सहमति शीघ्र कार्यान्वयन गर

स्थानीय निर्वाचन सकिएर जनप्रतिनिधिले कार्यभार सम्हालिसकेपछि पनि काठमाडौं महानगरपालिकाको फोहर उठ्न नसक्दा राजनीतिक दल तथा तिनका शीर्ष नेतृत्वमाथि जनताले प्रश्न उठाउँदै गर्दा मंगलबारदेखि बन्चरेडाँडा डम्पिङ साइटमा फोहर लैजाने सहमति जुटेको छ । काठमाडौंको फोहोर उठ्ने भएपछि उपत्यकाका जनतामा खुसीको भाव सञ्चार हुन गएको छ । लामो समयसम्म फोहोर थुप्रिँदा हैजाजस्तो महामारी आउने पो हो कि भनी त्रसित काठमाडौंवासीका मनमा अहिले केही शान्ति र आशाले ठाउँ पाएको छ । सहरी विकास मन्त्रालयमा सम्पन्न वार्तामा स्थानीय जनताका माग सम्बोधन गर्नेगरी फोहोरमैला व्यवस्थापन गर्ने सहमति भएपछि अब राजनीतिक दलले सहमति नदिँदा पो फोहर उठेन कि भन्ने आशंका पनि निवारण भएर गएको छ । यता काठमाडौंमा फोहर उठ्ने र उता बन्चरेडाँडाका स्थानीय जनतासँग गरिएका सहमतिअनुसारका काम कार्यान्वयन गर्ने कुरा एकसाथ अघि बढाइनुपर्छ । ताकि यो सहमतिकार्यान्वयनमा आशंका र ढिलासुस्ती पैदा हुन नजाओस् । सरकारी पक्ष र सिसडोल तथा बन्चरेडाँडाका जनप्रतिनिधिबीच भएको सहमति कार्यान्वयनको दिशामा विना व्यवधानअघि बढ्न सकोस् ।

काठमाडौंमा थुप्रने फोहर होस् वा बन्चरे डाँडा र सिसडोलमा बिसर्जन गरिने फोहर होस्, यो फोहर र यसको दुर्गन्धले स्थानीय जनता र त्यहाँको वातावरणमा पार्ने प्रभाव कहिंकतै र कसैका लागि पनि निकै गम्भीर र सोचनीय कुरा हो । जन स्वास्थ्यको अवस्था जहाँका जनताको पनि उही नै हो । त्यसको असर र प्रभाव सिंगो नेपाली जनस्वास्थ्य माथिको आघात हो । त्यो सबै नेपालीको स्वास्थ्य माथिको गम्भीर समस्या पनि हो । त्यसैले पनि हरेक दिन बन्चरेडाँडाको डम्पिङ साइटमा फोहोर खसालेपछि १५ सेन्टिमिटर उचाइको माटोले पुर्नुपर्ने सहमति आवश्यक र वैज्ञानिक दुवै हो । बाक्लो माटोको पत्रले फोहर पुरेपछि दुर्गन्ध नफैलिने मात्र होइन, उक्त फोहरबाट विषाणु पनि बस्तीबस्तीमा पुग्न सक्दैन । यसले स्थानीय जनताको जनस्वास्थ्यमा पुग्ने हानी र नोक्सानीबाट बचाउँछ । यसका साथै साउन १ देखि लागू हुनेगरी कुहिने र नकुहिने खालका फोहोरको वर्गीकरण गरी नकुहिने फोहर मात्र डम्पिङ साइटमा लैजाने भनी गरिएको सोच र सहमतिले काठमाडौंको फोहर व्यवस्थापनमा नयाँ अध्याय पनि सुरु गर्ने देखिएको छ ।

सहमतिको मर्मअनुसार काठमाडौं महानगरवासीले हरेक घरमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै पोको बनाएर छुट्याई राख्नुपर्ने छ । महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै गाडी पठाएर संकलन गर्ने र त्यसको उचित बिसर्जन र व्यवस्थापन समेत गर्ने सहमतिमा जनाइएको छ । महानगरको कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउने भएपछि सिसडोल तथा बन्चरेडाँडामा कुहिने पदार्थले पारेको असर निकै कम र अन्त्य हुन गई त्यहाँका स्थानीय जनताको जनस्वास्थ्यमा लाभ हुन जाने देखिएको छ । वार्तामा संघीय तथा स्थानीय जनप्रतिनिधि दुवै पक्षका रूपमा सहभागी भएकाले अहिलेको वार्तामा भएका सहमति कार्यान्वयनको तहमा जाने सबैको आशा रहेको छ । शिक्षा, स्वास्थ्य, रोजगार, स्वास्थ्य बिमालगायतका कुरामा गरिएको सहमतिले स्थानीय जनतामा भरपुर आशा र विश्वास पैदा पनि भइसकेको छ । त्यसको कार्यान्वयनको आभाष काठमाडौं महानगरपालिकामा फोहर उठ्न थालेदेखि नै फोहर बिसर्जन गरिने ठाउँका स्थानीय जनतामा हुन थाल्नुपर्छ । त्यसैले व्यावहारिक विश्वासका साथ शीघ्र फोहर व्यवस्थापन गर ।

तपाइको प्रतिक्रिया
(Visited 416 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती