म्युजिक भिडियो निर्देशनको क्षेत्रमा छोटो समयमा प्रगति गर्ने निर्देशकको रुपमा चिनिन्छन्– विधान कार्की । उनीसँग नाम र दामको कमी छैन । भिडियो निर्देशन गरेरै सानको जिन्दगी बिताउने सीमित निर्देशकको सूचीमा उनी दरिन्छन् । अहिले पनि उनीसँग काम गरौं भन्ने निर्माताहरु थुप्रै छन् । यस अर्थमा काम गरौं भन्नेसँग सहकार्यलाई निरन्तरता दिने हो भने दायाँ बाँया गर्न पर्दैन । उनले निर्देशन गरेका थुप्रै भिडियोले नम्बर वानको उपाधि पाउनुको साथै ट्रेन्डिङमा समेत परेकाले उनको मेहनतमा खोट लगाउँन सक्दैनन् ।
उनी केवल काममा मात्रै रमाएनन् । काम मात्रै गरेर हुन्न, काम गर्नेहरुले प्रतिष्ठा पनि आर्जन गर्नुपर्छ भनेर म्युजिक भिडियोमा काम गर्ने निर्देशक, प्राविधिकको प्रतिष्ठा जोगाउने अभियानमा छन् । नेपाल म्युजिक भिडियो समाजका संस्थापक अध्यक्ष कार्की अहिले दोस्रो कार्यकालको अध्यक्ष हुन् ।
चलचित्र क्षेत्रसँग संघसंस्था नभएका होइनन् । निर्माता संघ, चलचित्र संघ निर्देशक समाज, कलाकार संघलगायत दर्जनौ संघसंस्था छन् । विधान अनुरुप दुई वर्षमा एकपटक अधिवेशन गर्नु र बेला बेला अधुरो विज्ञप्ति निकाल्नमै व्यस्त हुने ती संघहरुका अगाडी ‘कान्छो संघ’ ले के नै गर्ला र ? कार्कीलाई आफ्नै संस्थाका विषयमा प्रश्न गर्नेहरु धेरै छन् । यी तन्नेरी दावीका साथ भन्छन् ‘हामीले राजनीति गर्न संस्था खोलेका होइनौं । म्युजिक भिडियोमा काम गर्नेहरुको मर्यादा जोगाउन र प्रतिष्ठा आर्जन गर्नका लागि हो, हामी गर्छौ ।’

निर्देशक आफैंले जिम्मा लिएर भिडियो बनाउने चलन उनलाई चित्त बुझेको छैन । निर्देशकले ‘ठेक्का’मा भिडियो बनाउने प्रवृत्तिले कतिपय निर्माता र निर्देशकबीच दूरी बढेको अनुभव गरेका कार्की आर्थिक पारदर्शिताको पनि अभाव देख्छन् ।
उनले भन्दैमा प्रतिष्ठा जोगिएला त ? यसको सुरुवात भइसकेको उनले दावी गरे । म्युजिक भिडियो क्षेत्र चलायमान हुँदाहुँदै पनि यो क्षेत्रसँग सम्बन्धित कुनै संघ संस्था नभएको आभाष भएपछि दुई वर्षअघि केही साथीहरुसँग सल्लाह गरे । ‘आम म्युजिक भिडियो निर्देशकलाई छरपष्ट हुनबाट जोगाउन पर्छ’ भन्दै संस्था दर्ता गरे । प्रारम्भमा १५ जनाले संस्था दर्ता गरेका थिए अहिले ७० जना बढी यसका सदस्य छन् । सदस्य संख्या थपिने क्रम जारी छ । संस्थापक अध्यक्ष कार्कीले दुई वर्षे कार्यकालपछि नेतृत्व हस्तान्तरण गर्न चाहेका थिए तर, सहकर्मीकै सहमतिमा एक कार्यकाल अध्यक्ष उनकै भागमा आइलाग्यो अहिले उनी दोस्रो इनिङमा छन् ।
यस क्षेत्रमा भएका समस्यालाई सामुहिक रुपमा समाधान गर्नुपर्ने मतसहित संस्था स्थापना गरेको बताउने कार्की आफ्नो टिमले काम सुरु गरिसकेको बताउँछन् । अवसरसँगै चुनौति पनि देखेका छन् उनले । निर्देशक आफैंले जिम्मा लिएर भिडियो बनाउने चलन उनलाई चित्त बुझेको छैन । निर्देशकले ‘ठेक्का’मा भिडियो बनाउने प्रवृत्तिले कतिपय निर्माता र निर्देशकबीच दूरी बढेको अनुभव गरेका कार्की आर्थिक पारदर्शिताको पनि अभाव देख्छन् । ‘अब भिडियो निर्देशकले ठेक्का लिएर होइन् निर्माताको प्रतिनिधिको उपस्थितिमा भिडियो बनाउनु पर्छ ।’ त्यसो गर्दा निर्माताले निर्देशकको दुःख बुझ्ने आर्थिक पारदर्शिताका विषयमा पनि समस्या नहुने उनको बुझाइ छ ।
८० प्रतिशत लगानी विदेशबाट
नेपालमा म्युजिक भिडियो निर्माणमा बाढी आउनुको मूल कारण लगानी नै हो । अहिले एउटा भिडियो निर्माणमा न्युनतम डेढलाख देखि २० लाखसम्म लगानी हुने गरेको छ । कार्कीको अध्ययनले भन्छ ‘८० प्रतिशत लगानी त विदेशबाटै आउँछ ।’
त्यसरी आउने लगानीलाई निरन्तरता दिनका लागि पनि पारदर्शिताको खाँचो हुनुपर्ने उनको मत छ । विदेशमा बसेर म्युजिक भिडियोमा लगानी गरेका कतिपय व्यक्तिले आफू ‘मुर्गा’ भएको गुनासो कार्कीले पनि सुनेका छन् । उनी भन्छन् ‘यस किसिमका अन्यौलता हटाउनका लागि पनि निर्माताको प्रतिनिधिको रोहबरमा भिडियो निर्माण जरुरी छ ।
टेलिभिजनले उठाएको करिअर
विस २०६५/0६६ सालतिर हो, नेपालमा म्युजिक भिडियो थोरै बन्थे । भुषण दाहाल, आलोक नेम्वाङ, प्रसन्न पौडेललगायतले बजार पिटेका थिए । कार्की त्यतिबेला टेलिभिजनका जागिरे थिए । टेलिभिजनका काम गर्दा उनका आँखा तिनै भिडियोहरुमा पर्थे, नाम चलेका निर्देशकका विषयमा चासो लिएर सुन्थे । ‘महँगो पैसा लिन्छन्, चलेका मोडललाई खेलाउँछन् । भिडियोको चर्चा व्यापक हुन्छ ।’ ती निर्देशकहरुको विषयमा यस्तै सुन्थे ।
‘म पनि एकदिन यस्तै दामी भिडियो बनाउँछु’ मनमनै सोच्थे कार्की । टेलिभिजनमा काम गर्दा गर्दै म्युजिक भिडियोमा पनि काम गर्न थाले । जव भिडियोप्रति उनको सक्रियता बढ्यो । टेलिभिजनलाई कम र भिडियोलाई बढी समय दिन थाले ।
माउन्टेन टिभी, एनटिभी प्लसलगायतका टिभीमा काम गर्दागर्दै म्युजिक भिडियो निर्देशन थाले । अहिले त म्युजिक भिडियोमा चलेका नायक नायिकाको प्रवेश लोभ लाग्दो छ । टिकटकमा चलेका अनुहार पनि सातामै ‘सेलीब्रेटी’ कै सूचिमा दरिन्छन् । जतिबेला उनले भिडियो निर्देशन यात्रा सुरु गरेका थिए । फिचर फिल्मका कलाकार र भिडियोका कलाकारबीच एकखालको दुरी थियो । फिल्ममा जमेका कलाकारहरु भिडियोमा देखिन चाहँदैन थिए । भिडियोमा काम गर्ने कलाकार फरक थिए ।
क्रिएटिभ काम गर्नुपर्छ भन्ने मान्यता राख्ने कार्कीले भिडियो निर्देशनको अतिरिक्त सर्ट फिल्म निर्देशनमा पनि सक्रियता बढाए । उनले बनाएको छाउपडी सम्बन्धी फिल्मले राम्रै चर्चा पायो भने ‘जव एप्लिकेशन’ ले उनलाई अन्तराष्ट्रिय अवार्ड दिलायो । गरिबी, राधिका, दाइजो सपना, जीवन जो सगुन, प्रेमकथालगायतका सर्ट फिल्म बनाए । सर्ट फिल्मलाई उनी आफ्नो सिकाइको नयाँ अध्यायको रुपमा बुझ्छन् ।
भूकम्पपछि अमेरिका
