्रोजेक्टमा दातृनिकायको सहयोगमा अघि बढाउने छौं । पोखरामा रिङरोड आवश्यक त भैसक्यो नि । पहिलो वर्ष नै बनाउन नसकिएला तर सम्भाव्यता अध्ययनलगायत काम अघि पक्कै बढ्ने छ । अहिले भएको बसपार्कलाई सिटी बसपार्कको रुपमा विकास गर्नेछौं । सिटीभित्र विद्युतीय गाडी चलाउन सक्छौं । मुख्यबजारमा अल्टरनेटिभ पार्किङ जोन बनाउने योजना छ ।
महानगरको विकासमा आर्थिक पाटो महत्वपूर्ण हो । करको विषयमा के हुन्छ ?
अहिले कतिपय ठेक्का लगाएर छोडिदिने, लगाए पनि सानो मूल्यमा लगाउने अवस्था छ । परम्परागतरुपमा जस्तो पहिले गरेको थियो भने अहिले पनि त्यसैलाई केही प्रतिशत बढाएर दिने अवस्था देखिन्छ । र, जो करको दायरामा छन्, त्यहीमात्र कुरेर बस्ने अन्यतिर ध्यान नदिने प्रवृत्ति छ । भएको बजेट पनि खर्च हुन सकेको छैन । यो प्लानिङ नभएर हो । महानगरका सबै महाशाखाबीच पनि को–अर्डिनेसन आवश्यक छ । करको दायरामा आउने र नियमित कर तिर्नेलाई सुविधा दिनेछौं । पोखराको प्लान र पोलिसी थिंक ट्याङ्कमार्फत बनाइनेछ ।