उनी म्युजिक भिडियोकै काममा सक्रिय थिए । २०७२ साल वैशाख १२ गते नेपालमा भूकम्प गयो । भूकम्पपछि केही महिना नेपालमा फिल्म निर्माण /प्रदर्शन ठप्प भयो । आम चलचित्रकर्मीमा एकखालको अन्यौलता थियो ‘अब के हुने हो भन्ने’ कार्कीले सोचे ‘यही बेला हो थप अध्ययन गर्ने ।’ कुनै पनि काममा प्राक्टिस मात्रै भएर पुग्दैन, सैद्धान्तिक ज्ञान पनि चाहिन्छ । एकेडमिक क्वालिफिकेशन अर्को महत्वपूर्ण हुन्छ भन्दै उनी अध्ययनका लागि अमेरिका गए ।
दुई वर्ष अमेरिका बसेका उनले चलचित्र निर्देशन र फिल्म प्रोडक्सन सम्बन्धी अध्ययन गरे । सोही क्रममा अमेरिकामा रहेको ‘नेप्सीने’ नामक कम्पनीमा जोडिए भोलिएन्टरको रुपमा । जुन कम्पनीले अमेरिकामा नेपाली चलचित्रसँग सम्बधित थुप्रै काम गर्छ ।
दुई वर्षपछि नेपाल फर्किएपछि नेप्सीनेसँगै जोडिएर नेप्सिने ग्लोबल प्रालि भन्ने कम्पनी खोले नेपालमा । जुन कम्पनीले मनोरञ्जनसँग जोडिएका धेरै काम गर्छ । भिडियो निर्माणदेखि ठूला कन्सर्टहरु समेत गर्छ । त्यसपछि उनी म्युजिक भिडियोमै केन्द्रित रहे । टेलिफोनको टावर, आवाजलगायतका तत्कालिन समयका चर्चित भिडियो उनकै निर्देशनमा बनेको थियो । नेपाल फर्किएपछि उनको करिअरको ग्राफ उकालो लाग्दै थियो फेरि अर्को महामारी आयो– कोरोना । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट जोगाउन भन्दै नेपाल सरकारले देशव्यापी ‘लकडाउन’ ग-यो ।

सिंगै मुलुकमा लकडाउन भएपछि आर्थिक सूचकहरु ओरालो लाग्दो थियो । चलचित्रकर्मीहरुमा अर्को अन्यौलता थपियो ‘फेरि अब के हुने हो ।’ फिल्म निर्माण ठप्प भएपछि कतिपय प्राविधिक बेरोजगार बने । कार्की सोच्दै थिए यही ‘लकडाउनमा पनि सिर्जनात्मक काम गर्न सकिन्छ ।’ मैले ढाँटेको छैन भन्ने बोलको गीत लकडाउनकै विचमा सार्वजनिक भयो । अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतमा बुद्ध लामा, अस्मिता अधिकारीलगायत गायक गायिकालाई नै अभिनय गराए उनले ।
सरकारले हिडडुल गर्न रोक लगाएको बेलामा सुटिङका लागि अनुमति सम्भवै थिएन । तैपनि उनले हिम्मत हारेनन् लकडाउनको अवधिमा सामाजिक दुरी अपनाएर इन्डोर सुटिङ गरेर भिडियो बनाए । अर्को गीत आयो नबोली नबोली…जुन गीतले निकै राम्रो चर्चा पायो ।
कार्कीले लकडाउनको अवधिमा मात्रै ६० भन्दा बढी भिडियो बनाए । त्यो अवधिमा बनाएका भिडियोले फिल्म उद्योगलाई चलायमान मात्रै बनाएन । उनको सिर्जनामा थप निख्खरता ल्याउने काम पनि ग-यो ।
महत्वकांक्षी फिल्म
अन्तर्राष्ट्रिय रुपमा नेपाली चलचित्रलाई स्थापित गराउने हो भने मौलिक विषयमा फिल्म बनाउनुपर्ने उनको मान्यता छ । दक्षिण भारतीय कम्पनीसँग मिलेर गोर्खाजहरुको स्टोरीमा फिचर फिल्म बनाउने योजना छ उनको । रिसर्चको काम सम्पन्न भइसकेको यो फिल्म अन्तर्राष्ट्रिय स्तरको हुने दावी गरे । नेप्सीनि र अन्य कम्पनीहरुसँग मिलेर फिल्म बनाउने यो फिल्ममा नेपाली र भारतीय र केही बेलायती कलाकार हुनेछन् भने १० देखि १५ करोड भारतीय रुपैयाँ लगानी हुने बताए ।






